लौ आयो रातिपख

Source: http://blogbishad.blogspot.com

सिमापारीबाट छाँया लौ आयो रातिपख
सुस्त-सुस्त सबलाई विष पिलायो रातिपख

देशको सपुत साँच्दै थियो मुक्त भ'को रहर
उजेलीको सपनी त्यो जलायो रातिपख

मुठ्ठीहरू बन्दै थिए रातो सगरमाथा
झस्की यता तीरहरू चलायो रातिपख

आकाश भरी हुरी बनी जब जाँगे मान्छे
दुई पलमै छाँया कतै बिलायो रातिपख
(08-08-067)

गंगा फेरी परदेशी भई

Source: http://blogbishad.blogspot.com

अचानक उसको खुट्टा ढुँगामा ठोकियो र  दाँहिने चप्पल घस्रीदै गएर तल खोल्सामा खस्यो । ऊ मुखबाट 'ऐया… ऐया…' आवाज निकाल्दै त्यहि ढुँगामा अडेस लगाएर बसी । पर पुगेका उसका दौतरीहरु पनि ऊ तिर फर्के ।

वर्षौपछि गाउ फर्किदै गर्दा उसको मनभरी एक किसिमको रोमांचकता खेलिरहेको थियो त्यसैले उकालोमा चढ्दा पनि उसलाई ख्यालै भएन, उसको खुट्टाले ढुँगाको चोट पाउला भनेर । ढुँगामा अडेस लाग्दै उसले एकटकले आफुतिर फर्कदै गरेका आफ्नी साथीहरुलाई हेरी । ती सबै साथीहरु उसँगै फर्किएका थिए खाडिको दरबारबाट । गाउबाट उसलाई आमाको फोन आएको थियो । आमाले रुदै भनेकि थिइन "छोरी तलाई बुढा आमाबुवाको याद आउदैन ? त कसरी यस्तो कठोर भएकी छोरी ?” उत्तीबेलै ऊ भक्कानिदै रोएकी थिइ बेगमको 'मेकअप' कोठामा । अर्कोदिन नै उसले आफ्नी साथीहरुलाई जम्मा गरी र आउने निश्चित भयो चारवटी साथीहरु । कौशीकी भने आउन मानिन । ऊ त भन्दै थिई "त्यो देशले मलाई भोकभोकै लखेट्यो, अब त्यै देशले बोलाओस् न काम दिने गरेर, किन आमाको आशु पुछ्न मात्र जानु ? भोली हामी त्यहि पहाडमा रुने दिन आयो भने त्यो देखेर आमा फेरि रुदिनन् र ? उनको रुवाई त रोकिदैन यसरी ।” तर उसले मतलब गरीन कौशीकीको कुरा । ऊ त भन्दै थिइ "सब वाहियात ! विदेशमै भिझेछि यो कौशीकी त ।”

उसले झोलाबाट पानीको बोतल निकाली र दुई घुट पानी खाइ । पानी खाँदा गाउमाथीको चीसो झरनाको यादले झन् अत्यायो उसलाई । डाडामाथी घामले रङ बदल्न थाल्यो । उसको घाउमा दिलसराले कपडा बेरेपछि रगत केहि रोकिएको जस्तो भएथ्यो तर अझै दुखी नै रहेको थियो उसको घाउ । अब पनि नहिडे आजै घर पुगीनेवाला थिएन । ऊ जबर्जस्ती हिडि तर केही धिमा गतीमा । उसको मनमा गाउ फर्किन लागेको रोमांचकताले फेरी ठाउ लियो ।

ऊ अर्थात गंगा, २० वर्षकी थिइ विदेश पस्दा । दिलसरा पनि त्यति जतिकै हुदी हो । दुवै आ-आफ्ना घरका एक्ली छोरी थिए । गाउमा दिलसरा मगर परिवारकी छोरी, गंगा बाहुन कुलमा जन्मेकी तर दुवैको परिवार आर्थीक रुपलॆ कमजोर थिए । भलै भिन्न जातका थिए तर सानैदेखिका एकदमै मिल्ने साथी थिए उनीहरु । दुवैले सँगै एस. एल. सी. पास गरे र त्यसपछि दुवैका बावुआमाले बल्लतल्ल पठाएका थिए उनीहरुलाई राजधानीमा सँगसँगै पढ्न । दुवैले खुब मेहनत गरेर पढे, प्रविणता पनि सके । त्यसपछि न अरु पढ्न सके न त कुनै काम नै पाए र दुवैजना फर्किए गाउ । तिर्न बाकि पुरानो ऋण, कमजोर आर्थीक स्थिति आदि कारणले खाडि जान पाखाँबारी बेच्न कर गरी गंगाले । त्यसको केही दिनपछि नै दिलसरा पनि गंगासँगै खाडि जान्छु भन्न थाली आफ्नो घरमा । उनीहरुको गाउका सबै युवाहरु उतै हानिन्थे तर केटीहरु आजसम्म गएका थिएनन्। पहिल्यै कम्ती ऋण थिएन उनीहरुमाथी तर धेरै कर गरेपछि बल्लतल्ल मानेका थिए दुवैका पसिरवारले । गंगा त भन्थी "पख न जेई ! आज साहुलाई पाँखाबारी बेच्नुपरो, ऋण बोक्नुपरो, पछि फर्किएर साहुको सबै बारी किन्छु तिमी हेर्नु ।”

तर आज ऊ ती बारी किन्ने सामथ्र्य बोकेर फर्किएकि होइन । ऊ त आफ्ना बुढा बावुआमाको आशुले पँग्लेर फर्केकी हो ।

पल्लो गाउकी दुइवटी साथीहरु बाटोबाटै छुट्टिए । दिलसरा र गंगा एउटै गाउका थिए । जब गंगाले खोला काटी, उसले खुट्ठाको पिडा पनि भुली र जोडले दौडेर सबैभन्दा अग्लो सल्लाको रुख छोई । दिलसराले पनि त्यसै गरी तर अलि पछि मात्र । गंगा उर्फिदै कराइ "आज पनि म पहिला ।” दिलसरा लजाउदै थोरै हाँसी ।

सल्लैसल्लाको सानो उकालो कटेपछि तीस-चालिस वटा जति साना-साना माटोका घरहरु देखियो । दुई-तिनवटा फूलका विरुवा, त्यसमा सयपत्री फुलेका, सफा आँगन, रातो माटोले लिपेको दैलो, खरले छाएका छाना अनि घरसँगै जोडिएको एउटा-एउटा गोठ । सबै घरहरु एकदमै समान थिए । अलि माथीतिरको एउटा घर भने निकै भव्य थियो । सिमेन्टले बनेको, माथिल्लो तलामा बार्दली भएको, झण्डै महल भनेपनि हुनॆ । गंगाले अन्दाज लगाउदै भनि "पक्कै त्यो घर त्यहि फोक्से साहुको होला । चुत्थो फोक्से डाँकाको ।” दिलसरा खितित्त हाँसी । गंगाले लामो सास तानी र अन्त कतै नहेरिकनै आफ्नो घरतिर जोडले दौडिई । उसले निकै पर पुगेपछि दिलसरातिर फर्केर 'भोली भेटौला है' भनी र फेरी दौडिई । दिलसरा पनि चिच्याउदै 'हुन्छ' भनेर आफ्नो घरतिर दौडिई ।

त्यो रात घरमा गंगाका आमाबावु खुब रोए । उसले शहरबाट आमालाई ल्याइदिएको धोती दिई र बुवालाई टोपी दिई । उसको बुवा भने हिडडुल गर्ननसक्ने भैसकेको थियो । आमा नै बारीमा, घरमा सबै काम गर्ने रहिछन् । गंगाले बेलाबेलामा पठाएको पैसा पनि साहुलाई ब्याज तिरेरै ठिक्क हुने रहेछ । गंगाले मनमनै सोची "अब यतै बसेर केहि काम गर्नुपर्ला ।" ऊ निकै थाकेकी त थिई तर पुरै रात आमाबुवासँग कुरा गर्दै बिताई । बिहान ३ बजेतिर आमाको न्यानो काखमा मिठो निद्रा पर् यो उसलाई ।

'ढकढक… ढकढक…'
निकैपटक ढोकामा 'ढकढक' आवाज आएपछि गंगाकी आमाले छोरीलाई काखबाट ओछ्यानमा सारी र ढोका उघाँरी । एउटा ९/१० वर्षजतिकी सानी बच्ची लामो सास तान्दै केहि भन्न खोज्दैथिई तर उसको बोली भने बिच-बिचमा अड्कीरहेको थियो ।
"दिदी… दिदी… दिलसरा दिदीको… दिलसरा दिदीको…”

आफुले ओढिराखेको मैलो सिरक हुत्याएर गंगा जुरुक्क उठी र बच्चीको पुरै कुरा नसुनेरै बाहिरतिर दगुर्न लागी । १२/१५ घरहरु कटेपछि एउटा घरको आँगनमा ठूलो भिड देखियो । गंगा निकै आत्तिई । ऊ आकाशतिर फर्किई र हात जोड्दै दुवै आँखा चिम्म गरी । धेरै हिम्मत बटुलेपछि ऊ बिस्तारै भिडतिर बढी । भिडमा कोही रोइरहेका थिए भने कोही 'चुँचुँ' गर्दै सान्त्वना दिदै थिए । ऊ अब भिडभित्र पसी । उसले देखी दिलसराकी आमा आँगनमा शान्तसँग सुतेकी थिई, उसका दुवै आँखा चिम्म थिए, उसमाथी सेतो कपडा ओढाइएको थियो । छेउमै बसेर दिलसरा निकै जोडजोडले रुदै थिई । भिडबाट एउटी आइमाईको सानो आवाज आयो ।
"पैला ले'को ऋणको पैसा लिन साहु राती नै घर आयो रे । दिलसराले पैसा कमाकि रैन'छ । पैसा तिर्न नसकेपछि साहुले 'तेरी छोरीलाई अब वेश्या बन्न पठा मेरोमा' भन्देछ रिसार । आमाले सहनै सकिन र झुण्डीछ त्यो रुखमा ।”

फेरी अर्कि आइमाईले थपी ।
"यस्ती कलंकीनी छोरी जन्माएपछि कसरी बाँच्थी त ? ”

यतिन्जेल गंगाकी आमा पनि भिडमा मिसिसकेकी थिइन् । गंगाले आमातिर हेरी र कसैले आफ्नी आमालाई केही भनिहाल्छ की भनेर डराई । गंगालाई त्यो भिडमा निकै चक्कर लाग्यो र तुरुन्तै फर्किई त्यहाँबाट ।

मान्छेहरु ऊ आइरहेको बाटोतिर दौडिरहेका थिए तर ऊ एक्लै हिडिरहेकी थिई- उल्टो दिशातिर ।

***
राती तरवार भिरेको एउटा भिमकाय राक्षस छिर् यो बन्द ढोकाबाट । गंगा, उसकी आमा र बुवा पानी नै पानीको चीसो छालमाथी सुतिरहेका थिए । उसको बुवा त्यहि ढोकाबाट बगेर कतै विलायो । त्यो राक्षस जोडले हाँस्दै चिच्याउन थाल्यो "तेरी छोरीलाई अब वेश्या बना ।” र उसले देखि तुरुन्तै उसकी आमा उडि खरको छत छेडेर, निकै माथी उडि, धेरै माथी र चिच्याउदै ठूलो ढुँगामा बज्रीई ।
***

गंगा असीनपसीन भएर ब्युझीई । उसको खुट्टाको घाउ धेरै रन्केको रहेछ । उसले आफुसितै सुतिरहेकी आमालाई हेरी अनि फेरी दिलसराकी आमालाई सम्झिई । अनि फेरी कौशीकीले भनेको कुरा खेल्न थाल्यो उसको मनमा ।
"पहाडमा रुने दिन आयो भने त्यो देखेर आमा फेरि रुदिनन् र ? उनको रुवाई त रोकिदैन यसरी ।”

पर्सीपल्ट गंगाले आफ्नो झोला मिलाई । बुवाआमालाई निकैबेरसम्म सम्झाउने कोसीस गरी र अन्तिममा आमालाई भनि "जेइ ! यो पाली साहुको सबै बारी किन्न सक्ने भएर आउछु, तिमी हेर्नु ।” उसका बुवाआमा निकैबेरसम्म रोइरहे । बाटोमा दिलसरा भेटीई । ऊ पनि छिट्टै फर्किन्छु भन्दै थिई ।

गंगा अब कहिल्यै विदेशीन्न भनेर आएकी थिई तर ३ दिनपछि नै ऊ फेरी परदेशी भई ।

(कार्तिक, ०६७)