लङ्गडो सिपाहि


म काला भर्याङ्हरुमा
छिटो छिटो दौडिने गर्थे
म रात परेको मौकामा
जोडसँग उफ्रिने गर्थे
तर
मेरा जोर खुट्टाहरु अचेल
टेर्न छोड्दैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि

मेरो मालिकको आदेश छ-
फाटेको जामा भेट्यो भने
तेजाब छर्कनु
कोदालीको भिडँभाडँमा
अगुल्टो हिर्काउनु
बुढी आमैले होस्
या दुधे बालकले होस्
ताराको कथा भन्नेबित्तिकै
उल्काहरु ओकलेर झर्कनु
तर
मेरा खुट्टाहरु अचेल
गुलामीको भारी बोकेर
खेतहरुमा जान मान्दैनन्
ताराको कथा अब
टाढाको कथा हो
भनेर पनि भन्दैनन्
अनि यी खुट्टाहरु हाँसी हाँसी
दिनहुँ निहुराउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि

सडकभरी हत्केलाका
कविताहरु जन्मदैछन्
हत्कडीको ताण्डव नाँच्न
धेरै ढिला भैसक्यो
लाखौ मान्छे उज्यालाका
गीत गुन्गुनाउदैछन्
अध्यारोको पसल थाप्न
निकै अबेर भैसक्यो
मैले डाडाँमाथीका खोल्साहरुबाट
हिजै खोलाहरुको लाश
दख्खिनतिर बगाँईसक्नुपर्ने
मैले साल, सिसौ अनि दाइरोहरुमा
अघिनै सर्पहरु लुकाईसक्नुपर्ने
तर
मेरा खुट्टाहरु अचेल
मुक्ति खोज्छन् मसँग
अनि उल्टै ब्युझाँउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि
(०७-०९-०६६)

दुम्सी


घरेलु बौलाहा गोरुहरु
चुपचाप घाँम ताप्छन्
सिमापारी गएर

एउटा विदेशी दुम्सी ओर्लीन्छ वारी
भाँदगाउले श्रीपेच लगाएर ।


दुम्सीले कानमा लालीगुँरास सिउरिन्छ
सधै दौरा-सुरुवालमा सजिन्छ

साँझ पर्ने बित्तिकै
उसकै हातबाट
हाम्रो सर्वोच्चता छिनिन्छ ।


ऊ पटुकी लगाउछ
ऊ लोकभाका गुन्गुनाउछ

खोल्सो देख्ने बित्तिकै
ऊ हाम्रो माटो
दख्खिनतिर बगाँउछ ।


ऊ संवेदना किन्छ
ऊ आश्वासन दिन्छ

उसकै पसलबाट दिउसै
अन्धकार बेचिन्छ ।


ऊ प्रजातन्त्र सुनाउछ
ऊ मानवअधिकार पढाउछ

जाडोमा आँगो ताप्छु भन्दै
ऊ हाम्रै छाप्रोहरु जलाउछ ।


ऊ शान्ति चाहिन्छ भन्छ
ऊ आफै शान्तिको घाँटी निमोठ्छ

फहराएर उसको तिनरंगे झण्डा
ऊ बन्दुके शासनको अधिकारी बन्छ ।


बनाऔं अब कानुन हामी
विदेशी दुम्सी मार्न मिल्ने
बनाऔं अब संविधान हामी
स्वदेशी बौलाहा गोरु काट्न मिल्ने
बनाऔं हाम्रो छाप्रो फेरि
टालौ चुहिने छानाहरु
खोलौ अब दुम्सी अनि
बौलाहा गोरुका बुच्चरखानाहरु ।
(३०-०८-०६६)

जब छाप्रो जल्छ


जब छाप्रो जल्छ
तब युद्ध चल्छ

तिमि रोप्छौ बारुद
कहाँ शान्ति फल्छ ?

हात पसार्छौ पारि
वारि देश बल्छ

तेर्साउदैमा राइफल
योद्धा कहाँ गल्छ ?

ल्याउछ युगले आँधी
कालो सत्ता ढल्छ

यो समय


यो समय
पछुतो मान्दै गुफामा
डाँको छोडेर रुदैछ भन्छौ तिमी
म यो समयले
अर्को योजना बुन्दै गरेको देख्छु ।


यो समय
आफ्नै पासोमा अल्झिएर
मृत्युवरण गर्दैछ भन्छौ तिमी
म यो समयले
ज्यानमाराहरुलाई पासो चढाउदै गरेको देख्छु ।


यो समय
अश्लील भेषमा डुबुल्की मार्दै
समुंद्रमुनी सुत्दैछ भन्छौ तिमी
म यो समयले
अर्को ज्वारभाटा बोलाउदै गरेको देख्छु ।


यो समय
सिहदरबारमा सेता कल्कीहरु चढाएर
फेरि राज्यारोहण गर्दैछ भन्छौ तिमी
म यो समयले
नाजायज कोठीहरुमा अन्तिम धावा बोल्दै गरेको देख्छु ।



यो समय
अर्थात
तिम्रो हिजोको अन्तिम समय
अनि मेरो भोलीको पहिलो समय ।