दुम्सी


घरेलु बौलाहा गोरुहरु
चुपचाप घाँम ताप्छन्
सिमापारी गएर

एउटा विदेशी दुम्सी ओर्लीन्छ वारी
भाँदगाउले श्रीपेच लगाएर ।


दुम्सीले कानमा लालीगुँरास सिउरिन्छ
सधै दौरा-सुरुवालमा सजिन्छ

साँझ पर्ने बित्तिकै
उसकै हातबाट
हाम्रो सर्वोच्चता छिनिन्छ ।


ऊ पटुकी लगाउछ
ऊ लोकभाका गुन्गुनाउछ

खोल्सो देख्ने बित्तिकै
ऊ हाम्रो माटो
दख्खिनतिर बगाँउछ ।


ऊ संवेदना किन्छ
ऊ आश्वासन दिन्छ

उसकै पसलबाट दिउसै
अन्धकार बेचिन्छ ।


ऊ प्रजातन्त्र सुनाउछ
ऊ मानवअधिकार पढाउछ

जाडोमा आँगो ताप्छु भन्दै
ऊ हाम्रै छाप्रोहरु जलाउछ ।


ऊ शान्ति चाहिन्छ भन्छ
ऊ आफै शान्तिको घाँटी निमोठ्छ

फहराएर उसको तिनरंगे झण्डा
ऊ बन्दुके शासनको अधिकारी बन्छ ।


बनाऔं अब कानुन हामी
विदेशी दुम्सी मार्न मिल्ने
बनाऔं अब संविधान हामी
स्वदेशी बौलाहा गोरु काट्न मिल्ने
बनाऔं हाम्रो छाप्रो फेरि
टालौ चुहिने छानाहरु
खोलौ अब दुम्सी अनि
बौलाहा गोरुका बुच्चरखानाहरु ।
(३०-०८-०६६)

3 comments (Click here to Comment):

नदीश said...
This comment has been removed by the author.
नदीश said...

जिन्दावाद !

नाकिमा said...

मने, निश्चित रुपमा !

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |