सालिक कलिङ सालिक

यो सालिकभन्दा अगाडिको बाटो
अब तिमी आफै तय गर
म त गोल हिडाइको पुँछारमा
थकाइ मार्दा मार्दै
आफै सालिक भएछु ।

सँगै सुरु गरेथ्यौ यात्रा
समय र मैले
समयभन्दा अगाडि दौडदादौडदै
टक्क जमे म एकदिन
जसरी चिसोले कठ्याङ्ग्रीएर पानी जम्ने गर्छ
ङिच्च दात देखाएर
छेउबाट समय सलल बगेको
लाग्छ आजै हो
अब तिमी आफै दौड
यो ‘फ्रिजिङ पोइन्ट’ भन्दा अगाडि
म त चिसोसँग लड्न नजान्दा
आज सालिक भएछु ।

मानौ म भइन
र छैन पनि त
त के फरक छ
के गती धिमा छ हावाको ?
के तेज कम छ किरणको ?
म जसरी उठाउथे शीर
मेरो लागी पो त्यो शीर थियो
अरुको लागी त त्यो
घिनलाग्दो पैतला पनि त रहेछ
म जसरी बुर्कुसी मारेर उड्दथे वायुयानमा
मलाइ पो थाहा थियो
मलाइ भेट्नुछ त्यो सम्म क्षितिज
तर कहाँ अरुलाइ चेत दिन सके मैले ?
अब तिमी आफै उडेर हेर यहाँबाट
कहाँ सजिलो छ र उड्न पनि ?
म त कुद्दाकुद्दै, उड्दाउड्दै
ठोकिएर चुचुरोभन्दा अलि मुनिको पत्थरमा
आज सालिक भएछु ।

सायद हर सालिकहरु
जीवनदेखि डराएरै सालिक बनेका रहेछन्
जीवनदेखि डराएरै
आज आफै छाप्दैछु अखबारमा
आफ्नै मृत्युको अफवाह
जुन अखबार समेत काम लाग्न सक्छ
कुनै चना चटपटेको घुम्तीपसलमा
म के मा काम लागुला ?
म सालिकझै भएर सोचमग्न छु
म सोचमग्न भएर सालिकझै छु ।
(२०७०–१०–०४)

0 comments (Click here to Comment):

Post a Comment