(नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयद्धारा प्रकाशित 'मिर्मिरे', आर्थिक विशेषाङ्क (२०७६ माघ-२०७७ असार) बाट साभार)

नेपाल राष्ट्र बैंक ऐन २०५८ आउनु पूर्व नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंक रुपमा स्वायत्त देखिएतापनि सारमा सरकारको प्रत्यक्ष अन्तर्गतमा रही सरकारको एउटा अंगसरह नै कार्यसम्पादन गर्दै आएको थियो । स्थापनाकालदेखि सो समयसम्म वित्तीय क्षेत्रको जति पनि नियमनकारी भूमीका खेल्न खोजेपनि सो त्यति प्रभावकारी बन्न सकेको थिएन । अन्तर्राष्ट्रिय परिवेश र दबाबपछि बल्ल नेपाल राष्ट्र बैंक ऐन २०५८ आयो र तबपश्चात नेपाल राष्ट्र बैंक पनि एक स्वायत्त केन्द्रिय बैंकको रुपमा प्रभावकारी हुदै गएको सर्ववितितै छ । यो ऐन नै नेपाली समग्र अर्थतन्त्र र वित्तीय स्थायीत्वका लागी कोशेढुँगा सावित भयो र नेपालमा पनि वित्तीय क्षेत्र झन–झन संस्थागत र विश्वसनीय बन्दै गयो । पछिल्ला केही दशकमा वित्तीय क्षेत्रले जे जति सकारात्मक परिमार्जन, विकास र प्रगती गर्दैछ, त्यसमा मूख्यतः नेपाल राष्ट्र बैंकको भूमिका रह्यो भने नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको रुपमा स्वायत्त तवरले कार्य गर्न सक्नु पनि प्रमूख कारक रह्यो ।

संसारभरका केन्द्रिय बैंकहरु र सम्बन्धित देशको वित्तीय स्थायित्वलाई तथ्यगत हिसाबले तुलना गर्ने हो भने तीनै देशहरुमा बढी वित्तीय स्थायित्व र अनुशासन छ, जून देशका केन्द्रिय बैंकहरु बढी स्वायत्त छन् । समग्र अर्थतन्त्रलाई सहि दिशामा चलायमान गर्न र वित्तीय क्षेत्रमाथी आम जनमानसमा विश्वास जगाउनु नै वित्तीय स्थायित्वको मूख्य मानक हो । वित्तीय स्थायित्व नहुने हो भने आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थालाई पत्याउन छोड्छन् , ती बैंक तथा वित्तीय संस्थामा बचत राख्न छोड्छन्, भएको पनि झिक्छन् र समग्र बैंक तथा वित्तीय संस्थामा बैंकिङ दौड (Bank run) शुरु हुदै अर्थतन्त्रका तमाम क्षेत्रहरुमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले नकारात्मक असर पर्न थाल्छ । फलस्वरुप समग्र अर्थतन्त्रले नै घुँडा टेक्नुपर्ने हुन सक्छ । तसर्थ केन्द्रिय बैंकले लिने नितिले वित्तीय स्थायित्वलाई नै प्रमूख उद्देश्य बनाएको हुन्छ र सो प्राप्त गर्नका लागी केन्द्रिय बैंकको स्वायत्तता प्रमूख सर्त हुन जान्छ ।

वित्तिय निति र मौद्रिक नितिबिचको ‘शक्ति सन्तुलन’

सरसर्ती साधारण नजरले हेर्ने हो भने सरकारले जारी गर्ने वित्तीय निति र केन्द्रिय बैंकले जारी गर्ने मौद्रिक नितिका कतिपय उद्देश्यहरु एउटै पनि देखिने गर्छन् । तर मौद्रिक निति मूख्यतः वित्तीय स्थायीत्वको लागी अग्रसर हुने गर्दछ भने सरकारले जारी गर्ने वित्तीय निति चाहि समग्र अर्थतन्त्रको आर्थीक वृद्धि र विकासलाई मूख्य उद्देश्य बनाएर जारी हुने गर्दछ । सरकारले जारी गर्ने वित्तीय नितिमा समग्र अर्थतन्त्रको आकार कसरी बढाउने, कसरी पूजीगत खर्च बढाउने, कसरी रोजगारीको थप सृजना गर्ने, आवश्यक स्रोतसाधनहरुको व्यवस्थापन र बाँडफाड कसरी गर्नेजस्ता कुराहरु समेटिएका हुन्छन् । केन्द्रिय बैंकले जारी गर्ने मौद्रिक नितिमा चाहि समग्र अर्थतन्त्रमा हुने आर्थीक गतिविधिलाई मुद्रा, बैंकिङ सेवाद्धारा सहजिकरण गर्दै त्यसबाट पर्न सक्ने प्रभावलाई बेलैमा आकलन गरी मुद्रास्फ्रिती, मुद्रा आपूर्ती तथा ब्याजदरलाई सीमा भित्रै राख्नु र समग्र वित्तिय क्षेत्रमा हुनसक्ने जोखिम न्यूनिकरणका लागी मौद्रिक उपकरणहरुलाई सहि तवरले कसरी परिचालन गर्ने भन्ने जस्ता कुराहरु समेटिएका हुन्छन् । यसको मतलब सरकार आर्थीक वृद्धिका लागी जति पनि खर्च गर्न तर्फ लाग्छ, अझ चरम घटना वा उदाहरणहरु हेर्ने हो भने त जति चाहियो त्यति मुद्रा छाप्न लगाएर भएपनि खर्च गर्न तयार हुन्छ । अर्कोतर्फ केन्द्रिय बैंकले अर्थतन्त्रको समग्र आकार र देशको समग्र आन्तरिक तथा बाह्य सम्पति तथा उत्पादनले धान्ने सम्म मात्र मुद्रा छाप्ने र बजारमा सो अनुरुप मुद्रा पठाउने तथा नियन्त्रण गर्ने गर्दछ । रुपमा केही उद्देश्यहरु मिल्न गएको देखिएतापनि सारमा वित्तिय निति र मौद्रिक नितीले एक अर्काको ‘आर्थीक शक्ति सन्तुलन’ को कार्य गर्ने गर्दछन् ताकी आर्थीक वृद्धि पनि हासील होस् र वित्तिय स्थायित्व पनि कायम रहोस् । यदि केन्द्रिय बैंक स्वायत्त नहुने हो र आर्थीक शक्ति सन्तुलन तथा अनुशासनमा खलल पुग्ने हो भने अर्थतन्त्रले धान्नै नसक्ने गरी वित्तीय स्थायित्वमा दुर्घटना हुने पनि उत्तिकै सम्भावना हुन्छ । संसारमा यस्ता थुप्रै आर्थीक संकट या भनौ आर्थीक दुर्घटनाका उदाहरण छन् जून ‘आर्थीक शक्ति सन्तुलन’ को अभावले भएका छन् । जिम्बाब्बेको घटना होस् या भेनेज्वयलाको संकट, केन्द्रिय बैंकले स्वायत्त तरिकाले काम गर्न नसक्दा अन्तत्वः अर्थतन्त्र दुर्घटनामा जाने सम्भावना प्रबल हुन्छ ।

जवाफदेहिताको सवाल

पछिल्लो पटक बढी उठ्दै गरेको विषय भने नेपाल राष्ट्र बैंक अर्थात केन्द्रिय बैंकको जवाफदेहिताको हो । सरकार संसदप्रति, संसद जनताप्रति जवाफदेही भएजस्तै केन्द्रिय बैंक पनि कोही न कोही प्रति किटानीका साथ जवाफदेही हुनुपर्दछ भन्ने आवाज पनि एकातिर उठिरहेको छ । केन्द्रिय बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत सुशासन लगायतका कुराहरुमा लगाम लगाइरहदा आफू पनि कतै न कतै त बाधिनुपर्छ भन्ने विषय पनि नउठेको होइन । पक्कै पनि केन्द्रिय बैंक सदैव जवाफदेही स्वायत्त संस्था हो र यसले आजका मितिसम्म समग्र निति, कानुन तथा आम सर्वसाधारणको आकांक्षा तथा राज्यको कानुनी व्यवस्थाको अधिनमा रही केन्द्रिय बैंकले गर्नु पर्ने कार्यहरु कुशलताको साथ पूरा गरिरहेकै छ । पछिल्ला केही दशकहरुको विकासक्रमलाई राम्ररी केलाउने हो भने आम जनताले पनि बुझ्ने कुरा के हो भने नेपालमा सबैभन्दा व्यवस्थित तथा विकसित क्षेत्र भनेको बैंकिङ क्षेत्र हो र सो क्षेत्रलाई झन झन सबल, संस्थागत र विश्वसनीय बनाउन नेपाल राष्ट्र बैंकले सदैव जिम्मेवारीपूर्वक प्रमूख भूमिका खेलेको छ । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंकको रुपमा क्रमशः झन झन जिम्मेवार हुदै अन्तर्राष्ट्रिय रुपले स्विकारिएका निति नियम तथा मापदण्ड अनुसार नै विकसित हुदै गइरहेको छ र नेपालका समग्र बैंक तथा वित्तीय संस्थाहरुको नियमक संस्था तथा सुपरिवेक्षकको भूमीकामा आफूलाई निरन्तर परिस्कृत पनि गर्दै गइरहेको छ । ‘स्वायत्तता’ र ‘जवाफदेहिता’ लाई एउटै परिभाषाको रुपमा बुझिदा केही अपमन्जस्यता भने पक्कै पनि देखिन गएको छ । जवाफदेहिताको नाममा अन्तर्राष्ट्रिय रुपले अंगीकार गरिएका स्वायत्तताका अंग तथा उपकरणहरुलाई खारेज गर्न खोज्नु पक्कै पनि उचित हुदै होइन । अर्कोतर्फ स्वायत्तताको साथसाथै समग्र आम जनता र जनताका प्रतिनिधिहरुप्रति सदाझै जवाफदेही भई कुशलताका साथ कार्यसम्पादन गरिरहनु पक्कै पनि स्वायत्तताका लागी परिपूरक नै हुन जान्छ । तर स्वायत्तता र जवाफदेहीतालाई एउटै विषयको रुपमा हेर्नु वा जवाफदेहिताको नाममा स्वायत्तताको आधारभूत सिद्धान्तहरुमै प्रहार गरिनु चाहि पक्कै पनि समग्र वित्तीय क्षेत्रको स्थायीत्वका लागी सकारात्मक संकेत हुन सक्दैन ।

वित्तिय प्रणालीप्रतिको जनविश्वास

सन् २००७/८ पछि विश्वभर देखिएको आर्थीक मन्दीको सबैभन्दा ठूलो पाठ भनेकै वित्तीय स्थायीत्व कायम गर्न केन्द्रिय बैंकले समयमै हस्तक्षेप गर्नुपर्ने रहेछ भन्ने पनि हो । अन्यथा आर्थीक दुर्घटना भयावह हुने देखियो । यसका लागी केन्द्रिय बैंक झन–झन सुदृढ र बलियो बन्नुपर्ने रहेछ भन्ने कुराको अझ बढी अनुभूती संसारभर भयो । भविष्यमा वित्तीय क्षेत्रमा आउन सक्ने खराब परिस्थितीलाई वैज्ञानिक तरिकाले आकलन गर्ने र सजिलो अवस्थामा नै खराब अवस्थाको लागी पूजी लगायत अन्य कुराको जोहो गर्नुपर्ने भन्ने कुरा विश्वव्यापी रुपले स्वीकार्य हुन पुग्यो । त्यही पाठको फलस्वरुप बासेल कमिटिले वित्तीय स्थायित्वलाई प्रमूख उद्देश्य मान्दै सबै केन्द्रिय बैंकहरुलाई सोको लागी बासेल ३ को रुपमा बृहत मार्गदर्शन प्रस्तुत ग¥यो । हुन त त्यो भन्दा अघि लागु हुदै आएका बासेल १ र बासेल २ मा पनि यी विषय नसमेटिएका होइनन् तर अघिल्ला प्रतिवेदनहरुमा वित्तीय मूल्य (जस्तैः ब्याजदर, मुद्रास्फ्रिती इत्यादी) नियन्त्रण लाई प्रमूख एजेण्डा मानिएको थियो । बासेल ३ को कार्यान्वयन चरणमा रहेको हामीले पनि वित्तीय स्थायित्वलाई कायम गर्न र आम सर्वसाधारणको बचतको ग्यारेण्टी, अझ प्रमूखतः आम जनमानसमा समग्र वित्तीय क्षेत्रमाथीको भरोशा कायम गरि राख्नका लागी बासेल ३ का सिद्धान्त तथा उपकरणहरु अझ घनिभूत रुपले प्रयोग गर्दै जानु झन झन आवश्यक हुदैछ । 

बासेल ३ का सिद्धान्त तथा उपकरणहरु कार्यान्वयन गर्दै गर्दा कतिपय कुराहरु आफ्नो देश र अवस्था अनुरुप पनि फरक भने पक्कै हुन सक्छ । केन्द्रिय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकले कतिपय निति निर्देशनहरु हाम्रो भूराजनितिक परिवेश अनुरुप फरक पनि गर्दै आइरहेकै छ । कतिपय परिपत्र आउन नपाउदै बैंक तथा वित्तीय संस्थाका जिम्मेवार व्यक्तित्वहरुले सरकारले नै हस्तक्षेपकारी भूमीका खेल्दियोस भन्ने आशयका साथ अनावश्यक दबाब दिने हो भने त झन नकारात्मक सन्देश जान सक्छ । वित्तीय स्थायित्वका लागी दिर्घकालिन महत्वको कुनै नया परिपत्र जारी हुनासाथ दबाब समूहले हस्तक्षेप गर्न थाल्ने हो भने समग्र दिर्घकालिन वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वमा प्रश्न उठ्न थाल्छ । त्यसैले पनि नेपालको केन्द्रिय बैंक पहिलाभन्दा अझ बढी स्वायत्त र सबल हुदै विश्वमा हाल रहेको उच्चतम मापदण्ड अनुसार बढ्नु झन आवश्यक देखिएको छ । हाम्रो केन्द्रिय बैंकिङ प्रणालीलाई नजिकबाट नियालिरहेका अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाहरुले पनि यी कुराहरुलाई प्राथमिकता दिने गर्दछन् । यदि यो प्रणालीमा हामी कहि कतै चुक्यौ भने विश्वको समग्र वित्तीय प्रणालीले नै हामीसँग सम्बन्ध विच्छेद गर्ने अवस्था आउन सक्छ र त्यसको परिणाम झन भयावह हुन जान्छ । हाम्रा बैंक तथा वित्तीय संस्थाहरुले अन्तर्राष्ट्रिय रुपले जारी गरेका वित्तीय उपकरणहरु नै अमान्य हुन जान्छ र हाम्रो पूरै वित्तीय प्रणलीप्रतिको आम जनविश्वास ध्वस्त हुन जाने खतरा हुन्छ । त्यसैले पनि केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई जोगाइराख्नु र वित्तीय क्षेत्रको स्थायित्वको लागी अझ संवेदनशील हुनु झन झन आवश्यक हुदै आएको छ ।

राजनितिक शक्ति र वित्तिय स्थायित्व

सरकार भनेको आम जनताले चुनेका जनप्रतिनिधिहरुले नै बनाएको सर्वोच्च कार्यकारी निकाय हो । आम जनता, सम्पूर्ण निकायहरु तथा सम्पूर्ण संघसंस्थाहरुको सबैभन्दा ठूलो अभिभावक संस्था भनेकै सरकार हो । नेपाल राष्ट्र बैंक अर्थात नेपालको केन्द्रिय बैंकको पनि सर्वोच्च अभिभावक संस्था नेपाल सरकार नै हो । आम जनताको आवश्यकता तथा राष्ट्रको हितमा योजना बनाउने तथा कार्यान्वयन गर्नु नै सरकारको कर्तव्य हो । दुरदराजसम्म विकास तथा आर्थीक सम्पन्नता पु¥याउनु र विकासको मूलप्रवाहमा सबैलाई समेट्नु नै उसको मूल उद्देश्य हुन्छ । त्यसैले सरकारले आम जनताको हितमा ल्याउने अभियानहरुमा वित्तीय क्षेत्रमार्फत हरसम्भव सहयोग गर्नु केन्द्रिय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकको पनि कर्तव्य हो, यो कर्तव्य पनि हामीले कुशलताका साथ निभाइरहेकै छौँ । अर्कोतर्फ सरकार भनेको शक्ति सञ्चय गर्ने सर्वोच्च निकाय पनि हो । सामान्यतया हाम्रो जस्तो लोकतान्त्रिक देशमा आवधिक आम चुनाव मार्फत यो शक्ति आर्जन गर्ने विश्वव्यापी परम्परा र प्रक्रिया छ । आम चुनाव आफैमा अर्थतन्त्र सबैभन्दा बढी चलायमान हुने, अत्याधिक आर्थीक गतिविधिहरु हुने बेला पनि हो । यसबेला शक्तिमा रहेका राजनितिक दलहरुले सकेसम्म धेरैभन्दा धेरै प्रत्यक्ष वा अप्रत्यक्ष खर्च गर्ने गर्दछन् । यो बेला हुन सक्ने अस्वाभाविक मुद्रास्फ्रिती तथा पैसाको माग¬ तथा आपूर्ती बिच आउन सक्ने असन्तुलन लाई व्यवस्थापन तथा समन्वय गर्ने जिम्मा भने केन्द्रिय बैंकको हो । राजनितिक दल वा सरकारका प्रतिनिधिहरु बढी भन्दा बढी पैसा बजारमा पम्प गरेर भएपनि आफ्नो ध्येय पुरा गर्न चाहन्छन् भने अर्कोतर्फ केन्द्रिय बैंक चाहि अर्थतन्त्रको सहि आकार अनुसारको मौद्रिक अनुशासन कायम गर्दै मुद्रास्फ्रिति वा महँगीलाई स्वीकार्य तहमा राख्न चाहन्छ । यदि केन्द्रिय बैंक स्वायत्त नहुने हो भने यस्तो बेलामा सरकारले आर्थीक स्थायित्वमा जुवा खेल्न सक्ने सम्भावना समेत हुन सक्छ, फलस्वरुप दुरगामी रुपले अर्थतन्त्रलाई उठ्नै नसक्ने गरी घुँडा टेकाउन सक्छ । त्यसैले पनि केन्द्रिय बैंकको पूर्ण–स्वायत्तता र सरकारको प्रत्यक्ष बागडोर भित्र केन्द्रिय बैंकलाई राख्न नहुने तर्क विश्वव्यापी रुपले मान्यताप्राप्त छ । 

वित्तिय र मौद्रिक निति बिचको सैद्धान्तिक टकराव 

नेपालको सन्दर्भमा भन्नुपर्दा सामान्यतया सरकारको वित्तीय निति आएपछि सोही नितिलाई अधिकतम तहमा समर्थन र सहयोग गर्ने गरी केन्द्रिय बैंकको मौद्रिक निति पनि जारी हुने गर्दछ । संसारभर सबैजसो मुलुकमा सामान्य अवस्थामा यहि नै हुने गर्दछ । सैद्धान्तिक रुपले यस सन्दर्भमा दुईखाले धारणाहरु भने देखिएका छन् । पहिलो धारणा अनुसार सरकारले जारी गरेको वित्तीय नितिले अंगीकार गरेका मूख्य मूख्य उद्देश्यहरु जस्तैः आर्थीक वृद्धि, रोजगारी इत्यादि प्राप्त गर्नका लागी के कति मुद्रा आपूर्ती आवश्यक छ, मुद्रास्फ्रिति कति हुनु पर्दछ इत्यादि अनुसन्धान गरेर सोही अनुकुल हुने गरी केन्द्रिय बैंकले मौद्रिक निति जारी गर्नुपर्दछ । यो धारणा अनुरुप सामान्यतया वित्तीय निति र मौद्रिक निति एकअर्काका पर्याय जस्तै देखिन्छन् । अर्थात सरकारले खुकुलो वित्तीय निति जारी ग¥यो भने केन्द्रिय बैंकको मौद्रिक निति पनि खुकुलो नै आउने र यदि सरकारले वित्तीय नितिलाई अलि कस्ने गरी ल्याउने हो भने केन्द्रिय बैंकले पनि कसिलो मौद्रिक निति जारी गर्ने गर्दछन् । अर्को वा दोस्रो सैद्धान्तिक धारणा भने पहिलो धारणाको ठिक विपरित छ । दोस्रो धारणाले के भन्दछ भने सरकारले आर्थीक वृद्धिका लागी जथाभावी दौडदा त्यसले मुद्रास्फ्रिती, महंगी लगायतमा दबाब परिरहेको हुन्छ, त्यसलाई व्यवस्थापन गर्ने जिम्मा भनेको केन्द्रिय बैंकको हो, त्यसैले जब सरकारले खुकुलो वित्तीय निति जारी गर्दछ, तब वित्तीय अनुशासन र स्थायित्वको लागी केन्द्रिय बैंकको भूमिका भनेको अलि कसिलो वा सरकारको मौद्रिक नितिभन्दा कम खुकुलो मौद्रिक निति जारी गर्नु हो । अर्कोतर्फ यदि सरकारले खासै पूजीगत खर्च गर्ने लक्षण देखाएको छैन, आर्थीक रुपले संकुचन आउन सक्ने देखिएको छ भने जनताको हात हातमा खुकुलो गरी अलि बढी पैसा आपूर्ती गर्ने हो भने समग्र बजारको संयुक्त माग बढ्न गई अन्तत्वगया आर्थीक समृद्धिलाई नै टेवा पु¥याउने गर्दछ । यो दोस्रो धारणा सामान्यतया असामान्य परिस्थितीहरुमा मात्र लागु हुन सक्ने हुदा सदैव त्यति व्यावहारिक नहुन सक्छ । तर यसबाट के सिक्न सकिन्छ भने वित्तीय नितिलाई सहयोग गर्दै गर्दा आर्थीक सन्तुलन तथा वित्तीय स्थायित्वका खातिर केन्द्रिय बैंकको आफ्ना केही छुट्टै अडानहरु हुन जरुरी छ ता कि वित्तीय नितिले ल्याउन सक्ने वित्तीय विचलनलाई समयमै मौद्रिक नितिले सन्तुलनमा ल्याउन सकोस्। यसका लागी पनि केन्द्रिय बैंक स्वायत्त हुनु जरुरी छ । नत्र भने सरकारको वित्तीय नितिको बैशाखी मात्र हुन सक्ने तर आर्थीक संकटको भेल आउदा सरकारलाई र सिँगो देशलाई बचाउन नसक्ने अपजस पनि मौद्रिक निति तथा केन्द्रिय बैंकले नै व्योहोर्नुपर्ने हुन्छ । 

भोली आउन सक्ने वित्तीय अस्थीरता केवल बैंकिङ क्षेत्रमा मात्र आउदैन । नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रभित्र नपर्ने पनि थुप्रै आर्थीक क्षेत्रहरु छन् । सहकारी, बीमा, सञ्चय कोष, नागरिक लगानी कोष इत्यादिको नियमन, सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्दैन । तसर्थ यी सम्बन्धित क्षेत्रमा पनि सहि आकलन र अनुशासन कायम गर्न बेलैमा सबल र सक्षम स्वायत्त नियमनकारी संस्था हुनु जरुरी छ । नत्रभने बैंकिङ क्षेत्र जति व्यवस्थित, स्थिर र अनुशासित भएपनि अन्तमा यी बाह्य तर अन्तरसम्बन्धित क्षेत्र तथा संस्थाहरुको कारणले कुनै न कुनै असर देखिन सक्छ । सम्बन्धित सरोकारवाला निकाय तथा सरकारले बेलैमा यस विषयमा पनि ध्यान पु¥याउनु आवश्यक छ । यी अन्य गैरबैंकिङ क्षेत्रको बढ्दै गएको आकार तथा बैंकिङ क्षेत्र तथा एक अर्का सँगको अन्तरसम्बन्धले गर्दा एक ठाउमा जोखिम आउदा अर्कोले पनि ब्योहोर्नुपर्ने हुन सक्छ । २००७/८ को विश्व आर्थीक मन्दि पनि शुरुमा गैरबैंकिङ क्षेत्रबाट शुरु भई पछि विश्वव्यापी रुपले बढेको ताजा उदाहरण छदैछ । यसकारण पनि यस विषयमा सम्बन्धित सबै सरोकारवालाको ध्यान जान जरुरी छ । 

अन्त्यमा,

हामी के भन्न सक्छौ भने हाम्रो जस्तो कम कुल ग्राहस्थ उत्पादन रहेको र सम्पूर्ण सोतसाधनहरु पूर्ण उत्पादकत्वमा प्रयोग नभइरहेको मुलुकमा केन्द्रिय बैंकले जारी गर्ने मौद्रिक निति तथा अन्य नितिहरुले पक्कै पनि सरकारले जारी गर्ने वित्तीय निति तथा अन्य नितिहरुले अघि सारेका योजनाहरुमा पूर्ण साथ, सहयोग प्रदान गर्दै परिपूरकको भूमीका निभाउनै पर्दछ । यसो भनिरहदा अन्तर्राष्ट्रिय मूल्य मान्यता, अन्तर्राष्ट्रिय मुद्रा कोष, बासेल कमिटि लगायतका मार्गदर्शक सिद्धान्तलाई अंगीकार गर्दै मुलुकको वित्तीय स्थायीत्वको लागी नेपालको केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले सदाझै निष्पक्ष र अझ प्रभावकारी भूमीका खेल्नु पर्दछ । सो भूमिका प्रभावकारी ढँगले निर्वाह गर्न नेपाल राष्ट्र बैंकको स्वायत्तताको सवाल सबैभन्दा टड्कारो हुन्छ । यदि केन्द्रिय बैंक कमजोर हुने हो भने हाम्रो जस्तो अल्पविकसित देशको वित्तीय प्रणालीमा जोखिम उत्पन्न भई हुन सक्ने वित्तीय दुर्घटना निकै नै भयावह हुन सक्छ । नेपाल राष्ट्र बैंक २०५८ ले प्रत्याभूती गरेको स्वायत्ताले गर्दा नै आज नेपालको बैंकिङ क्षेत्र व्यवस्थित र परिस्कृत हुदै आएको छ । सरकारले जारी गर्ने वित्तीय नितिलाई सहयोग गर्ने गरी केन्द्रिय बैंकले पनि मौद्रिक निति जारी गरिरहदा कहिलेकाही असामान्य परिस्थिती आउन नदिन वित्तीय सन्तुलनको भूमीका पनि निर्वाह गर्नुपर्ने हुन सक्छ । सरकार वा शक्तिमा रहदा राजनितिक दलहरुले लिन सक्ने अल्पकालीन नितिले दुरगामी रुपले अर्थतन्त्रलाई नकारात्मक असर पार्न सक्ने स्थितीमा बजारको मुद्रास्फ्रिती तथा मुद्रा आपूर्तीलाई नियन्त्रणमा राख्न सक्नु पनि केन्द्रिय बैंकको अहम जिम्मेवारी हो । सन् २००७/८ को विश्वभर फैलिएको आर्थिक मन्दि लगायत अन्य थुप्रै परिघटनाहरुले पनि केन्द्रिय बैंकको स्वायत्त निर्णयाधिकारले मात्र ठूला ठूला जोखिमहरुको आकलन र व्यवस्थापन गर्न सक्ने देखाएको छ । तसर्थ समग्र वित्तीय क्षेत्रको स्थायित्वका लागी केन्द्रिय बैंकको पूर्ण–स्वायत्तता अपरिहार्य छ । साथसाथै आर्थीक वृद्धि, विकास तथा आम जनताको समृद्धिको सपना साकार गर्ने सरकारको पथमा हरसम्भव साथ दिदै जानु पनि सरकारको बैंक तथा देशको केन्द्रिय बैंकको रुपले नेपाल राष्ट्र बैंकको जिम्मेवारी हो । यहि जिम्मेवारीलाई जवाफदेहिताको रुपमा बुझेर अझ गम्भीर ढँगले देश निर्माणमा सबैजना एकजुट हुनु आजको आवश्यकता पनि हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण अभियानमा केन्द्रिय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकले पनि जवाफदेहिताका साथ अहम भूमिका निर्वाह गरीरहेको छ, र पक्कै पनि गरी नै रहने छ । वित्तीय क्षेत्रको दुरगामी विकास, तथा वित्तिय स्थायित्वको लागी नेपालको केन्द्रिय बैंक ‘नेपाल राष्ट्र बैंक’ले सदैव स्वायत्त तथा निष्पक्ष रुपले कार्य गर्न सक्ने वातावरण बनिरहनु अत्यन्त आवश्यक छ । 





मुक्तक-३७

बगैचाँमा मन डुलाए, फूलमाथी पाप गरे
धुलाेसँगै म विलाए, धूलोमाथी पाप गरे
कहाँ भेट्नु कसरी खै तिम्राेजति उचाइ मैले
जूनसँग नयन जुधाए, जूनमाथी पाप गरे

खुशी

सबै छलकपटभन्दा पर
सबै मुकुण्डाेहरूभन्दा पर
जीवन बग्दैछ भने
बाँच्दैछौ सही मानेमा  ।

घाँस काट्दाकाट्दै
फाइल बाेक्दाबाेक्दै
मजदुरी गर्दागर्दै
यसै हिड्दाहिड्दै
फक्रिन देउ ओठ
र थपिदेउ एउटा अबाेध मुस्कान
बिना कुनै कारण
बिना कुनै प्रशङ्ग 
हर गुनासोहरू भन्दा पर
हर आग्रहहरू भन्दा पर
जीवन बग्दैछ भने
बाँच्दैछौ सही मानेमा  ।

चाैरहरूमा दुबाे सँगसँगै
हाँगाहरूमा पालुवा सँगसँगै
पलाउछ हरक्षण खुशी
मात्र मुस्कुराएर हेर ।

खुशी हुनु न जीवन हुनु हाे  ।

यो झरी

यो झरी किन यति रिसाएको छ
सायद मेरो आँखा थप रसाएको छ

मनभित्र अध्यारो के गुफा होला
गहिरोगरी मुटुमा घर बनाएको छ

रहस्यहरू काँडा बनी घोचिरहन्छन्
हरबखत मलाई अचेत बनाएको छ

भविष्यले सायद देला उत्तरहरू
वर्तमानले प्रश्नै-प्रश्न तेर्साएको छ

गम्भीर लाग्थे आफ्ना सपना साथी
सपनाले आज बहुत हसाँएको छ

बाँच्नुछ अझै कति, अझै कति रमाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

शितलताको झरी छर्यौ
पत्थर थिए, देउता भए
मुस्कानको बत्ती बाल्यौ
अध्यारोमा झिलमिल बले
जिस्किएरै तिम्रो हात सधैभरी समाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

चरीजस्तै आकाशमुनी
सँगै धर्तीमाथी हामी
सयौ वर्ष, जुनी-जुनी
सधै जीवनसाथी हामी
इन्द्रेणीझै सपना छ, हर रङले सजाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

यो मनको तन्नामा

यो मनको तन्नामा अक्सर निदाउछु
म जे होइन त्यहि बताउछु

न हिजोको सम्झना, न बिहानी याद छ 
बस् छ जिन्दगी, रात-रातभर जाग्छ
कल्पनामा डुब्छु, धुँवामा हराउछु
म जे होइन त्यहि बताउछु

हत्केलामा खुशी अडेझै बस्छ
झन् बढी कस्छु, झन् बढी खस्छ
खै के-के अँगाल्छु, केसँग डराउछु 
म जे होइन त्यहि बताउछु

आफै-आफै

मेरो मान्छे छ आज टाढा कतै
मेरो नि दोष छ आधा जति

पाइलाहरू बढ्छन् आफै-आफै
म यात्रा रोजु-नरोजु
भेट्नेहरू भेट्छन् आफै-आफै
मनबाट खोजु-नखोजु

तिमि मबाट पर जादा उतै
मेरो नि दोष छ आधा जति

दुरी पो बढ्यो कि आफै-आफै
म तिमिलाइ सोधु-नसोधु
विश्वास ढल्यो कि आफै-आफै
म तिमिसँग बोलु-नबोलु

आज बुझे एक्लो हुँदा यतै
मेरो नि दोष छ आधा जति

मनको स्वरूप

न कसैले चित्रमा उतार्न सक्यो
न कसैले शब्दमा सार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

छालजस्तो आउछ, जान्छ, पानी त होइन
जताततै उडिरहन्छ, यो हुरी त होइन
न कसैले रहस्य उघार्न सक्यो
न कसैले मनलाइ मार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

कति चोटहरू दिन्छ, खुकुरी त होइन
कति चोटहरू लिन्छ, अचानो त होइन
न कसैले वशमा पार्न सक्यो
न कसैले नाता टार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

मुक्तक-३६

रात सुन्दर हुन त्यहा तारा जलेकाे हुन्छ
फूल मुस्कुराउछ जब हुरी चलेकाे हुन्छ
ढुँगादिलकाे भएपनि, मान्छे न हु म पनि
सुन्दर ताजमहल पनि पत्थरले बनेकाे हुन्छ

केहि आज, केहि भोली

पाउनुछ, गुमाउनुछ, केहि आज, केहि भोली
सबको मुल्य चुकाउनुछ, केहि आज, केहि भोली

दागहरू बाडिसक्यो समयले सबको भागमा
अलि-अलि लुकाउनुछ, केहि आज, केहि भोली

चोट पर्दा, याद बढ्दा, जे गर्दा, मन दुख्छ
मनलाइ अझै सताउनुछ, केहि आज, केहि भोली

आकाशमाथी, आकाशमुनि, म नै त हुँ, जता पनि
यहि झुट बताउनुछ, केहि आज, केहि भोली

जताततै भौतारेर आखीर मैले 'म' भेट्टाए
अब संसार भेट्टाउनुछ, केहि आज, केहि भोली

बगिरहन, चलिरहन ...

नदिजस्तै जिन्दगीको दुई किनारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

यादहरू, छालहरू, आइदिन्छ, गइदिन्छ
गहिराइमा मनलाइ डुबाई, बेहोशीमा लइदिन्छ
उत्रिनलाई, तैरिनलाई, कोहि सहारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

आँखाहरू, साँझहरू, ढलिदिन्छ, निदाईदिन्छ
डुबाएर सपनीमा, अँधेरीमा तड्पाइदिन्छ
निदबाट ब्युझिनुछ, मेरो बिहान भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

मुक्तक-३५

परेली बन्द हुनेछ, मन उडेर अत्तर बन्नेछ
तिम्राे नाम मुटुमा खाेपेर याे शरीर पत्थर बन्नेछ
रहिरहनेछ फूलहरू, रङहरू, यादहरू, पलहरू
म जलेपछि मात्र, मेरो जलन मत्थर बन्नेछ

मुक्तक-३४

मनकाे धुवा चीम्नी हुदै फुत्किन चाहन्छ
निष्फिक्री त्याे बादलसँग जिस्किन चाहन्छ
गुम्सीएर भित्र भित्रै कहाँ लुक्छ याे मन ?
सुरूङकाे याे यात्रा सकी निस्किन चाहन्छ

मुक्तक-३३

बादलुकाे पखेटीमा फूलकाे चित्र लेखेछु
पढ्नु, केही कुरा त्याे मनभित्र लेखेछु
सम्हाल्नु, म मुस्कानकाे एक थुङ्गा पठाउला
जहाँ-जहाँ जान्छु, एक नाम सर्वत्र लेखेछु

मुक्तक-३२

हिड्दाहिड्दै भेटियाे एउटा पत्थरकाे मन
पत्थरकै सिमाना किन कट्न सक्दैन जीवन ?
याे रातमा हराउछु र अन्तै बिहानी हुन्छु
म आँगाे लिन्छु तिमिबाट, म खरानी बन्छु

मुक्तक-३१

त्यसाे भन्दैमा तिमी न दाेधारमा आउ
बरू आउ, आउ मेराे उद्धारमा आउ
अरूबेला कहाँ यसरी दुख दिन्छु र
म घाटमा छु, आज त केही हतारमा आउ

मुक्तक-३०

म जलेकाे पल याे रात पनि जल्नेछ
चुपचाप अध्याराेमै चाँद पनि जल्नेछ
तिमी जलाउनुलाइ प्रेम भन्ठान्छाै
जति जल्छु म, याद पनि जल्नेछ

मुक्तक-२९

म पाेलीएर न आखीर सुन बनेकाे हुँ
रेटिएर न सारङ्गीकाे धुन बनेकाे हुँ
जलन अनि तड्पाइले मान्छे बन्दैछु
अध्याराेमा जल्दा जल्दै जून बनेकाे हुँ

मुक्तक-२८

म पाैडदा पाैडदै आफै नदी भएछु
महसुस गर्दैछु अलि अति भएछु
खुला आँखामै सजाए सपनाहरू
महत्वाकांक्षी अलि बढी भएछु

मुक्तक-२७

एक झाेक्का हावा आयाे, मन बगाएर गयाे
निभिसकेकाे खरानीमा आगाे लगाएर गयाे
खुब साेच्थे, छ मेराे चट्टानजस्ताे मन
यही मनमा काेमल रहर जगाएर गयाे

मुक्तक-२६

सामान्य हाे, जिन्दगी जन्मन्छ, अनि रितिन्छ
दुख नमनाउ न यार, याे एक दिन सिद्धिन्छ
मुस्कान भन्दा ठूलो हतियार देखिएको छैन
मुस्कुराएर त हेर, हरेक दुख जितिन्छ

मुक्तक-२५

ती चञ्चल यादहरू झन गजवकाे लाग्दैछ
हातबाट छुट्टिएपछि अजिवकाे लाग्दैछ
निकै गाढा बनिदिन्छन् केही विशेष साइनाेहरू
आज टाढिएपछि अझ नजिककाे लाग्दैछ

मुक्तक-२४

म जुन धुन बजाउछु, अरूले बजाउन सक्दैन
मेराे दर्दकाे घेराभित्र काेही आउन सक्दैन
म त अध्याराेमै रमाउछु मेराे जुनकिरीसँग
झुटाे जूनतारा म सजाउन सक्दैन

मुक्तक-२३

पर्खाइकाे मैनबत्ती लगातार बल्छ
अनि एकदिन याे ढल्छ र सबथाेक जल्छ
अहिलेसम्म गार्हाे भा'छ तिमीबिना चल्न
भाेलिसम्म नि नचल्ला, पर्सीबाट चल्छ

मुक्तक-२२

बिजुली चम्कन्छ, हराउछ
मान्छे बिनासित्ती डराउछ
याे मनकाे कुनै भर हुदैन
के के साेच्छ, के के गराउछ

मुक्तक-२१


म चाहन्छु जुन नाता, त्यहि ताेडिदिन्छु, गजब गर्छु
याे मन थाम्न खाेज्छ, म हात छाेडिदिन्छु, गजब गर्छु
जिन्दगीकाे चङ्गा सबले खुला आकाशमा उडाए
म पागल चङ्गा, केवल झरीमा उडिदिन्छु, गजब गर्छु

मुक्तक-२०

भनेथे नि केहि घडि थप बरालिन्छु
अब त बेला भो, आफै समालिन्छु
कहाँ हुन्छ दैत्य, कहाँ दैव बरै ?
आफै मैलिन्छु, आफै पखालिन्छु

मुक्तक-१९

तिमी बुझ्दिनाै, म बताउन सक्दिन
तिमीलाइ म आराेप लगाउन सक्दिन
घर भत्कीएकाे जब थाहा भयाे
निराेजस्तै बाँसुरी बजाउन सक्दिन

मुक्तक-१८

याे सपनीकाे सुरूङमा खै कल्ले अँधेरी मिसाएकाे छ
मेराे जून अचानक मेराे आकाशबाट विलाएकाे छ
याे रातजस्ताे बस्तीमा एक्लै रूमल्लीएकाे धेरै भयाे
आसुकाे ओस छ, जल्ले जिन्दगी याद दिलाएकाे छ

मुक्तक-१७

त्याे रात खै किन आसुमा रूझेकाे थियाे 
चादनीले पनि उजेलीन बिर्सेकाे थियाे
एउटा गरिब हरेश खाई झुण्डीएको रै'छ
त्यहि पीपललाइ उसले देउता पुजेकाे थियाे

मुक्तक-१६

जल्दैछ मन्, मनलाइ चुल्हाे बनाएर ताप्दैछु
यादहरू छन् बाकि, छाती जलाएर ताप्दैछु
डढ्दैछ गगन, जहा छन् केही काला ग्रहण
यी पल, खरानीकाे महल, ढलाएर ताप्दैछु

मुक्तक-१५

अझै पनि केहि गुरूत्व बाकि छ
याे धमनीमा अझै कवित्व बाकि छ
टुकी पाे निभ्छ, चाँद कहा निभ्छ?
म भित्र अझै 'म-तत्व' बाकि छ

मुक्तक-१४

नया शब्द खाेज्दैछु, नया धुन भर्दैछु
तिमीलाइ उपहार दिन, म जून चाेर्दैछु
यी फूलहरूले, याे इन्द्रेणीले !
तिम्राे सपनामा, म रङ भर्दैछु

मुक्तक-१३

याे जाे छ नी डर, याेभन्दा धेरै माथी पुग्नुछ
त्याे चाँदलाइ चुम्नुछ, चरीजस्तै उड्नुछ
पर्खाल, बन्धन, सिमा, के के मा बाँध्छौ ?
हर घेराको डोरी एक-एक चुड्नुछ

मुक्तक-१२

मलाइ मेराे जिन्दगीकाे एक एक हिसाब चाहियाे
सुम्पे तिमीलाइ पंख सबै, अब फिर्ता उडान चाहियाे
बने म खुला किताब, केरिदियाै, च्यातिदियाै
छु प्रश्नकाे तुँवालाेमा, अब मलाइ जवाफ चाहियाे

मुक्तक-११

पलपल हरक्षण घरिघरि सताउछ
हुरीभन्दा याे पापी दुरी सताउछ
चाहना त सिँगो आकाश समेट्नु थियो
छट्पटाउदै पिजडामा मनको चरी सताउछ

मुक्तक-१०

म वालुवामा पनि फूल फूलाउछु
जे गर्दा पनि खुशी कमाउछु 
तिमी आउछाै भन्ने थाहा छ
तिमीलाइ पर्खिदा पनि रमाउछु

मुक्तक-९

कहिले घाम चाहिन्छ, कहिले बादल चाहिन्छ
मलाइ हर माैसममा तिमी पागल चाहिन्छ
खै थाहा छैन के जाल बुन्दैछ दुनिया
मलाइ लुक्नलाइ तिम्राे आँचल चाहिन्छ

मुक्तक-८

जिन्दगीकाे बाटाे ओरालाे छ, उकालाे छ
सपनीमा कहिले जून छ, कहिले अध्याराे छ
मभित्र सास जसरी, तिमी त्यसरी छाै
मनबाट निकाल्न तिमिलाइ बहुत गार्हो छ

मुक्तक-७

न ढुँगाले देउता बनाउछ, न देउताले ढुँगा बनाउछ
मान्छे बहुत बाठाे छ, नदी तर्न न डुँगा बनाउछ
कालाे मनकाे वरिपरी जाे छर्नुछ अत्तरकाे झरी
टिप्नुछ कुनैदिन, र त फूलकाे थुङ्गा बनाउछ

मुक्तक-६

तड्पिन्छ मन त्यसै, माया अलि ज्यादा छ
कृष्ण यहाँ एक्लै छ, खै कुन्नी कता राधा छ
याे मन, मेराे जिवन त्याे चाँदकाे नाम गरिदिए
कहिले चाँद विलाउछ, कहिले चाँद आधा छ  

मुक्तक-५

कि माटाेमुनी गल्नु छ, कि दाउरामाथी जल्नु छ
जता जता भन्छ जिन्दगी, उतै उतै चल्नु छ
समय तिम्रो, मेरो, अह ! रहेनछ कसैको
बिहान बनी जाग्नु छ, साँझ बनि ढल्नु छ

मुक्तक-४

न सर्माउदै भेट्नु छ, न भक्कानिदै छुट्नु छ
बस् भाेक छ केही, खाना खानु छ र चुठ्नु छ
प्रेमकाे आयु एक घडीकाे मात्र भा'छ अचेल
सँगै सुत्नु छ, सबेरै उठ्नु छ, एक्लै कुद्नु छ

मुक्तक-३

आँसु जम्मै जलाउनु, बस् मुस्कान फुलाउनु
अरूलाइ हाेइन, आफ्नै सपनीलाइ भगवान बनाउनु
यहाँ कहिले छाड्छ आफ्नै छायाले, थाहा हुन्न
छायाबिना बाँच्न सक्ने छुट्टै संसार बनाउनु

मुक्तक-२

तिमिलाइ चाहने काेही आफ्नो छ, याे एहसास गजबकाे हुन्छ
मिठाे बेचैनी हरपल, बिहान दिउसाे साँझ, गजबकाे हुन्छ
जिन्दगीकाे आखिरी लक्ष्य खुशी हाे, यहि मानेर चल्दै गर्दा
सँगै हिड्ने छ काेही खास, याे आभास गजबकाे हुन्छ

मुक्तक-१

तारा नउदाएरै रात आवाद भइरहेकाे हुन्छ
टाढा हुदाँ झन् गार्हो, याद आइरहेकाे हुन्छ
पानी जस्तै समय, कहा सुरू ? कहा खतम  ?
नभेट्दा पनि मनबाट सम्वाद भइरहेकाे हुन्छ

के ठूलो ?

भन- कलम, फूल, तरवारमा, के ठूलो ?
मरेपछि चिहान अनि दरबारमा, के ठूलो ?

बिदाइको आसुले धेरैथोक भनिरह्यो
दुलही लाई आमा र श्रृङ्गारमा, के ठूलो ?

म मन निचोरेर धन थुपारू कसरी ?
चोखो भावना र महँगो हारमा, के ठूलो ?

सपनाको बाटो सजिलो हुदैन पक्कै
बिस्तारै पुग्नु वा लड्नु हतारमा, के ठूलो ?

जिन्दगी कति सुखी, खुशी हुने रै'छ
के सानो भनी जोखियो, बेकारमा के ठूलो ?

साभार: https://www.sahityapost.com/2020/08/14575/ (२०७७-०५-१४)

बा

मैले बा'को कविता लेखेकै रहेनछु आजसम्म
बरू ईश्वरको कविता लेखेको रहेछु
आखीर, कुरा एउटै त हो ।

खालीपन

भित्तामा मजस्तै देखिने ऐना छ

मनजस्तै जलिबस्ने बल्ब छ
सपनाजस्तै झुण्डीरहेका 
केही पेन्टिङहरू छन्
र छ एउटा एक्लो खाली फ्रेम ।

त्यो फ्रेममा नटाँगिएको
तिम्रो फोटोले बोलाइरहेछ ।

+
टेबलमा बाँसी किताबहरू छन्
नक्कली फूल राख्ने फूलदानी छ
पानीको तीर्खा कुरिरहेको
नया बोतल छ
र छ लेखिन बाकी 
केही खाली पाना ।

ती पानामा नलेखिएको
कुनै कथाले झस्काइरहेछ ।

+
ओछ्यानमा अनिदो सिरानी छ
निर्जिव मोबाइल छ
यादहरूको धुँवाले बनेको
गर्हुँगो ब्ल्याङ्केट छ
र छ एउटा खाली-खाली मन।

यो मनभित्र बनिरहेको
खालीपनले सताइरहेछ ।

नपर्दा सम्म मायामा

म ज्युनुको बहाना
म चल्नुको सहारा
मेरो आकाशको तारा
मेरो नदीको किनारा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म मायामा ।
……………………………

जे पर्छ जिवनमा
मात्र तिमि यो मनमा
आदि-अन्त्य तिमि नै
तिमि मेरो हरपलमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म प्रेममा ।
……………………………

देख्छु सपनि जति म
निदाउछु तिम्रो छातीमा
दिन, रात, साँझमा
जिन्दगी बितोस् साथमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म पिरतीमा ।

Source: Alag Studio

मनको आकाशगंगा

समय शरणार्थी हुदैन कसैको
जाबो पृथ्वी, आकाशै खसे पो
म हराइरहन्छु
यो मनको आकाशगंगामा ।

ब्रम्हाण्ड मानौ टुक्रा मुटुको
भारी हो यो मेरै पिठ्युँको
म अडिरहन्छु
यो मनको अन्तरिक्षमा ।

इच्छा-आकांक्षा पोख्न सके पो
आसुको रहमा डुब्न सके पो
म तैरिरहन्छु
यो मनको समुंद्रमा ।

झरी

यादको झरीमा भिझेपछि थाहा भो
मायाको छाता त
बिनासित्ति लुकाएर राखेछु
दिलको बन्द अलमारीमा ।

पोछा

जुग पुरानो चलनचल्तीको बाल्टीन
फुटेपनि फालिएको छैन ।

यो पुरानो बाल्टीन
भरिएको छ
पोछाको पसिनाले
पोछाको आसुले ।

यहि बाल्टिनभित्र
चोबिन्छ पोछा
निचोरिन्छ उसको जेलिएको लट्टा
र निल्न लगाइन्छ 
संसारभरको दाग-मैलो ।

भविष्यझै अध्यारा घरका 
कुना-कुनामा घस्रिदा-घस्रिदै
गलिसक्यो उनको फलामको ढाड
र सुन्नुपर्छ- "चाडै बुढी भएछौ" ।

दागै-दागको भुइँमाथी 
गर्दै ओहोर-दोहोर
परिसक्यो अनुहारमै पोते
र सुन्नुपर्छ- "कति गर्छौ मेक-अप ?"

म व्याकरण नहेरिकनै भन्न सक्छु
'पोछा' स्त्रीलिङ्ग शब्द हो ।

(साभार: 
https://sahityapost.com/2020/06/9996/ )

पर्दा भित्र, पर्दा बाहिर
उजेली र रात
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद 

सम्झनाको लुकामारी
एक्लोपनलाइ एक्लै पारी
ढोका बाहिर, ढोका भित्र
आफ्नै हुन्छ साथ
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद 

कुर्दाकुर्दै फुल्यो धुपी
अँगालोमा आफ्नै लुकी
दैलो भित्र, दैलो बाहिर
चियाउछ चाँद
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद

आफू

हरदिन कामबाट फर्किएपछि
भनु न आफैलाइ स्याबास
मारू न आफैलाइ धाप ।

दिनभर खियाएपछि नङ्ग्रा
राखु न आफ्नै हातमाथी हात
चुमु न आफ्ना अौलाहरू ।

जिन्दगीमा
गरू न आफूलाइ पनि माया
तब पो बाड्न सकिन्छ अरूलाइ ।

आँखा

पुरानो डसनाजस्तै त छन् यी आँखा
यी आँखामा जमेका छन्
धुलोजस्तै सपनाहरू ।

रूझ्दै-धुदै-सुक्दै
तन्ना बनेर परेली
छोपिदिन्छ यी आँखा।

नागपञ्चमी

नागतन्त्र अर्थात यो लोकतन्त्रमा
एकैदिन पर्नुपर्ने: नागपञ्चमी र चुनाव 
के फरक छ र ?
नागचित्र टाँस्नु मूलढोकामा
र खसाल्नु मतको काँचुली पेटीकाभरी ।

आखिर डसेरै छोड्छन् नाग-
भुइँबाट, कुर्सीबाट ।

जीवनका धुनहरू

हाँगामाथी सुस्तरी टेकेर
हिउदमा सुकेर, झरीमा रूझेर
यि पाइला हुन् कि फूलहरू
फूल्दै गाउछन्, जीवनका धुनहरू

कहिले ग्रहण, कहिले खुशी
पूर्णे आउछ, आउछ अौसी
अँधेरीमा चाँदनी छरेर
तारासँग मिलेर, रातसँग लडेर
जूनले फुक्छ बिगुलहरू
फूक्दै गाउछ, जीवनका धुनहरू

खाल्डा-खुल्डी कति-कति यात्राभरी
चोट - खत - दाग होला मनभरी
मनको खालीपनलाइ पुरेर
छहारीले घेरेर, दुखलाइ छेकेर
चौतारीका शीतल पलहरू
सधै गाउछन्, जीवनका धुनहरू

काइयो

जवानी 
नया काइयो जस्तै हो
लहरै मिलेर बसेका हुन्छन्
उमंगका दातहरू ।

उमेर ढलेपछि
अौधि माया लाग्छ
थोते काइयोको पनि।

निन्द्रा

कसले भन्छ
कि प्रेममा  
लाग्दैन निन्द्रा
मज्जाले लाग्छ ।

बरू गरीबीमा लाग्दैन
भोकले निन्द्रा ।

यसरी बाँचिदिउ

लाग्छ यसरी बाँचिदिउ
कि मेरै सपनाले डाह गरोस
मेरो जिन्दगीसँग ।

स्याम्पु

समाजको कपालभरी पर्यो लिखा
र पखाल्न स्याम्पु जन्मियो
अर्थात धर्म जन्मियो ।

अचेल
समाजको आँखा छोपिएको छ पीरो फिजले
र लिखा पसेको छ मगजभित्र ।

मैले छुदा...

मनमा सबको देउतै त हुन्छ - सुनेथे
सबै मान्छे एउटै त हुन्छ - सुनेथे
तर सत्य बेग्लै हुदो रै'छ
छुन्न म आसु, मैले छुदा विष बन्दो रै'छ 

हास्छ मूर्ती - मैले खोपेको पत्थरको मूर्ती
बाँच्न देउ मलाइ, खै मेरो आकाश, मेरो धर्ती ?
मलाइ मान्छे नमान्ने, यो देउता म मान्दिन
मलाइ मान्छे नठान्ने, समाज म चिन्दिन

यो हावा, यो पानी, साझा त हुन्छ - सुनेथे
निराशामा नि आशा त हुन्छ - सुनेथे
सुनेजस्तो संसार नहुदो रै'छ
छुन्न म आसु, मैले छुदा विष बन्दो रै'छ

सारङ्गी

जसै रेटिन्छ तार
बज्छ थाल्छ सारङ्गी ।

सारङ्गी सिकाउछ-
'अरूको पीडाको धुन
मन पराउछ यो दुनिया ।'

कप

चुमिरहन्छु
प्रत्यक चुस्कीसँगै
र तिमि भएको कल्पना गर्छु ।

चियाभन्दा तिमिले दिएको
यो कपको स्वाद मिठो लाग्छ ।

डोरी

पेट भोकै पारेर
एकदिन रित्याइए सबै बोरा
र बोराका रेशा-रेशा बाटेर
पूजिवादले बेच्न थाल्यो
गर्धन बेर्ने डोरीहरू ।

तिमि ब्रान्डेड डोरी किन्छौ
र म कमसल 
किन्ने त मृत्यु न हो ।

चश्मा

हर मुस्कान भित्र
लुकेका छन् 
अनगिन्ति पीरहरू ।

मान्छे हाँसेको 
प्रष्ट देखिन्छ चश्माबाट ।

लुकेका व्यथा देखिने चश्मा
सायद आविष्कारै भएन ।

चन्द्रमाको आसु

चन्द्रमाको आसु बनी
उजेली थोरै खसिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

मुहारभरी झरी पर्छ
आँखा टिलपिल भइदिदा
रसाउछ यो मनको भित्ता
एक्लै गीत गाइदिदा

जूनकिरी उड्दै-उड्दै
पर कतै विलाइदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

बाहिर फैलि दिन्छु बरै
बोल्ने कुरा अर्कै हुन्छ
भित्र थिग्रि दिन्छु कठै
मनले मनमै कुरा थुन्छ

मुकुण्डोको खेती गर्दै
मान्छे जूनी बाँचिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

टोपी

निर्जिव हिमालले मात्र
बनेको छैन यो देश ।

खासमा बनेको छ
सजिव आत्माहरूले ।

जसरी
ढाका टोपी नै देश होइन
बरू तिम्रो शीर हो देश ।

परिचयपत्र

पासोजस्तो झुण्डिएर
दिनरात मेरो घाटिमा
यो परिचयपत्र
मसँगै माग्दैछ
मेरो परिचय ।

मान्छेको परिचय
नाम, दर्जाले मात्र
कहाँ जनाउछ र !

झुमर

झुमरका काचभरी छन्
मजदुरका चोटका राता धब्बाहरू
त्यसैले त यति मजा लिदैछ
यो सम्भ्रान्त रात ।

ऐना

घामसँग
समाजसँग
सिँगो संसारसँग
सहजै सक्छ मान्छे
आँखामा आँखा जुधाउन
मात्र
ऐनासँग सक्दैन ।

गलबन्दी

जति पटक धोएपनि
जादैन दाग
मेरो गलबन्दीबाट ।

सायद
उनीभन्दा पनि 
बढी टिकाउ रैछ
उनको ओठको लिपिस्टिक ।

चुरोट

नजिस्कनु भन्छन् मृत्युसँग 
म अबुझ
चुमिरहन्छु मृत्युलाइ ।

नपत्याए हेर
मेरो ओठको चुरोट ।

#Smoking_Kills

यि आँखाको निन्द्रा

यि आँखाको निन्द्रा ति आखाँबाट हुन्छ पुरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

तिमी त्यहा छौ, मेरा पाइला जहा भएन
सँगै हुनुको परिभाषा के हो थाहा भएन
मलाइ त सँगै लाग्छन् रूखका पात र जरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

चट्याङ आउदा म अहिले पनि डराउछु
तिमि सम्झि आफ्नै छायामा म हराउछु
यो झरीमा चुपचाप ओत लाग्छ मनको चरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

कोट

आज गनाइरहेछ
यो कोटको भित्री खल्ती
यहाँ भेटिएका छन् 
सडेका
ल्वाङ, सुकमेल र सुपारी ।

आसुसित मुछिदा
बेस्वाद लागेको थियो
तिम्रो लगनको भोज
गल्तीवश 
खल्तीभरी भर्न पुगेछु
एकमुठी माया भन्ठानेर।

किताब

मुसाजस्ता शब्द
भ्यागुताजस्ता पाना
र स्यालजस्ता गाता ।

न घर जस्तो
न चिडियाखाना जस्तो 
न जिवन बुझाउने
न उज्यालो बचाउने ।

यि सब किताब 
एक-एक गरी च्यातिदेउ ।

कलम

कलम ठूलो कि तरवार ?
यो प्रश्न गर्ने कलमलाइ
भर्खरै लगाइयो हतकडी 
र हुलियो
तरवारको कारागारभित्र ।

चुकुल

खतरनाक छ चुकुल 
खुकुरीभन्दा पनि ।

चुकुल लाएपछि- 
बन्द कोठामा 
देश बेचेपनि
कसैले चाल पाउन्न ।

खुकुरी हार्दा कमसेकम 
हारको कथा सुनाइन्छ ।

के कसैले सुनेको छ 
चुकुलको कथा ?

बिर्को

मोटा-पातला
ठूला-साना
पुराना-नया
हरेक बोतलहरू
बिर्कोबिना रित्ता हुन्छन् ।

सानो बिर्कोको ठूलो काम छ
सायद !
केहि सानो हुदैन
कोहि सानो हुदैनन् ।

मार्बल

म मार्बल भएर
मार्बलमै चिप्लिएर
पुग्न पाए हुन्थ्यो
तिम्रो अँगालोमा ।

तिमि चरी
आकाशमा उड्छ्यौ
म मार्बल 
सायद भुइमै सुहाउछु ।

सिरानी

जती आफ्नो ठानेर
छातीमा टासेपनि
आखीरमा
टाउको टेकेरै छाड्छ सिरानी ।

धारा

कहाँ-कहाँ
टाढा-टाढाबाट बग्दै
आइदिन्छ पानी धारामा
मानौ आमाले पठाकि हुन्
एक बोरा कोशेली ।

मोबाइल

सधै
कि दिमागको सुन्नु
कि दिलको
दिमाग र दिल नहुनेले
मोबाइलको सुन्नु ।

छाता

झरीमा ओढेपछि
भिझेको छाता
लैजान्न मान्छे कोठाभित्र
ढोकाबाहिरै पर्खाउछ ।

जसरी
भगवान पर्खाइ रहेछ
मन्दिर बाहिरै मूर्तीकारलाइ ।

जुत्ता

हरेक पाइलामा 
साथ दिदा पनि
हरेक मोडमा
सँगै हिड्दा पनि
थोरै मात्र च्यातिदा आज
जुत्ताजस्तै बदल्यो मान्छेले
आफ्नो हमसफर ।

डायरी

सबैको
सबै-सबैको
व्यक्तिगत डायरी
लिक हुन पाए इन्टरनेटमा
थाहा हुने थियो-
इतिहासभन्दा पनि खुनी भविष्य ।

सिलिङ

नियममै सधै बाँधिने भए
ग्राभिटिको नियम 
मान्नु पर्थ्यो यो सिलिङले
र खस्नु पर्थ्यो 
मेरो आङमाथी ।

धेरैथोक जोगाउन
केहि नियम 
भत्काउनै पर्ने रै'छ ।

पञ्जा

हातका रेखाले
यदि भाग्य लेखिन्थे भने
म तिम्रो पञ्जा चोरेर
लैजान्थे आफूसँग
र ती रेखाका डामहरू
सारिदिन्थे
मेरा हत्केलाभरी ।

ट्वाइलेट पेपर

यो ट्वाइलेटमा नभएको भए
सायद डाइनिङ टेबलमा हुन्थ्यो
या पूजाघरमा ।

कागजका पनि 
कति जातहरू हुने
मान्छेमा झै ।

चुल्हो

दाउरा जलाउदै गर्दा
तिम्रो सम्झना पनि जलाउछु
म सधै जलिबस्छु
म सधै आगो खेलाउछु
मलाइ चुल्हो भन्ठान्छन्
र रोटी सेकाएर जान्छन् मान्छे ।

फ्रिज

चिसो मन
चिसो सम्बन्ध
र चिसो सोच
आधुनिक मान्छे
मानौ फ्रिज बनिसके ।

तास

तासजस्तो नबन्नु भन्थे बा
भन्थे-
"जित्नेले पनि फालिदिन्छन्
हार्नेले पनि फालिदिन्छन् ।"
बरू छाता जस्तो बन्नु भन्थे
भन्थे-
"झरीमा पनि काम लाग्नु
घाममा पनि काम लाग्नु ।"

टुथपेस्ट

बेलनले घाटीमा थिचेर
अन्तिम थोपा पनि 
निचोर्दैछु
यतिखेर-
म कारखानाको 
मालिकझै लाग्दैछु
र यो टुथपेस्ट 
श्रमीकझै ।

डस्टबिन

शरीरभित्र छन्
काला पुराना घाउहरू
तिमि पनि बुझि-नबुझि
ममाथी थुकिदिन्छौ
अरूलाइ सफा गर्दा गर्दै
म डस्टबीन, फोहोरी कहलिसके ।

टेलिभिजन

संसारको कुरा सुनाउछ
तर मेरो सुन्दैन
मलाइ मेरी प्रेमिका
र यो टेलिभिजन उस्तै लाग्छ ।

पर्दा

यताउता सार्दा
घामका किरण झर्छ हातभरी
मानौ यो पर्दा हल्लाउदा
याद झर्छ हातभरी
पर्दा बाहिर गएको भए
घामको किरण मेरो हुन्थ्यो
म पर्दा भित्र छु
केवल याद मेरो भयो ।

झ्याल

आदिकालमा केवल भित्ता थियो
सब बन्धक थिए
अहिले यहाँ झ्याल बनेको छ
कमसेकम चुपचाप
स्वतन्त्रता चियाउन पाइएको छ
भोली यहाँ म ढोका बनाउनेछु
र सधैलाइ स्वतन्त्र हुनेछु ।

ह्याङ्गर

ह्याङ्गरमा झुण्डीएको छ
एउटा भिझेको रेनकोट
एउटा फाटेको पाइन्ट
अनि एउटा पुरा...नो सपना।

सपना झुण्डीदा
गर्धन झुण्डीएझै लाग्छ ।

कार्पेट

कार्पेटको सफाइ अचम्मको हुन्छ
माथी - माथी कुचो लाउदा
तल झन् धुलो जम्छ
हो ठ्याक्कै
मुहारको मेक - अप जस्तै
आत्मामा धुलो जमिराख्छ ।

हेलमेट

यो दिमागमा
कति लेखे - कति गीतहरू
कागजमा लेखिन
आज म सोच्छु
अब दिमागबाट पनि
सायद मेटिइसक्यो होला मेरा गीत
बा कतै छापियो कि हेलमेटमा !

भित्तेघडि

सन्तानझै समय हुर्किसक्यो
र निकै अगाडि बढिसक्यो
यो भित्तेघडि चाहि
जहाको तहि छ
वृद्वाश्रमको वृद्व जस्तो ।

ट्युबलाइट

अलि ढिलो गरी बल्छ
तर यसकै भर छ
यो ट्युबलाइट हो कि मेरो देश ।

खाट

सस्तो
महँगो
गरिबको
धनीको
हर एक खाटहरू
केवल चिताको पूर्वाभ्यास रहेछन् ।

सोफा

प्रायः
चिटिक्क
फेसनेबल
आकर्षक
एक्लो हुन्छन्
ब्युटिपार्लरमा थन्किएका सोफाहरू ।

खोपा

पत्थरले थिचेर
अरूसँग लुकाएर
चुपचाप राखेको छु
एउटा पुरानो प्रेमपत्र
यो छातीको अध्यारो खाेपामा ।

ढोका

खुल्छ
एकछिन बन्द हुन्छ
र फेरि खुल्छ...
म एकटकले यो ढोका हेर्दैछु
मानौ म तिम्रो आँखा हेर्दैछु ।

झुल

झुलभित्रको एक्लो लामखुट्टे
बडो भाग्यमानी मान्छ आफूलाई
उसलाइ थाहा छैन कि
झुल पनि महाजाल हो
जिन्दगी जस्तै ।

पंखा

मनपरी घुमिरहन्छ
र अर्कैले रोकिदिन्छ
पंखा, पंखा रहेन आज
मानौ मेरो मन भैसक्यो ।

दराज

जथाभावी कोचेर आफूभित्र
कपडा, किताब र यादहरू
कुनामा थन्किरहेछ पुरानो दराज
मेरो मस्तिष्कझै ।

रङ

यी गालाभरी पोतेर 
स्पर्शको रङ 
सिकाइगयौ 
मायाका केही रातो लवज
र चखाइगयौ 
लज्जाको केही नीलो मिठास ।

म पनि आउदैछु 
हातमा लिई 
एक मुठि अबिर
र अबिरभित्र लुकेका
रङहरू, तरङ्गहरू
मलाइ पर्खिनु
म डुलाउनेछु तिमीलाइ 
मनको हरियो बगैचामा
मलाइ पर्खिनु
म उडाइ लानेछु तिमीलाइ 
मेरो वैजनी सपनामा।

झट्ट हेर्दा कुनै पनि मुलुकको संस्कृति र अर्थतन्त्रबीच खासै सम्बन्ध नदेखिन सक्छ । संस्कृतिले समाज एवम् समग्र देशमा विद्यमान प्रचलन, खानपान, वेशभूषा, रीतिरिवाजलगायत स्थापित मूल्यमान्यतामा रहेका विविधताहरू दर्शाउँछ भने अर्थतन्त्रले मुलुकमा विद्यमान समग्र स्रोतसाधनको उपलब्धता, परिचालन तथा बाँडफाँटको अवस्थालाई जनाउँछ । नेपालको सन्दर्भमा भन्नुपर्दा हामी संस्कृतिक पक्षमा निकै धनी तर सबल र अर्थतन्त्रमा अलिक कमजोर रूपमा चित्रित हुँदै आएका छौं ।
सांस्कृतिक र आर्थिक पक्षबीचको अन्तरसम्बन्धलाई चित्रण गर्ने सामान्य उदाहरणका रूपमा हामी खानेपानीको उपलब्धता र वितरणलाई लिन सक्छौं । नेपालको कुनै पनि ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा पर्यटकका रूपमा हिँड्ने जो कोहीलाई पनि बाटोमा पर्ने घर वा पसलवालाले सहजै आफूले उपभोग गरेको पानी निःशुल्क उपलब्ध गराउने प्रचलन छ । अझै कतिपय स्थानहरूमा त साँझका पाहुना देवता समान हुन्छन् भनेर गाँस बाससमेत उपलब्ध गराउन तम्सन्छन् । तर, त्यही विषय विकसित मुलुक वा शहर मानौं बैंकक शहरमा घुम्दै हुनुहुन्छ र प्यास लाग्यो भने पानीका लागि पक्कै पनि सय वा सोभन्दा बढी नेपाली रुपैयाँ बराबर पैसा खर्च गर्नुपर्ने अवस्था आउँछ । त्यति वस्तुवादी नभएका कारणले सबै पक्षमा व्यावसायिक चेत राख्दैनन् । नाफाघाटाका लागि भन्दा पनि कतिपय विषय आत्मसन्तुष्टि र परोपकारसँग जोडिएका देखिन्छन् । अर्थात् विकसित तथा पश्चिमा देशहरूका नागरिक जस्तो तँछाडमछाड गरेर नयाँ आविष्कार, खोजी र आर्थिक उत्पादनका लागि बढी क्रियाशील देखिँदैनन्, जसलाई पछौटेपनको कारण पनि मानिन्छ । नेपालीहरूमा बचत गरेर लगानी गर्ने तथा उत्पादन बढाउनेभन्दा पनि गैरउत्पादनमूलक र भौतिक चिजहरूमा नै बढी आर्कषण रहेको देखिन्छ । अंशबन्डा संस्कृतिका कारण खेतीयोग्य जमीनको खण्डीकरण, ऋण नै गरेर भए पनि आफ्नो स्वामित्वमा अलगै घरजग्गााको चाहना, आवश्यकताभन्दा बढी भौतिक सम्पत्ति संकलनको मोह, देखावटी संस्कृतिका कारण हैसियतभन्दा बढी मूल्यका सवारीसाधन, गहना गुरियामा खर्च आदि पक्ष सांस्कृतिक विचलन र अर्थतन्त्रको प्रत्यक्ष सरोकार रहने विषयहरू मानिन्छन् । 

हाम्रो संस्कार अहिले पनि सामन्तवादी नै छ । यहाँ व्यक्तिको क्षमताभन्दा उसले ओगटेको सामाजिक तह, उसको सामाजिक वा संस्थागत पद र हैसियतलाई मान गर्ने प्रचलन छ । उपल्लो तहमा रहेकाहरूसँग मात्र बढी ज्ञान र क्षमता हुन्छ भन्ने मान्यताका आधारमा योजना कार्यान्वयनमा राम्रो दख्खल राख्ने, प्रभावकारी कार्यान्वयन गर्न सक्ने तल्लो पदीय हैसियतका व्यक्तिहरूकोे ज्ञान र अनुभवको कदर नहुनेलगायत गलत संस्कारहरूको असर पनि आर्थिक क्रियाकलापमा परेको अनुबोध गर्न सकिन्छ । एक त योजनाहरू नै माथिबाट मात्र जर्बजस्ती तल थोपर्ने चलन छ भने अर्कोतर्फ निर्णय प्रक्रियामा समेत धरातलीय रूपले बुझ्नेहरूलाई समावेश नगर्ने परिपाटी छ । जसले गर्दा कार्यान्वयन तहमा समस्या देखिन्छ । श्रमको सम्मान नहुँदा वैदेशिक रोजगारीमा युवाहरू गएका छन्, जसले गर्दा गाउँघरतिर सामान्य श्रम गर्ने श्रमिक पाउनै छोडिसकेको छ । यसले नेपाली अर्थतन्त्रलाई उत्पादन र दिगोपनको सट्टा परनिर्भरतातर्फ धकेलिरहेको देखिन्छ । 

‘मुग्लान जाने’ र ‘लाहुर जाने’ परिपाटीको पछिल्लो स्वरूप खाडी मुलुक र अहिले क्रमशः अमेरिका, अस्ट्रेलिया जाने ‘लाहुरे संस्कृति’ रोकिएको छैन । विप्रेषणको रकमबाट गाउघरका धेरै परिवारको सामाजिक हैसियत बढेको पनि छ । विप्रेषणकै कारण परिवार नै टुक्रिँदै गएको, बाबु वा आमा विदेशमा हुँदा एक्लै हुर्किएका नानीहरू दुर्व्यसनमा फस्दै गएको आदि समस्या पनि बढ्दो छ । सिँगै देश नै आर्थीक निर्भरतामा जकडिँदै गएको छ । विप्रेषणले तत्काल राहत त दिएको छ । तर, यसको सामाजिक नकारात्मक पाटो र आर्थिक रूपले पनि अधिकांश अंश सही क्षेत्रमा लगानी हुनुको साटो विलासी सामानको आयातमा खर्च हुनुले महँगो पसिनाको विप्रेषणले ‘सामाजिक डिप्रेषण’को खतरा पनि सँगै बोकिरहेकै छ । अझ हुन्डी तथा अन्य अनौपचारिक माध्यमबाट हुने विप्रेषणले त औपचारिक अर्थतन्त्रको सही विश्लेषणलाई नै चुनौती दिइरहेको छ ।

हाम्रा आर्थिक क्रियाकलापका ‘सिजनहरू’ पनि हाम्रा चाडबाडले निर्धारण गरिरहेका छन् । दशैं–तिहार–छठताका धान्नै नसक्ने गरी आयात र व्यापार बढिरहेका हुन्छन् । आर्थिक वर्षको अन्य महीनाहरूमा हुने खर्चभन्दा दशैंताका हुने खर्च बढी हुन्छ । चाडबाडका बेला हाम्रो शोधनान्तर स्थितिलाई नै हल्लाउने गरी आयातका लागि विदेशी मुद्रा खर्च हुने गर्छ । बैंकका काउन्टर र एटीएममा हुने लाइनले पनि यसलाई दर्शाएकै हुन्छ । आवश्यकताभन्दा पनि सामाजिक चलनचल्तीका रूपमा खानपान, तडकभडकमा धेरै खर्च हुने गर्छ । त्यति मात्र नभई जुवातास, मदिराजस्ता फजुल खर्च समेत अस्वाभाविक रूपमा बढ्ने गर्छ । अझ कृषिप्रधान देशले गर्ने गरेको मासु, तरकारी, फलपूmल आदिको आयातको आकार त झनै डरलाग्दो देखिन्छ ।

संक्षेपमा वस्तुवादीभन्दा अभौतिकवादी दृष्टिकोणका कारण हाम्रो समाजले आर्थिक उन्नतिलाई प्राथमिकतामा राखी अघि बढ्न सकेको देखिँदैन । विश्वका धेरै मुलुकको विकासक्रमको दाँजोमा नेपाल निकै पछाडि परेको पनि देखिन्छ । जस्तोसुकै प्रतिकूलता र आर्थिक पछौटेपनको शिकार भए तापनि नेपालको सामाजिक छवि भने विश्वभर नै सकारात्मक छ । विश्वशान्तिको अभियानमा खटिने विषय होस् या कुनै पनि ठूला मुलुकको सैन्यदस्तामा नेपालीको स्थान सम्मानजनक हुने गरेको छ । यस्तै स्थापित सामाजिक आदर्शले नेपालले ‘खुशी सूचकांक’मा आफूलाई धेरै मुलुकभन्दा माथि नै पार्न सफल देखिन्छ । यसको ज्वलन्त उदाहरण विसं २०७२ को महाभूकम्पकै अवस्थालाई लिन सकिन्छ । हैंटीलगायत अन्य देशमा यसअघि गएका यस्तै ठूला भूकम्पपछिको सामाजिक भयावह स्थितिलाई मूल्यांकन गरेर केही अन्तरराष्ट्रिय संघसंस्थाले नेपालमा पनि महाभूकम्पपछि चोरी, डकैती, लुटपाट, काटमार बढ्न सक्ने र सामाजिक–आर्थिक रूपले तहसनहस हुनसक्ने प्रक्षेपण गरेका थिए । तर, नेपालीहरूमा रहेको सहयोगी भावना र परोपकारी संस्कारले हामीले एकले अर्कालाई सहयोग गर्दै त्यो असहज स्थितिलाई समेत सहजै पार गरेर आएका हौं । अतः नेपालका सांस्कृतिक विशेषताहरूलाई केलाएर आर्थिक विकासमा पनि समायोजन गर्न सकिए समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना सार्थक हुन बेर लाग्दैन ।

लेखक नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका सहायक निर्देशक हुन् ।

(साभार: आर्थिक अभियान, २०७६ माघ १६)

https://www.abhiyandaily.com/newscategory-detail/366058

सडक

सडक न माटाेबाट बन्छ
न सिमेन्टिबाट
तारहरूबाट बन्छ याे
दुखका अनगिन्ती तारहरूबाट ।

साच्ची सडक बलियाे भएर मान्छे यसलाइ कुल्चिन्छन्
या मान्छेले कुल्चिदा कुल्चिदै याे बलियाे बनेकाे हाे  ?

युद्ध: एक सेल्फी

झोलुङ्गामा शान्तसँग निदाइरहेको छ
युद्धको एउटा कोमल फूल
आउ !
सबै मिली सलाम ठोकौँ ।

यो अनन्त भिरालो बाटोभरी
'रेड कार्पेट' बनेर बिछ्याइएका छन्
हाम्रा नानीहरूका हजारौ शरीर
यहाँ हिड्न ठिक्क परेको छ
'विश्व-बादशाह'को बफादार हात्ती
जुन कुदिरहेछ सिँगो ग्लोबभरी
र पोतिरहेछ राता डोबहरू ।

ठिक यतिबेलै 
युद्ध डिस्को गरिरहेछ
हाम्रो मोबाइलमा.
टेलिभीजनमा..
फेसबुकमा...
हामी सडकमा बिछ्याइन ठिक्क पारिदैछौ
र त्यो भन्दा अघि
आफै 'लाइक' हान्दैछौ
युद्धको अर्को बर्बर 'सेल्फी' लाई ।
(२०७६-०९-२३)