म, मित र त्यो बालापन

source: www.blogbishad.blogspot.com
मूलसडकबाट सयौँ कोस टाढा उछिट्टिएको
मेरो छाप्रो मुन्तिरको बाटो
त्यो राक्षसी झाँडिबिच
कहाँ-कहाँ लुक्दै हिड्थ्यो अँध्यारोमा
मलाई अहिले पनि थाहा छ
जति मेरो बालापनलाई थाहा थियो ।

जति लुकेको थियो त्यो बाटो
त्यतिकै बाङ्गो-टिङ्गो पनि थियो
मानौँ त्यो कुनै बाटो होइन
एउटा मिसनमा हिडेको कम्ब्याट सर्प हो
जो हिडिरहेछ दायाँ-बायाँ
              यता-उता
              कहिले घिस्रिएर, कहिले दौडिएर
              कहिले विजयी मुद्रामा, कहिले चोटग्रस्त भएर ।

म र मेरा मित सगर्व भन्थ्यौँ त्यतिबेला-
"बाङ्गो बाटोबाट हिँडेर लक्ष्य भेटाउनु नै
                      सर्पको जीवन हो
                        उसको कला हो
                            चेतना हो ।"

त्यही सर्पजस्तै हाम्रो बालापन
कहिले राप्ती नदीको गहिरो पिँधसम्म गएर भिझ्थ्यो
कहिले वल्लो किनार र पल्लो छालसम्म पुग्थ्यो
छालको चोटमा पनि म जिस्किदै भन्दिन्थे-
"वा ! क्या छलाङ मार्यौँ हामीले ।"

नतिजा
उफ… मित अहिले केवल छालमै छलाङ देख्ने भएका छन् ।

जब हामी सँगै पिँधमा पुग्थ्यौँ
किनारमा बसेर ढुङ्गा हान्ने
केही फ्याउराहरु खुशी हुन्थे
हामी डुब्यौँ भन्ने सोचेर
फेरि हामी उत्रिन्थ्यौँ सतहमा
गतीवान पौडिवान झैँ
त्यतिकैमा रुक्थ्यो फ्याउराहरुको ढुङ्गे ताण्डव ।

अहिले हाम्रो पिँधको लेखाजोखा
अनि हाम्रो पौडी इतिहासको डायरी छ
कुकुरमा बदलिएका फ्याउराहरुसँग
"अनि हाम्रो पौडिकला पनि नबदल्ने त मित ?"
मेरो प्रश्नमा मित गम्भीर बनेझैँ गर्छन् कहिलेकाही ।

आहा ! हामी डुल्थ्यौँ, उफ्रीन्थ्यौँअनि पौडी खेल्थ्यौँ
सधैभरि सँग-सँगै
साच्चै त्यो बालापन राप्तीजस्तै निर्मल थियो ।

नयाँ पौडिकलामा अलि नरमता भयो,
मित अचेल यसो भन्छन्
यो गुप्त बाटो अलि गन्तव्यहीन छ,
मित अचेल यसो भन्छन्
यो कम्ब्याट सर्पको हिडाइमा अलि दायाँपन आयो,
मित अचेल यसो भन्छन् ।

म सक्ने भए
यो कलेजी टक्राइदिन्थे
र लैजान्थे मेरा मितलाई
फेरि त्यही बालापनमा
मैले त बिर्सिन 
तर मेरा मितले नै सायद बिर्से त्यो बालापनलाई
अनि हामीले सगर्व सँगै भनेको त्यो भनाइलाई
"बाङ्गो बाटोबाट हिँडेर लक्ष्य भेटाउनु नै
                      सर्पको जीवन हो
                        उसको कला हो
                            चेतना हो ।"