हेरु कतै मैले छोएर
मैलिन्छ कि रातारात यो देशको संविधान
त्यसोभए त म जरुर छुन्छु
ल्याउ, तुरुन्त ल्याउ
ममा छ असीम शक्ति
मैले बाल्नुपर्दैन आँगो
चलाउन आवश्यक छैन तोप
बस् छोएर तिम्रो संविधान
छोएर तिम्रो विरासत
हराउन सक्छु म तिमीलाई ।

यो छुत समाजको म अछुत मानव
या भनौ यो अछुत समाजको म छुत मानव ।

खुम्चीदा खुम्चीदै यो छाती
परिवर्तन भइसकेछ एउटा ठूलो भ्वाङमा
जहाँबाट छिरेर यो समाज
पुगिसक्यो कोसौ पर ।

यतिखेर चस्स दुखिरहेछ आरनको मेरो छाती
मैले नै बनाएको कुनै स्थेटस्कोपले यो छाती छुन मान्दैन
मानौ म कुनै केमेस्ट्री ल्याबबाट चोरिएको
कन्सन्ट्रेटेड एसिड हु
र मलाइ छुदैमा जल्न सक्छ जो कोही ।

म काटिएको नाक-सुवर्णखाको
रिसाएको छु यतिखेर
र छुन सक्छु म तिम्रो केश
मुडुल्याउन सक्छु तिम्रो कालो इतिहास
उप्काउन सक्छु एक-एक छल ।

यो सन्की समयमा
पिउदैछु म धैर्यताको कडा मदिरा
मलाई नरोक
पिउन देउ यो मन्द विष
यो बिना न म रहनेछु
न तिमी
त्यसैले मलाइ नरोक
नरोक्ने प्रणमा
ल्याप्चे हान यो छातीमा
तर तिमी त यति पनि छुन चाहदैनौ ।

कहिलेकाहि त लाग्छ
जानाजान छोइदिउ तिम्रो मठ
र हेरु
कतै यो भष्म हुन्छ  कि
छोइदिउ तिम्रो राजतिलक
र हेरु
कतै यो मेटिहाल्छ  कि
म एक्सपेरिमेण्ट गर्न चाहन्छु
कतै मैले फुकेपछि तातो सास
अम्लीय बन्छ कि यो झरी ।

अब छोएर एउटा पवित्र सेतो कात्रो
डढाउनुछ मैले मेरो अछुततालाई
बनाउनुछ एउटा छुट्टै मसानघाट
जहाँ मैले नै दिनुपर्नेछ
यो समाजलाइ दागबत्ती ।
२७-०५-०६९

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |