आवरणमै गरिएको आन्दोलनको चित्राङ्कन, अलि फरक र आकर्षक डिजाइन र विमल निभाँलगायतका स्रष्टाहरुको सटिक टिप्पणीले जो कोहीलाई पनि किताब किनु-किनु लाग्छ । अनि जब किताब पल्टाएर पहिलो कविता 'मेरो हतियार' पढ्छ कसैले', तब उसले बाकि कविताहरु नपढेर विश्राम लिनै सक्दैन । कवि केशव सिलवालको नयाँ कविताकृति 'धारिला मानिसहरु'मा रहेका निकै जुझारु र जोशीलो शैलीका ४३ वटा कविताले पाठकलाई बाँधेर मजाले आफ्ना विचार सम्प्रेषण गर्ने क्षमता राख्दछन् । यसैलाई कविको सफलता मान्नुपर्छ ।

प्रगतिवादी कवि सिलवाल न कवितामा कलाविहिन जोरजबर्जस्ती मन पराउछन् न त विचारविहिन स्पन्दन मात्र । बरु उनी कवितालाई विचार र कलाको अद्धितिय संगम मान्दछन् र सोअनुरुप नै कवितामा प्राण भर्ने काम गर्दछन् । 'धारिला मानिसहरु' यसको पछिल्लो प्रमाण हो । उनी विम्बको पुनरावृत्तिको विरोधि पनि हुन् । 'धारिला मानिसहरु'मा नयाँ नयाँ विम्बहरुको उदय गराएर कवि सिलवालले प्रगतिवादी कविता यात्रामा आफ्नो कलात्मक उपस्थिती देखाएका छन् । तर पनि क्षमतावान कवि सिलवालले शैलीगत प्रयोगतीर आफुलाई अझै अगाडि बढाउन आवश्यक छ र आफ्नै कविताहरुबिच पनि शैलीगत भिन्नता कसरी ल्याउन सकिन्छ भनेर घोत्लिन जरुरी छ । 

लयात्मकता र सम्प्रेषणतालाई राम्रै ध्यान दिएकाले उनका कविता कविताहरुको भिडँमा हराउने नभई छुट्टै छाप छोड्ने बाटोमा अग्रसर देखिन्छन् । 'ङा चेपाङ', 'मागपत्र', 'बज्रपात', 'प्रिय कलाकार', 'प्रिय जलजला' लगायतका कविताहरुमा देखाईएको सन्दर्भबोध र सुझबुझपनाले कवितामा आफु बाँचेको युगको चेतना लिने र दिने नेतृत्वकर्ताको क्षमता झल्किन्छ । 'धारिला मानिसहरु'को सफलताको शुभकामना !