मलामीहरु


मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा
तर आज भीरपाखाँमा
लड्दालड्दै पनि गलेलन्
कुन्नी के रहस्य छ
यो शान्तिभित्रको कोलाहलको
अनौठो यात्रामा
कोही थाक्दैनन्
कहिल्यै थाक्दैनन् ।

पहिले-पहिले बगाएर
पुराना मालिकका लासहरु
मलामीहरु फर्किन्थे साँझपख
र कलेसीमा नुहाएर
सुस्ताउथे ओछ्यानमा दशकौसम्म
आज पनि फर्किए उनीहरु मलामीबाट
शाहि मलामीबाट
तर आश्चर्य !
नुहाएनन् आज
सुस्ताएनन् आज
बरु टिकट किन्दैछन् रे
राजधानी जाने बसको
मलामी बन्नु छ रे अब
सिँहदरबारको

मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।

(०७-०३-०६६)

2 comments (Click here to Comment):

नदीश said...

sasakta chha kabita.......
sasaktataa antimsamma kayam hudo ho ta .....kabita ajai bejod banne thiyo...........

नाकिमा said...

विचारमा अब्बल छन् विशद
विम्वमा अगाडि छन् विशद
विशदले विकास गर्ने विषय भनेको शिल्प हो 'शिल्प'।

Post a Comment