रात कुरुप समय हो
यो चुपचाप देखिन्छ
तर रातमा सबैभन्दा बढी कोलाहल हुन्छ ।

सिमानाका बलात्कारका चित्कारहरु
जोडले सुनिन्छ रातमा
पुराना लासहरुको हुकुमे शासनको दुर्गन्ध
जोडले हुइँकिन्छ रातमा
रातमा रोबोटहरुको रिचार्ज हुन्छ
र झन शक्तिशाली हुन्छन् रिमोटवालाहरु
रातमा दाल र चामलमा बारुद मिसाउँछन्
पुराना काला व्यापारीहरु
रातमा मुस्कुराउँदै डढेलो ताप्छन्
बिर्खे साहु र मुखियाहरु
रातमा महाकाली र सुस्ता बेच्छन्
इतिहासका नपुंसकहरु
रात कालो हुन्छ
र काला दागहरु पनि अन्धकारमा हराउँछन् कतै
रात बाक्लो हुन्छ
र बाक्लो छायाँ पनि घुलमिल गर्छ फेरि त्यही रातसँग
रात बडो निर्मम हुन्छ
र चलाउँछ अन्धकारमा चक्कुहरु
रात कुटिल हुन्छ
र सुताउछ पुरानै चेतनामा संसार
तर
चट्याङका प्रहारहरुसँग डराउँछ रात
फगत एक जुनकिरीले हराउँछ रातलाई
बिहानीको उदयमा मर्छ रात
समयको सुइसँग मात खान्छ रातले
त्यसैले रातलाई पनि साथमा ल्याउँ
आखिर
रातमा उज्याला मान्छेहरु टाठ्ठै चिनिन्छन् ।