रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ

उल्टरी जन्मीएर उल्टरी दुनिया हेर्नेहरुले
हिटलरको लठ्ठी टेक्दै गरेको बेला
जङ्गबहादुरको सडेको लाश खोजेर
छिनीएको गर्धनमा बर्दीको ट्याग जोड्ने
कुचेष्टा गर्दै गरेको बेला
महान समयले आफ्नो अन्तिम कर्तव्य पुरा गर्दैछ

रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ

भ्रमका चिठ्ठाहरु नोटफ्याक्ट्रीमा जन्मीदै गरेको बेला
संविधानका खोस्टाहरु शितलनिवासका जेबबाट
चेक काटिएसरी काटिदै गरेको बेला
तपाईको लामो आयुको सर्टिफिकेट
विदेशी लाहाछाप लाएर छोट्याईदै गरेको बेला
र झिगाँको एक हुल पुरानै कुर्सीमा
फुल जन्माउने दाउमा देखिदै गरेको बेला
सिँगो आकाश जुर्मुराउदै अब नयाँ युग लेख्दैछ

रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ

प्लेटमा मान्छेका करङ साधेर खानेहरुले
नक्साका साँघुरा गल्लीहरु पनि भत्काउदै गरेको बेला
अधबैसमा बौलाएका पुराना पुरोहितहरु
गँगा र पाचामृतमा भुल्दै गरेको बेला
सुनिन्छ बेखबर भनिएको संमुद्र
अब लामो प्रसवपिडापछि नयाँ सगरमाथा जन्माउदैछ

रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ

तर ईतिहासले कलमले मात्र कविता कोर्छ भनेर ठोकुवा गर्नु
मुख्र्याई हुनेछ ।

०६६-०१-२३

1 comments (Click here to Comment):

नदीश said...

विशद जी, सशक्त कवितालाई व्याकरणले ओझेलमा पार्ने त होइन ?

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |