अन्तिम कविता

म किन लेख्न छाड्दैछु आज ?
वा किन थालेको थिए त्यतिबेला ?
मलाइ ठ्याक्क थाहा छैन
त्यतिखेर धेरै पीडा हुदा लेखाइले पीडा मार्थ्यो
सायद त्यसैले थाले
अहिले लेखाइले पीडा थपेको छ
सायद त्यसैले छाड्दैछु ।

त्यो बेला वर्षिएको ढुँगाको झरीले
मेरो सिँगै गाउका सपनाहरु रक्ताम्मे पारेको थियो
त्यहि सपनाको चिहानमाथी उभिएर
त्यहि आलो रगत चोपेर
थरथर काम्दै पहिलो कविता कोरेको थिए मैले
अबोध ठिटोको कविता सुनेर
गाउ नै रोएको थियो त्यतिबेला
त्यसपछि मैले बुझे
कविता एउटा रुवाइ हो
जुन पढेर
मान्छे आफ्नो पातालको जीवन बुझ्न सक्छन् ।

गाउबाट शहर छिरेदेखि नै
कविता लेख्न निकै जटिल भएको थियो
ढुँगा यहा पनि नवर्षिने होइन
झन ठूला-ठूला ढुँगा वर्षिन्छन् यहा
तर यहाका मान्छे
ढुँगा चपाउन खप्पीस भइसकेका रहेछन्
या भनौ मान्छे मान्छे होइनन् यहा
कि मान्छेभन्दा थोरै माथी
कि थोरै तल
अह ! मान्छे चाहि होइनन् ।

यहाँ सबेरै उठ्दाको चार पर्खालको भाडादेखि
साँझको चिमको बिलसम्म तिर्न
कविताले आत्मसमर्पण गर्नुपर्दो रैछ
मेरी आमा पल्लो कोठामा बेस्मारी झगडा गर्छिन् मेरा बासँग
मेरा बा दुनियासँग झगडा गर्छन्
तर मलाइ थाहा छ
यी वास्तविक झगडा होइनन्
आफ्नो गरिबीसँग
गरिबीका कारकसँग
लड्न नसकेको हिनताबोधमा
मेरो हरपुस्ता केवल आफैसँग लडेर
आफैलाइ चिथोरिरहेछ
म यसको नया प्रोडक्ट
झुठा झगडा सुन्दै, डराउदै, लुक्दै
अध्यारोमा फेरि थरथर काम्दै
कविता कोर्दैछु ।

तपाइ जे भन्नुस्
यो मेरो अन्तिम कविता हो
यसपछि म सपनाको कविता पनि कोर्नेछैन
आसुको कविता पनि कोर्नेछैन
तैपनि म यो दाबी गर्न सक्दैन
कि म थरथर काम्न बन्द गर्नेछु ।
१६-०३-०६९

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |