लङ्गडो सिपाहि


म काला भर्याङ्हरुमा
छिटो छिटो दौडिने गर्थे
म रात परेको मौकामा
जोडसँग उफ्रिने गर्थे
तर
मेरा जोर खुट्टाहरु अचेल
टेर्न छोड्दैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि

मेरो मालिकको आदेश छ-
फाटेको जामा भेट्यो भने
तेजाब छर्कनु
कोदालीको भिडँभाडँमा
अगुल्टो हिर्काउनु
बुढी आमैले होस्
या दुधे बालकले होस्
ताराको कथा भन्नेबित्तिकै
उल्काहरु ओकलेर झर्कनु
तर
मेरा खुट्टाहरु अचेल
गुलामीको भारी बोकेर
खेतहरुमा जान मान्दैनन्
ताराको कथा अब
टाढाको कथा हो
भनेर पनि भन्दैनन्
अनि यी खुट्टाहरु हाँसी हाँसी
दिनहुँ निहुराउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि

सडकभरी हत्केलाका
कविताहरु जन्मदैछन्
हत्कडीको ताण्डव नाँच्न
धेरै ढिला भैसक्यो
लाखौ मान्छे उज्यालाका
गीत गुन्गुनाउदैछन्
अध्यारोको पसल थाप्न
निकै अबेर भैसक्यो
मैले डाडाँमाथीका खोल्साहरुबाट
हिजै खोलाहरुको लाश
दख्खिनतिर बगाँईसक्नुपर्ने
मैले साल, सिसौ अनि दाइरोहरुमा
अघिनै सर्पहरु लुकाईसक्नुपर्ने
तर
मेरा खुट्टाहरु अचेल
मुक्ति खोज्छन् मसँग
अनि उल्टै ब्युझाँउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि
(०७-०९-०६६)

1 comments (Click here to Comment):

Anonymous said...

kabita ramro..cha


बिम्ब !!!
बिम्ब !!!
बिम्ब !!!
what is it??

Post a Comment