एकदिन घर बस्दा

वर्षाैपछि
वर्षाै वर्षाैपछि
एकदिन घर बस्दा
चाल पाइन्छ
जिन्दगीकाे असली चाल ।

गमलाभरी फूलिसके रहेछन् रङ्गीबिरङ्गी फूलहरू
बारीमा मगमगाउदाे रैछ ममीले लगाएकाे धनिया
भतिजी अाफुजत्तिकै अग्ली भैसकेकि रहेछ
अामाकाे अाधा कपाल फूलिसकेकाे रहेछ
लट्टाइकाे सेताे धागाेजस्तै गरी ।

न कुनै मुग्लानबाट अाजै फर्केकाे हु
न कुनै सपनाबाट अचानक ब्युझेकाे हु
दिनदिनै त अाउजाउ गरिरहन्छु
अाफ्नै घरमा, गेस्ट हाउस जस्ताे गरी ।

बल्ल बुझ्दैछु
किन अाउनुहुन्छ ममी मेराे रूमसम्म अाइरन गर्ने बहानामा
किन चियाइरहनुहुन्छ ड्याडी अाधा खुलेकाे ढाेकाबाट

बल्ल बुझ्दैछु
किन रिसाउछिन मेरी माया फाेन नउठाएकाे भन्दै
किन सुनाइरहन्छन् साथीहरू 'त ठूलाे भइस' भनेर

हिड्दा हिड्दै
दाैडदा दाैडदै
बिहानदेखि बेलुकासम्म
बिर्सिसकेकाे रहेछु
कसका लागी हिड्दै छु
कसका लागी दाैडदै छु ।

याे शहर
दाैडाइरहन्छ सपनाकाे म्याराथाेनमा
दिनदिनै मलाइ
अाफ्नै अात्माबाट टाढातिर ।
(२०७३-१२-३१)

0 comments (Click here to Comment):

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |