दसै

बेकारमा फुरुङ्ग छन् नानीहरु  
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही नमीठा धुनहरु 
र दात नमिलेको अनुहारमा 
फेरि टुक्रुक्क बस्छ उदासी । 

दसैमा सरकार चङ्गा उडाउछ 
सिंहदरबारको छतमा उक्लेर 
र लट्टाइ बनाउछ 
गरीबको घाटी 
दसैमा बडाहरु सुटकेसमा जमरा रोप्छन् 
र दिनदिनै सिञ्चन्छन् सानाहरुको आसुले 
दसैमा मुछिन्छ अक्षता र दही 
अनी हासेकाहरुको निधार अझ चम्काइन्छ 
रोएकाहरुको मुख अझ टालिन्छ । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँगै आउछन् केही बुढा उखानहरु 
र बढ्छ दशाको क्षेत्रफल पनि । 

ठूला घरहरुका लागी 
दसैबारे फेरि लेखिन्छ गर्वित निबन्ध 
फेरि कोरिन्छ नया कविता 
फेरि छापिन्छ प्रमूख समाचार 
कवि हुन् या पत्रकार 
या बडे चिन्तकहरु 
गाउछन् दसैको गीत 
भट्याउछन् दसैको जिङ्गल । 

उता कुनातिर, झुपडितिर 
दसै आउछ (?) र नमीठो मजाक गर्छ 
साथमा केही उपहार पनि बाड्छ 
– नया कलम, मसी रित्तिएको 
– नया कापी, पाना सिद्धिएको 
– नया औषधी, मिति गुज्रिएको । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही गोप्य भाकलहरु 
र चढाइन्छ बली कलीला सपनाहरुको । 

तर पनि दसै आफैमा महान नै छ 
दसै नै उत्कृष्ट मानक हो यो देशको 
किनकी दसैमा ठ्याक्कै छुटिन्छन् 
ठूलाहरु र सानाहरु 
बली चढाउनेहरु र बली चढ्नेहरु । 
(असोज ८, २०७१)

आत्मकथा

म चाहन्छु
आइदियोस सानो हावा
पसिदियोस् यो पातलो गातामूनी
र पढिदियोस् मेरो पनि आत्मकथा ।

म बेनाम

जो हराएको छु दशकदेखि
यो जङ्गलको भुल्भुलैयामा
भेटेको छैन कुनै अर्को मान्छे
र थाहा पनि छैन
यो जङ्गलबाट निस्कने बाटो, छ वा छैन ।

म झोलुँगामा निदाएको बेलामै

आएथ्यो एउटा हुरी
र सुनाएथ्यो–
यो जङ्गलमा छ ब्युँझने ओखती
यो जङ्गलमा छ
झोलुँगादेखि मुक्तिसम्मको अचुक बाटो
यहि जङ्गलबाटै हिडेर चाल पाउनेछु मैले
किन आत्महत्या गरे मेरा बाआमाले
मलाइ यो झोलुँगामा एक्लै छाडेर ?
किन कोही मजस्ताले
देख्न पाउदैनन् आनन्दी उज्यालो ?
बरा !
सब झुठो बोलेको रैछ हुरीले ।

आखीर मेरो काँध चढेर

कटिगयो हुरी यो जङ्गलबाट
र भन्यो–
तिमी खोज्दै गर्नु
आफै आफ्नो बाटो ।

हिड्दाहिड्दै यो जङ्गलमा

म चाहन्छु
भेटियोस् कुनै नदी
र बगाइजाओस् मलाइ
जर्सापको मात्र आत्मकथा गुन्गुनाउन छाडी
रुझाओस् मेरो पनि चेहरा
र कम्तीमा पढिदियोस्
मेरो पनि आत्मकथा ।

भौतारिदा भौतारिदै यो जङ्गलमा

उम्रीसकेछ मेरो–
घोगाकोजस्तो लामो जुँगा
लहराजस्तो कपाल
र सुइरोजस्ता नङ
यो जङ्गली स्वरुपमा उस्तै देख्छु म–
हुरीका बतासे कुरा र जर्सापको खूनी आत्मकथा ।

भो चाहिदैन अब यो ‘जङ्गलको सौन्दर्यशास्त्र’

जहाँ वर्षौ भयो
मैले आफ्नो लागी स्वास लिन नपाएको ।

आज यतिखेर

औधी याद आएको छ मलाइ
मेरो झोलुँगाको
कम्तीमा त्यहि झोलुँगाको पासो बेरेर
भेट्न त सक्थे म, मेरा बाआमालाइ
र आफै सोध्न सक्थे–
‘कहाँ हरायौ जीवनको लालपुर्जा ?
म खोजीदिउ ?’
अब त त्यो बाटो नी बन्द भैसक्यो
सायद, अर्को दशकौसम्म ।

म चाहन्छु

आइदियोस् कुनै शिकारी
र मृग सम्झेर
हानीदियोस् मलाइ पनि वाण
तर यहि बहानामा
कम्तीमा पढिदियोस्
मेरो पनि आत्मकथा ।
(भाद्र, ०७१)