Source: http://blogbishad.blogspot.com
भोको पेट बोकेर यो पागल घोडा गौशाला हुदै चावहिलतिर बढ्यो । बिहानभर भक्तपुरमा उफ्रेको थकाइ, कुद्नलाई पुग्ला-नपुग्ला निश्चित नभएको रिजर्भ पेट्रोल र बाटोको जामले गर्दा पागल घोडा झन पागल बन्दैथ्यो । मेडिकेयर हस्पिटलको गेटनिर पुग्नेबित्तिकै एक हातले धुवा उडाउदै, अर्को हात उठाएर समय हेर्दै गरेका गोविन्द वर्तमान दाईले हाँसी-हाँसी थर्काइहाले "अब यतिकै ढिलो हुने भएपछि यो सल्केको ठूटो ननिभाएर के जानु ? ” मैले चुपचाप आफ्नो गर्धन हल्लाइदिए ।

बाटोभरी रातोघरमा साथीहरुले कुर्दै बसेका दृश्यहरु मेरो आँखामा घुमिरह्यो । वर्तमान दाईले बेला बेलामा समय बताउदै यो पागल घोडालाई निकैपटक रन्थन्याए । मलाई त लाग्दैथ्यो यहि पागलपनको मौकामा कहि गएर जानी-जानी लडिदिउ तर सोचे "कार्यक्रमका लागी कम्ता मेहनत भा’छैन ।”


रविभवनको रातोघरमा प्रत्येक तेस्रो शनीवार हुने भनिएको 'अक्षरसँग’ कार्यक्रमको पहिलो श्रृङ्खलामा लाग्दै थियौँ हामी । यो पाली स
मीक्षकको रुपमा वर्तमान दाईलाई डाकिएको थियो । उहाँलाई ल्याउने जिम्मा यो घोडालाई बाहेक कल्लाई जान्थ्यो र ? कार्यक्रम लगभग सवा तीन तिर सुरु भयो । टापलाई आराम दिएर पलेटी कसेको मैले यसो आँखा लगाए अगाडि स्नेह सायमी, लक्ष्मी माली, स्व. स्वप्निल स्मृतिजस्ता हस्तीहरु थिए । तिलक चाम्लिङ आफ्नो रेकर्डर रेडी पार्दै थिए । यो पालीका सहभागी कविहरु नाकिमा, नदीश, मन्जु मार्मिका, अस्मिता माली मानन्धर, दृश्य र म हातमा परेको कविताको पानामा बारम्बार आँखा दौडाउदै थियौँ । सबैले मजाले कविता वाचन गर्यौ । अतिथी कवि बनेका स्व. स्वप्निल स्मृति दाईले कविता बिर्सिए भन्दै गर्दा मैले रिसाएर स्वर्गीयलाई नर्किय लेखु कि सोच्दैथिए तर खै कहाँबाट अन्तिममा कविता निकालिहाले उनले पनि । स्रोताको रुपमा उपस्थित पुग-नपुग नौं/दश जना साथीहरु खुब ध्यान दिएर सुन्दै थिए ।

संचालकले समीक्षाको पालो आयो भन्ने बित्तिकै यतिन्जेल लोसे भएका वर्तमान दाई जीउ तन्काएर तयार भै हाले । स्वीटरभित्र हात घुसारेर बुढाले पट्याएर राखेको कागज फैलाए र सुरु गरे तीरहरु चलाउन ।
सुरुमै पागल घोडाको पूर्ण-मुण्डन गरिहाले बुढाले । भने "यो पागल घॊडा होइन, सद्दे पो हो ।” आफ्नो पागलपनप्रतिको मेरो घमण्ड रातोघरभित्र पोलियो । त्यसपछि डढाए ल्होत्साम्पेली कवि नाकिमाको कविता । झण्डै उठेरै हिर्काए उनले "फुटनोट लेख्ने भए कविता नलेख ।” उनले नदीशको बज्यैलाई छिप्पेकी बज्यै भन्दै प्रणाम गर्न मानेनन् । दृश्यको प्रतिज्ञा सुनेर खितित्त हाँस्दै बर्बराए "सादा पोसाक ला’को आर्मी ।” मार्मिकाको कविता पूर्ण गर्न लाहाछाप लगाइ आदेश दिए । अस्मिताको कवितालाई भने "पूर्णप्रतिकमा अडिएको छ” भन्दै राम्रै स्नेह दिए ।


कार्यक्रमपछि चिया खादै गर्दा स्व. स्वप्निल दाईको सामुन्ने कवि लक्ष्मी मालीको प्रश्न तेर्सियो "तपाई स्वर्गीय मान्छे कसरी ज्यूदो हँ ? ”  दाईले पनि स्वर्गीय मुस्कान थपे चुपचाप । उ
ता वर्तमान दाई कुनामा गएर 'अवैधानिक काम गरु है’ भन्दै धुवा उडाउन लागे । 


त्यसपछि यो पागल घोडाको टाप फेरि दौडियो वर्तमान दाईलाई च्यापेर चावहिलतिर । बाटोमा थो-थोरै कुराकानी पनि भो । मैले तीनचारचोटी धन्यवाद भने, उनले पनि त्यति नै चोटी घडि हेरे । मैले बेला-बेलामा सोचे "यि त गजबका मान्छे रैछन्, अब म पनि सद्दे हुनुपर्छ ।” चोकमा ओर्लेर बुढाले ताजा समाचार सुनाए "अैले त जम्मा २० मिनेटमै आइयो त, कति छिटो ।” उनलाई पत्तै रहेनछ रिसा’को बेला सद्दे भइनसकेको पागल घोडा कस्तरी दौडन्छ भनेर ।
(१६-१०-०६७)

अलि धेरै बाँच्दैछु

Source: http://blogbishad.blogspot.com
अलि धेरै बाँच्दैछु
अलि धेरै हाँस्दैछु
म मरेपछिको लागी
थप जीवन साँच्दैछु

भलै छैन मेरो माटो तर अन्न उमार्नुछ
सुख्खा यी ओठभरी रिमझिम झरी पार्नुछ
यस्तै बेग्लै सपना आँखामा म गाँस्दैछु

बद्लिनेछ मरुभूमी एकदिन त सागरमा
फैलिनेछ नदी पनि पर-पर बगरमा
हिड्छु तातो वालुवामा, काँडामा म नाँच्दैछु
(१८-०९-०६७)