दोबाटोमा उभिएर

गिन्ती गर्दैछु जीवनका चोरबाटाहरु
यो दोबाटोमा उभिएर ।

म आएको सडकको कालो पाप्रो उप्काएर
सोध्न मन लागेको छ
कति भयो दुख्न थालेको ?
कति भयो हाँस्न छाँडेको ?

आकाशको परेलीमा जथाभावी कोतरेर
पार्न मन लागेको छ
एउटा ठूलो झरी
जोसँगै म बग्न सकु
कहि, कतै
कतिञ्जेल रहन सकुँला र म ?
यो दोबाटोमा उभिएर ।

म यत्तिकै अल्झिएको होइन यहाँ
मेरो यात्राको पनि आफ्नै कथा छ
जुन ‘एकादेश’ बाट शुरु हुदैन
किनकी मेरो देश
अझै ‘एकादेश’ बनेकै छैन ।

मेरो कथामा म शुरु हुन्छु
एउटा अन्तहिन डुबानबाट
जहाँ केवल पानी नै पानी छ
र म तैरिरहेछु कमलको पात बनेर
मञ्जुश्रीको तरवार बैशाखी लिई
जमिनमा उभिन सिक्छु एकदिन
र शानसँग शीर ठाडो पार्दै
फैलिन्छु स्वयम्भुको डाडोसम्म ।

तर चढ्दाचढ्दै उकालो
मनाउदा–मनाउदै उत्सव
काटिन्छु म अध्यारो झ्याङमा
र डोको भरेर चढाइन्छ
मेरो ओठ र नाक
एउटा पागल भाकलको लागी ।

आज खोज्दै गर्दा हराएको मेरो ओठ
अर्कैको ओठले घोषणा गर्छ
यो ‘नहराएको सूचना’
छाम्दै गर्दा ताँछिएको मेरो नाक
अर्कैले लाउछ नताछिएको लाहाछाप
यो ताछिएकै सम्म नाके मैदानमा
मलाइ नै पढाइन्छ
मेरो अर्कै इतिहास
र लुकाइन्छ मेरा आशुहरु
कुनै अध्यारो इनारमा ।

आज म आफै बामे सर्दैछु फेरि
र सोच्दैछु अबको यात्राबारे
यो दोबाटोमा उभिएर ।

यहाँ पुग्नलाइ
हिडिसकेछु अनेकौ बाटो
घुमिसकेछु अनेकौ घुम्ती
आएकै बाटोमा फर्किने
अब साहस छैन यी पैतलामा
अब त केवल हिड्नुछ अगाडि
कि दाया, कि बाया
म रोज्दैछु आउदो बाटो
या भनौ रोज्ने कोसीस गर्दैछु
यो दोबाटोमा उभिएर ।

घरि कुनै बच्चाजस्तै बनेर
उफार्न मन लाग्छ एउटा पुरानो सिक्का
‘हेड’ आए दाया
‘टेल’ आए बाया
घरि गन्ती गर्न मन लाग्छ अङ्कहरु
‘इन्फीनिटी’ सम्म
ता कि त्यसैको बहानामा
आराम गर्न सकुँ
थप केहीदिन ।

यो दोबाटोमा
छैन रै‘छ कुनै चौतारी
छैन रै‘छ कुनै विश्रामस्थल
बरु रै‘छ त केवल उजाड अवशेष
र ढुँगैढुँगाले बनेको
एउटा अतृप्त ‘मिराज’
जहाँ झुक्कीएर आउछन् केही चराहरु
र उड्छन् माथी–माथीबाटै
म जस्तै गरेर ।

यहि अल्झिरहने हो भने
म पनि हुन सक्छु शिकार
कसैको गुलेलीको
या आफ्नै हिनताको
झस्कीदै सोचिरहेछु
सोच्दै झस्किरहेछु
यो दोबाटोमा उभिएर ।
(१३–११–२०७०)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |