क्यान्डीलका टुक्राहरूजस्तै गरी
म पनि फ्याकिन सक्छु एकदिन
जीन्दगीका डस्टविनहरूमा ।
पानी पर्नु
र मान्छे जन्मनु
कुनै विशेष रहेन अब
यो जिन्दगीको निरन्तर दौडाइमा ।
कि दौडदा-दौडदै सडकको पेटीबाट
फेर्न सकु लामो सास
बिसाउन सकु केहीबेर
र मेरो जन्मदिनको बहानामा
बनाउन सकु एउटा शीतल छहारी,
एउटा प्रतिक्षालय
जहाँ कुद्दै गरेका मान्छेहरू
आफु मान्छे भएको चाल पाउन
बस्नेछन् केहीबेर ।
बनाउनेछु एउटा सानो मन्दीर
जहाँ सजाउनेछु म मेरै इश्वरलाइ
मलाइ जन्म दिने मेरी आमाको
हँसिलो तस्वीरलाइ ।