उमेर सकिएपछि

एक उमेर सकिएपछि
थुप्रै दशकको हिडडुलपछि
मान्छे टाउकोबाट शुरु भएर केवल टाउकोमै सकिदो रै'छ
मानौ बाकि रहेका हात खुट्टा र जम्मै शरीर
केवल गहुँगो झोला हो
जो बोझ बनेर यो टाउकोमा टँगिन्छ ।

यो उमेरमा काम भन्नु नै कुर्नु हो
र म कुरिरहेछु
त्यो अनन्त आकाशमा पुर्याउने एउटा यात्रुबस
तर सायद बाटोको शरीरमा पनि
मेरो शरीरमाझैँ पहिरो गएको छ
वा कोही उफ्रि-उफ्रि आन्दोलन गर्दैछ
बाटोको बुढो छातीमाथी
मेरो कालको बिरुद्ध ।

मेरो सानो पनाती
मेरो काननिर आफ्नो ओठ जोडेर
जोड-जोडले सोध्छ-
"बज्यै
यी सेतै फुलेका कपाल झरेर
अब नयाँ काला रौहरु उम्रिन्छन् हो ?
यी थोते गीजाभरी
अब फेरि लहरै दात बस्छन् हो ?"
बाबै !
कति मिठो छ मेरो पनातीको तोतेबोली ।
(२१ जुलाइ २०१२)

0 comments (Click here to Comment):

Post a Comment