दर्दनाक जोक

मैले भख्खर खबर पाए
एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।

तिम्लाइ हाँसो लाग्यो होला सायद
कसैलाई हाँसो लाग्ने
कसैलाई पीडा हुने
यो कस्तो जोक हो यार ?

एउटा ‘क’ पात्रले यसलाई सुनाएथ्यो
‘हात्तीको दात बाहिर निस्किएकोले उसको बिहे भएन’
बाकि सब मरिमरि हाँसे
ऊ भने हाँस्न सकेन
सायद उसलाई लाग्यो
हात्तीको देखाउने दात र ऊ एउटै हो ।

जोक सुनेपछि उसलाई बेस्मारी ज्वरो आयो
रिङटा लाग्यो
कामेको हातले मानौ अन्तिम पेग जिन्दगी उठायो
कल्ले धेरै पीउने बहानामा सकिनसकि पियो
र फाइनान्समा भख्खर लिएको चमकदार बाइक चढेर
ऊ डेराको कालकोठरीतिर निस्क्यो ।

अ... उसको बारेमा भन्नुपर्दा
ऊ सानैदेखि डराउथ्यो आफ्नो दुब्लोपनदेखि
ऐनाको आफ्नो प्रतिविम्बदेखि
‘थुक्क जोक पनि नबुझ्ने मु**, पाँखे’
कसैले यस्तै केही भनिदेला भनेर
उसले अरुको कुरा सकिनु अघि नै थपडी बजाउनुपर्छ भन्ने सिक्यो
कसैले ‘पाँखे’ भनिदेला भन्ने डरले
उसले पहिल्यै अरुलाई ‘पाँखे’ भन्न थाल्यो
अब ऊ नाँच्दै थियो
सापटी सपनाको झिलीमिली डिस्कोमा ।

आखीर हो त ऊ उहि गाउले ‘पाँखे’
लक्की ड्र मार्फत बाँडिएको
कुँहिएको चामल खाएर भिरपाँखामा हुर्किएको
यो शहरी शुद्ध नग्नता उसलाई पचेन
अपच सपनाको फुडपोइजनिङ भएर
पहिल्यैदेखि बिरामी त थियो नै
अझ त्यो माथी यो हदसम्मको दर्दनाक जोक ।

भाँडाको चारपाटे कोठामा गएर उसले बेस्मारी छाद्न थाल्यो
उसले ओकल्यो
–    फेयर एण्ड हेन्समको सिद्धिएको कालो ट्युब
–    सिसा फुटीसकेको फेसनदार चश्मा
–    बाइकको तिर्न बाकि क्षतविक्षत रसिदहरु
–    कुनै केटीको नग्न फोटो
–    फेल भएको सर्टिफिकेट
–    गाजा बनाउन ठिक्क पारिराखेको चम्कीलो कागज
र अन्तिममा
–    भख्खर बितेकी बुढी आमाको अन्तिम पत्र ।

मैले ढाँटेको होइन
नपत्याए उसको पोस्टमार्टम रिपोर्ट पल्टाएर हेर्नुस्
‘एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।’
04 OCT 2012