बङ्गालको सडकबाट

अर्कै सहरको यो अर्कै सडक
यहाँ हिड्ने हरेक आँखा
चमेरो गुफाझै अध्यारो, डरलाग्दो लाग्छ मलाइ
विशेषतः आफ्नै ।

बिहानदेखि साँझसम्म
टिभिस्क्रिनमा झुण्डिएकी छे
एउटी मृत–नग्न केटी
आङ नै सिरिङ्ग हुनेगरी
रिपोर्टर पटक–पटक
उसको अङ्ग–अङ्गमा चिमोट्छ
मृत्यु अघिको बलात्कार भन्दा पनि डरलाग्दो छ
उसको यो मृत्यु पछिको टिभि–बलात्कार ।

बाटोमा कसैसँग ठोक्कीन पुग्छु
ऊ मदेखी डराउछे
म ऊ–देखी
सायद फेरि अर्को ढुङ्गेयुग
उम्रिएको छ
यो बङ्गालको सडकमा
यहाँ या त मान्छे मान्छेदखी डराउछन्
या त मान्छे मान्छेमाथी झम्टन्छन् ।

‘मिष्टि... बोङ्गाली... भालोबासी...’
आफ्नै सहकर्मीको कुरा बुझ्दिन म
कम्प्युटरमा आँखा लगाउदै
के के बोलिरहन्छे यो बोङ्गाली बेगम
म उसलाइ भन्छु
'यो बङ्गालको सडकमा
म विदेशी होइन
तिमी पो हौ'
ऊ मेरा यी कुरामा अचम्मसित हाँस्छे
यो शहरमा मैले कोही केटी
यति निर्धक्क भएर हाँसेको
पहिलो चोटी यहि कोठामा देखे
मलाइ प्रेम भएको छ
उसको यो निर्धक्क हाँसोसँग।

साँझ टिभिस्क्रिनमा ऊ पनि झुण्डिएकी हुन सक्छे
रिपोर्टर उसको क्षतविक्षत शरीरभरी
जथाभावी हात लगाइरहेको हुन सक्छ
औलाले उसको घाउहरुमा घोचिरहेको हुन सक्छ
म बिना नशा, नशामा सोच्दैछु
यो कस्तो सहर हो ?
बिहासम्म हाँस्दै गरेकी केटी
रातसम्म बलात्कृत भइसक्छे
मृत भइसक्छे
किन यो सुन्दर बङ्गालको सडक
रातमा केवल वेश्यालयझै बन्छ
र दिनमा वधशालाझै ?

श्मसान भन्दा पनि डरलाग्दो बन्दैछ
यो मेरो मित्रदेश
यो मेरो मित्रसहर
यो मेरो मित्रसडक ।

साच्चै यो बङ्गालको सडकजस्तै त छ
मेरो देशको सडक पनि
साच्चै मेरो देशको सडक पनि त
यो बङ्गालको सडक जस्तै छ ।
(14-09-2069, Kolkata)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |