समयको चुलेसीले ताछ्दा-ताछ्दै
अन्ततः मान्छे
अर्धकदको मूर्ती बन्ने रै'छ ।
पोखिएर जूनेलीको एक अम्खोरा
पलाउछन् सपनीका अन्गीन्ती पखेटाहरू
र बन्छन्-
उमँगका हात
रहरका खुट्टा
संगीत बुन्ने ओैला
सुन्दरता हेर्ने आँखा... ।
अनि त भेट्छन् मान्छेहरूले-
नयाँ-नयाँ रङहरू
उड्दै गरेका बादलहरू
अग्ला-अग्ला पहाडहरू
र
टाढा-टाढाका क्षितिजहरू ।
सम्बन्धको साङ्ग्लोमा परेपछि
मान्छे यो यात्रा रोक्न विवश हुन्छ
र जहाँ-जे गर्दैछ
त्यहि टक्क अडिन्छ-
गीत गाउदा-गाउदै स्वर हराउछ
चित्र बनाउदा-बनाउदै रङ हराउछ
हिड्दा-हिड्दै पाइला हराउछ
कविता कोर्दा-कोर्दै अक्षर हराउछ ।
र त मान्छेबाट
हराउन थाल्छन्-
उमँगका हात
रहरका खुट्टा
संगीत बुन्ने ओैला
सुन्दरता हेर्ने आँखा... ।
समयको चुलेसीले ताछ्दा-ताछ्दै
अन्ततः मान्छे
अर्धकदको मूर्ती बन्ने रै'छ ।