टुँडिखेल


सबेरै गाँडेर शिवपुरीमा
मेरो आफ्नै चेतना
फर्किएर गर्छु म लेफ्ट-राइट
यो चिहानी चौरमा
उफ ! यो टुँडिखेलमा


मेरै दाईको छाला उघार्नेहरुले
थमाइदिन्छन् मलाई
त्यहि छालाको बन्दुक

मेरै दिदीको मासु बेच्नेहरुले
लगाईदिन्छन् मलाई
त्यहि मासुको कम्ब्याट
तिनीहरुको आदेशमा
ताक्नुपर्छ मैले
मेरै सहिदमंचको नझुकेको शीर
र फ्याक्नुपर्छ मैले ग्रीनेट
मेरै आस्थाको धरहरातिर
आफ्नै मस्तिष्क बन्धक राखी
उपिुरन्छु म यो धरापी चौरमा
उफ ! यो टुँडिखेलमा

तिम्रो पर्चा बटुलेर
मैले बुटले कुल्चनुपर्छ,
कुल्चने गर्छु
रातो झण्डा उघारेर
छाप्रोहरुमा आगो सल्काउनुपर्छ,
सल्काउने गर्छु
तिम्रो आवाजले
मेरो मुटु हल्लिनुहुदैन
तर हल्लिन्छ अचेल
तिम्रो कुराले
मेरो आँखा तिर्मिराउनुहुदैन
तर तिर्मिराउछ अचेल
लाग्छ अट्दैन म बिस्तारै-बिस्तारै
यो रवाफि चौरमा
उफ ! यो टुँडिखेलमा

कसरी यति सजिलै बताउन सक्छौ तिमी-
यो सैनिकमंचको हुकुमे-कथा
कसरी यति सजिलै गुन्गुनाउछौ तिमी-
मेरो बन्दुकको थकित व्यथा
कसरी पत्ता लागाउछौ तिमी-
बेचिएको माटोको सहि-सहि मात्रा
कसरी छुट्याउछौ तिमी-
मेरो हात र आँखामा भिन्नता
सयौं हजारौं प्रश्नहरुको
लाग्छ भकारी छ यो चौरमा
उफ ! यो टुँडिखेलमा

किन देख्छु म अचेल
यो परेडलाइनभन्दा धेरै भिन्न आफुलाई ?
किन मन पराउछु म अचेल
यो घोडेलगामबाट मुक्त भएको सपना ?
किन फर्काउछु म
सहिदमंच ताकिरहेको
मेरो निकै पुरानो राइफल
खुला आकाशतिर अचेल ?
अनि किन पट्काउछु
एक सलामि त्यसै
आफैले मारेको सहिदको नाममा ?
अनि फेरी किन मोड्छु म त्यहि राइफल
सैनिक-मंचको कालो गर्धनतिर ?
आफैसँग निकै लामो
द्धन्द जारी छ यो चौरमा
उफ ! यो टुँडिखेलमा
(०७-१२-२०६६)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |