कुनै ठेगाना नभएको पत्थरझै
एकै ठेगानमा विगत आधा घण्टादेखि सुतिरहेथ्यो
उसको क्षतविक्षत मौन शरीर
केही बेरमै कुनै सडकनाटकका दर्शकझै
अनेक कृत्रिम संवेदना बेरेर
झुम्मीएथ्यो एउटा अञ्जान भीड
त्यहीबिचमा भीड चिर्दै छिरेकी थिइन
एउटी चाउरी परेकी आइमाई
जसको उजाड मन हेरेर जोसुकै भन्न सक्थ्यो
‘ऊ उसकी आमा हो’ ।

रगत लत्पतीएर बिस्तारै रातो हुदै गरेको छोराको सेतो सर्ट

रोएर सुकेको उसकी आमाको आखाको बौलठ्ठ हेराइबिच
लगभग अब अन्तिम बिदाई मात्र बाकी थियो ।

तातो सडकमै झोक्राएर उनले आखाभरी खेलाउन थालीन शीतल विगत
जहाँ उनले आफ्नो सपना देख्ने जमीन मासेर
छोराको लागी कैयौ बीगा सपनाको धर्ती बसालीन्
आफ्नो लोलाएका आखाले भ्याएसम्म
उसको हिड्ने बाटो खनीन्
चाउरिएको हात, खुट्टा, गाला र चाउरी जीवन नै बन्दकमा राखेर
किनिदिइन उसले ढिपी गर्ने गरेको ‘वाहन’
वाहन पाएपछि
छोराले चाउरी गालामा सुस्तरी म्वाई खाएको पनि सम्झिइन् ।

उनले सम्झिइन्
‘बिस्तारै छोरालाई वाहनसँगै लत बस्यो
आमाको चाउरी गालाभन्दा
चिल्लो फलामे गाला उसलाई बढी मन पर्न थाल्यो
आमाको झोक्राएको आखाभन्दा
वाहनको तेजिलो लाइटमा उसको मन फस्न थाल्यो
ऊ यस्तरी कुदाउन थाल्यो वाहन
कि मानौ भेट्नुछ उसले कुनै दुर भविष्य वर्तमानमा नै
मानौ सक्काउनुछ लामो यात्रा
र उसँग छ निकै छोटो समय
मानौ भाग्नुछ उसलाई आमाको अँगालोबाट
र लुक्नुछ पर कुनै कन्दरामा
सबैभन्दा आश्चर्य !
आफ्नो तीव्र गती
गर्वको कुरा थियो उसको लागी ।’

आमा त भनीरहन्थिन्, सम्झाइरहन्थिन्
समयभन्दा अघि दौडदा
समयले निल्छ एकदिन
आमाको काखबाटै थुतेर
समयले आखिर निलिछाड्यो उसलाई
ऊ त निर्जिव, कठोर मन भएको छोरा
उसलाई केही फरक परेन सायद
तर आमाको मन उखु पेलीएजस्तै पेलीयो
जीवनका छोक्राबाहेक केही पनि बचेन उसको भागमा ।

धेरै अनिद्रापछिको एक रात
उनले सपनामा देखिन
‘उनको छोराको एकजोर हात सडकमा बिस्तारै उम्रिन्छ
सिमेन्टी पर्खालको कापबाटै पीपल उम्रेझैँ
‘को खाला, को खाला’ गर्दा भागेर उसलाई सताउने एकजोर खुट्टा पनि
सकिनसकि सडकमा बिस्तारै घस्रिन सुरु गर्छ
आमाको पाउ ढोगेर हास्दै खुम्चीने गरेको
उसको छोराको निधारमा पनि सुस्तरी हलचल आउछ
यहि निधारमै चुमेर त उनी आफ्नो जीवनका प्रत्यक दिन
उदाएको र अस्ताएको अनुभूती गर्थिन्
उसको छोराको आँखा पनि चामत्कारिक रुपले चम्किन सुरु गर्छ
जहाँबाट कैयौ जीवनहरु, सपनाहरु, आशाहरु प्रतिविम्बित भइराखेको देख्छिन् आमा
हेर्दाहेर्दै
उनको छोराको उमँग भरिएको जीउ
फूर्तीका साथ उभिन्छ
हेर्दाहेर्दै सडकबाटै
उनको छोरो पुनः जन्मिन्छ
तर जसै उनी आफ्नो चाउरिएको हातले
सकीनसकी स्पर्श गर्न खोज्छिन् छोरालाई
यो छोरा आफ्नी आमालाई नै चिन्दैन
र धुलो बनेर छरिन्छ हावामा ।’

सायद अब बाकि जीवन अनिद्रामै बाच्छिन् होली आमा
यही सपना सम्झेर ।
(२०७०-०६-०६)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |