कल्लिराम र जानकी

Source: http://blogbishad.blogspot.com

ढडियामा बाँध्छ रहरहरु
र खोलामा बगाउछ आफ्नो सपना
नाङ्गो छाती नाङ्गो खुट्टा लिएर
कल्लिराम मुस्कुराउछ ।

होमपाइपका ढ्वाङ्गहरुमा
ऊ देख्छ देशको खोक्रो भविष्य
र रुखको हाँगामा बसेर
जोड-जोडले हँसिया चलाउछ
ऊ सडकमा आफ्ना केटाकेटी रोएको बिर्सन्छ
र फगत चराको बँचेरा हेरेर
कल्लिराम मुस्कुराउछ ।

उसकी जानकी चुल्होमा लगातार फुक्छे
र कहिल्यै नबल्ने आँगो सोचेर
आफै आँगो बन्छे
जानकी लजाउदैनी अचेल
र झार्दैनी परेलाहरु तल-तल
बरु कुरुप कपाललाई एक चुल्ठो बनाएर
शानसँग ठडिन्छे
र बारीमा साहुले बेरेको
डोरीको तारवार चुडाल्न दौडिन्छे
यो सब हेरेर
ऊ भने दुई घुट्को जाँड तान्छ
र कारखानाको लाटो श्रमीक हाँसे जस्तो
कल्लिराम मुस्कुराउछ ।

तर खै किन हो कुन्नी
जानकी अझै मुस्कुराउदैनी ।
(२८-०१-०६७)

1 comments (Click here to Comment):

नदीश said...

फरक प्रस्तुित !

Post a Comment