तिमी निर्धक्क मनाउ
तिम्रो पुनरुत्थान सन्ध्या महोत्सव
झिलमिल पार तिम्रो शहर–चोक
र घोषणा गरिदेउ
फेरि जन्मिएको छ ‘रामशाह पथ’मा
एउटा तिलश्मी फूल
जून फूलम केवल
‘ममी बादशाह’हरुको मात्र हक हुनेछ
अरुले सुँघ्न समेत पाउनेछैनन् ।

तिमी मजाले मनाउ यो उत्सव
बाल चारैतिर बल्ब
म पनि लाल्टिन लिएर पढिरहन्छु
मेरो च्यातिएका पानाहरु ।

यो देश कुनै चमेराको सूलीबाट जन्मिएको थिएन
र अध्यारै गुफामा अस्ताउनेवाला पनि छैन
अध्यारोमा हुर्कदा–बढ्दा
ठोक्की नै रहन्छ देश
गुफाका तिखा किनाराहरुमा
आज फेरि ठोक्कीयो
यसमा के अचम्म !

हिमालमूनीको बस्तीको ढाड कुल्चिएर
तिमी चर्को स्वरमा गाइराख
चाश्नीजस्तो गुलियो ‘लोकतन्त्र’को गीत
बुद्धको हातखुट्टा र मगज बाँधेर
बेच उसैको मूर्ती र फलाकिराख
राष्ट्रियताको हाइब्रिड परिभाषा
म भने कुटो लिएर हातमा
खोतलीरहन्छु
मेरो प्रदेशभित्रै गाडिएको मेरै हाडखोर ।

पुच्छरबाट भएर ढाडसम्म
र ढाडदेखि टाउकोसम्म बग्नुपर्ने देश
केवल उही टाउकोभित्र नै रुमल्लिरहेछ
र आफैलाइ कन्याइरहेछ शताब्दीऔदेखि
म अब टाउकोबाटै चोख्याउन चाहन्छु मेरो देशलाइ
र रोप्न चाहन्छु चोमोलुङ्माको सर्वोच्च शीर
तिमी घोकाइराख
उही बाँसी दिव्योपदेश
र बटारीराख घिनलाग्दो तिम्रो जुँगा
म भने रोपेर खुट्टामा काडाँदार जुत्ता
चढिरहन्छु नयाँ खोज–शीखरमा ।

म आज आधा गाडिएको छु
जरुर गाडिएको छु
तर जति गाडिएको छु
त्यति नै उक्लीएको पनि छु
त्यति नै उम्लीएको पनि छु
नघोच मेरो अनुहारभरी
र नजिस्काउ मलाइ
म पोखिउला यो सडकभरी
र तेजाबको रुख उम्रेला चोक–चोकमा
के तिमी दाडिमजस्तै गरी चपाउन सकौला मलाई ?
तेजाबका फूलहरुलाई ?
(२५–०९–०७०)

1 comments (Click here to Comment):

Anup Shakya said...

nice. attractive. made me keep reading again and again and again.

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |