जीवन

Source: http://blogbishad.blogspot.com
धेरैको देखे रूने जीवन
केहीको चन्द्र छुने जीवन

आशागीत म गाउ कसरी ?
देख्दैछु बराबर नहुने जीवन

पसिनाले जिन्दगी फलाउछ आखिर
केहीले पसिनाकै थुने जीवन

लाखौ अक्षरले बद्लेन संसार
अनि पो युद्धको चुने जीवन
(06-06-067)

पिडायुक्त मालाहरु

Source: http://blogbishad.blogspot.com/
सियोले घोचेर
जबर्जस्ती नगाँस फूलहरु
र नबनाउ
एउटा भद्दा लहरे माला
मात्र चढाउन
तिम्री गँगाजमुना देवीलाई ।

मान्दिन म
सियोले जबर्जस्ती घोचेर बन्छ
सँयौ थुँगा फूलको माला
मान्दिन म
प्रकृतिको आँचलले छर्छ
यो बगैचामा सुगन्धित सुवास
बरु गन्हाउन थाल्छ
उही एकात्मक विर्यको गन्ध
उही कान्तिपुर खाडलको
मरेको भ्यागुताको दुर्गन्ध
उही धरहराको काँडे हेपाई
उही ढाकाटोपीको बौलठ्ठ रजाइँ ।

बनाउन सक्दिन म
मेरो छाप्रोको रानी
तिम्री गाई देवीलाई
मेरी चौरी आमा रुवाएर ।
चढाउन सक्दिन म
मेरो दिलमन्दिरमा
तिम्रो लालीगुँरास
मेरो पैयुँ-चमेलीलाई चिथोरेर ।

म किरात !
म त बाँच्छु
मेरै बारीहरुमा
म मधेस !
म त बाँच्छु
मेरै फाँटहरुमा
म कर्णाली !
म त बाँच्छु
मेरै हिमालहरुमा
म मगरात !
म त बाँच्छु
मेरै सुसेलीहरुमा |

भो !
गाँस्दिन म पिडायुक्त मालाहरु
बरु
एउटै बनाउछु
एउटा मनमोहक बगैचा
एउटा समान दुनिया
जहाँ सबै हाँस्छन्
र गाँस्छन् प्रेमपूर्वक हातहरु
तर गाँस्दैनन्
पिडायुक्त मालाहरु ।
(०६-०५-०६७)

केहिदिनदेखि मेरो दिमागमा एउटा संग्रहले कब्जा जमाएको छ । कुरा हो सहकर्मी मित्र तथा पूर्वका चर्चित गजलकार सुवास आम्बोटेलीको दोस्रो गजलसंग्रह 'पलहरु’ को । ८२ ओटा गजलहरु समाविष्ट यो संग्रहले कलात्मक र वैचारिक रुपले कमजोर तर संख्यात्मक रुपले निकै फष्टाइरहेको नेपाली गजलसाहित्यमा आफ्नो कलात्मक उपस्थिती दमदार रुपमा जनाएको छ ।

यस संग्रहका गजलहरुको मुख्य विशेषता भनेको गजलले बोकेको मिठासयुक्त सांगीतिक छनक हो । गजलहरु एकफेरा पढेरै मजाले गुन्गुनाउन मन लाग्छ । सधै दोहोरिरहने काफियाको कम प्रयोग गरेर र नयाँ काफियाहरुको प्रवेश गराएर आम्बोटेलीजीले गजलकै सम्मान गर्नुभएको छ । सबैजसो गजलहरु संरचनाको परिक्षामा खरो छन् र तुकयुक्त काफियाहरुको प्रयोगले गर्दा गजलहरुले सजिवता पाएका छन् । धेरैजसो मिसराहरु आफैमा व्याकरणिक रुपले स्वतन्त्र र अर्थगत रुपले अन्तरसम्बन्धित हुदाँ जसलाई गजलको गहना पनि मानिन्छ कलात्मक दृष्टिकोणले करिब-करिब सबैजसो गजलहरु पूर्ण छन् । 

कला संरचना र शैलीगत रुपले निकै राम्रा गजलहरुले बोकेका विचार भने निकै साघँुरा छन् । प्रेमप्रणयलाई केन्द्र बनाएर निकै मिहेनतका साथ लेखिएका गजलहरुमा रहेको कमजोर वैचारिक पक्षले गर्दा अन्ततः गजलहरु परम्परागत मान्यताबाट माथी उठ्न नसकेको भन्ने धेरैलाई लाग्छ नै । देश र दुनियामा चलिरहेको वर्गीय लडाई र सामाजिक÷सांस्कृतिक रुपान्तरका विषयलाई पूरै नजरअन्दाज गरिनु यो संग्रहको कमजोर पक्ष हो । देशभक्ति नारीस्थितिबारे रचिएका केहि छिटपुट गजलहरुमा समेत सबै पक्षलाई तटस्थ आँखाबाट हेरिदा र सबैलाई एउटै खाल्डोमा हालेर हेर्दा देशमा उठीरहेको परिवर्तनकामी आवाजहरुमाथी अन्याय हुन गयो कि आम्बोटेलीजी ?

जेहोस 'पलहरु’लाई कलात्मक रुपले निकै नै सफल र वैचारिक रुपले केहि फिका गजलसंग्रहको रुपमा चित्रण गरिनु अत्युक्ति नहोला । आम्बोटेलीजीको सिर्जनशील यात्राको लागी शुभकामना…।
(साभारः शब्दशिखा)


आवरणमै गरिएको आन्दोलनको चित्राङ्कन, अलि फरक र आकर्षक डिजाइन र विमल निभाँलगायतका स्रष्टाहरुको सटिक टिप्पणीले जो कोहीलाई पनि किताब किनु-किनु लाग्छ । अनि जब किताब पल्टाएर पहिलो कविता 'मेरो हतियार' पढ्छ कसैले', तब उसले बाकि कविताहरु नपढेर विश्राम लिनै सक्दैन । कवि केशव सिलवालको नयाँ कविताकृति 'धारिला मानिसहरु'मा रहेका निकै जुझारु र जोशीलो शैलीका ४३ वटा कविताले पाठकलाई बाँधेर मजाले आफ्ना विचार सम्प्रेषण गर्ने क्षमता राख्दछन् । यसैलाई कविको सफलता मान्नुपर्छ ।

प्रगतिवादी कवि सिलवाल न कवितामा कलाविहिन जोरजबर्जस्ती मन पराउछन् न त विचारविहिन स्पन्दन मात्र । बरु उनी कवितालाई विचार र कलाको अद्धितिय संगम मान्दछन् र सोअनुरुप नै कवितामा प्राण भर्ने काम गर्दछन् । 'धारिला मानिसहरु' यसको पछिल्लो प्रमाण हो । उनी विम्बको पुनरावृत्तिको विरोधि पनि हुन् । 'धारिला मानिसहरु'मा नयाँ नयाँ विम्बहरुको उदय गराएर कवि सिलवालले प्रगतिवादी कविता यात्रामा आफ्नो कलात्मक उपस्थिती देखाएका छन् । तर पनि क्षमतावान कवि सिलवालले शैलीगत प्रयोगतीर आफुलाई अझै अगाडि बढाउन आवश्यक छ र आफ्नै कविताहरुबिच पनि शैलीगत भिन्नता कसरी ल्याउन सकिन्छ भनेर घोत्लिन जरुरी छ । 

लयात्मकता र सम्प्रेषणतालाई राम्रै ध्यान दिएकाले उनका कविता कविताहरुको भिडँमा हराउने नभई छुट्टै छाप छोड्ने बाटोमा अग्रसर देखिन्छन् । 'ङा चेपाङ', 'मागपत्र', 'बज्रपात', 'प्रिय कलाकार', 'प्रिय जलजला' लगायतका कविताहरुमा देखाईएको सन्दर्भबोध र सुझबुझपनाले कवितामा आफु बाँचेको युगको चेतना लिने र दिने नेतृत्वकर्ताको क्षमता झल्किन्छ । 'धारिला मानिसहरु'को सफलताको शुभकामना !

कल्लिराम र जानकी

Source: http://blogbishad.blogspot.com

ढडियामा बाँध्छ रहरहरु
र खोलामा बगाउछ आफ्नो सपना
नाङ्गो छाती नाङ्गो खुट्टा लिएर
कल्लिराम मुस्कुराउछ ।

होमपाइपका ढ्वाङ्गहरुमा
ऊ देख्छ देशको खोक्रो भविष्य
र रुखको हाँगामा बसेर
जोड-जोडले हँसिया चलाउछ
ऊ सडकमा आफ्ना केटाकेटी रोएको बिर्सन्छ
र फगत चराको बँचेरा हेरेर
कल्लिराम मुस्कुराउछ ।

उसकी जानकी चुल्होमा लगातार फुक्छे
र कहिल्यै नबल्ने आँगो सोचेर
आफै आँगो बन्छे
जानकी लजाउदैनी अचेल
र झार्दैनी परेलाहरु तल-तल
बरु कुरुप कपाललाई एक चुल्ठो बनाएर
शानसँग ठडिन्छे
र बारीमा साहुले बेरेको
डोरीको तारवार चुडाल्न दौडिन्छे
यो सब हेरेर
ऊ भने दुई घुट्को जाँड तान्छ
र कारखानाको लाटो श्रमीक हाँसे जस्तो
कल्लिराम मुस्कुराउछ ।

तर खै किन हो कुन्नी
जानकी अझै मुस्कुराउदैनी ।
(२८-०१-०६७)

रामभरोश

Source: http://blogbishad.blogspot.com

ऊ जहिल्यै लापरवाह लाग्थ्यो मलाई । स्थानीय रामभरोश चौधरी मेरो विद्यालयका धेरै थारु विद्यार्थीमध्यको एक थियो तर ऊ अरुभन्दा अलि बढी नै चाचल थियो । तर कहिलेकाही ऊ रिसायो भने लाग्थ्यो कि कुनै तुफान आउदैछ । विद्यालयका उच्च जात मानिने केटीहरुलाई ऊ जानि-जानि जिस्काउथ्यो र उच्च जातका केटाजतिलाई घृणाको दृष्टिले हेर्ने गथ्र्यो । उसले शिक्षकहरुसँग पनि त्यस्तै व्यवहार गर्ने हुनाले उसलाई धेरैले मन पराउदैनथे । मलाई पनि उसको त्यो व्यवहार त्यो बेला पटक्कै मन पर्थेन । मलाई लाग्थ्यो यो भेकमा अरु जातिले थारुलाई हेप्छन् भन्ने सब हल्ला मात्र हो बरु ऊ पो अरुलाइै हेप्दैथ्यो ।

तर वास्तविकता चाहि अलि फरक रहेछ । उसको पुर्खाको सयौ मुरी धान फल्ने खेतहरु प्युठानबाट बसाइँ सरेर आएको जनार्दन शाहले विभिन्न बहानामा हडपेको थियो । उसको बुवा धनराम उसकि बहिनी फुलमाया र ऊ स्वयम् पनि जनार्दनले हडपेको आफ्नै खेतमा खेताला भएर बाँच्नुपरेको थियो । उसकि आमा दधिया पनि खेतालाको जीवन बाँच्दा बाँच्दै वैशमै एकदिन यो संसारबाट मुक्त भएथिन् । यी सब कुराले रामभरोशको मानसिकतामा जनार्दनलगायत सबै पहाडेप्रति एक किसिमको घृणा बसिसकेको थियो ।

रामभरोश विद्यालयमा विशेषगरी वर्षालाई भने जहिल्यै जिस्काइरहन्थ्यो र कहिलेकाहि झगडा गर्न पनि पछि पर्दैनथ्यो किनकी वर्षा जनार्दनकि छोरी थिई र उसँगै पढ्थी । ऊ अरु आफ्ना थारु साथीहरुलाई पनि वर्षालाई जिस्काउन उक्साइरहन्थ्यो । वर्षा स्थानीय निजि स्कुलमा ९ र १० कक्षा नभएकोले भखैरै एक वर्ष पहिले सो विद्यालयमा सरेकि थिई । त्यसैले रामभरोशलाई विगत एक वर्षदेखि वर्षालाई सताउने चिढ्याउने राम्रो काम मिलेको थियो ।

उसो त रामभरोश महिनामा १२ १५ दिनमात्र विद्यालय आउथ्यो र बाँकी दिन वर्षाकै बाबुको खेतमा गएर काम गथ्र्यो । उसकि बहिनी फुलमायाले विद्यालय छाडेको पनि लगभग ४ वर्ष बितिसकेको थियो । फुलमाया चाहि खेतको अलावा घरमा पनि काम गर्ने गर्थि । विशेषगरी सबै चौपायाको रेखदेख गर्ने र भान्सामा खाना पकाउने जिम्मा फुलमायाको थियो ।

वर्षाको दाई सौरभ वर्षौपछि घर फर्केको थियो । ऊ आएको खुशीमा खुब रमाइलो गरेथे जनार्दनको परिवारले । दुलहिजस्तै सजाईथ्यो उनीहरुको चारतले महल । तर काठमाडौंको हावा लागेको सौरभलाई त्यहाँका मान्छे अलि छाडाँ व्यवहार गर्नेको रुपमा बुभुथे तर बोल्ने हिम्मत त कसैको पनि थिएन ।

त्यो दिन फुलमाया घाँस काट्न जनार्दनको बारीमा पुगेकि थिई । आफ्नो बारी पनि नभएको र जनार्दनकै खेतमा खेताला गर्ने हुँदा फुलमाया बेला-बेलामा जनार्दको बारीमा आईरहन्थि । सौरभको कुदृष्टि पहिलेदेखि नै फुलमायामाथी परिसकेको थियो । त्यसैले बाघले मृग पर्खेझै सौरभ त्यहि मौकाको पखाईमा बसिरहेको थियो । कोही नभएको मौका पारेर सौरभ फुलमाया भएको ठाउमा गयो । सुस्तरी फुलमाया भएतिर गएर अचानक उसमाथी झम्ट्यो तर फुलमाया चिच्याउदै भाग्न सफल भई । सौरभ सिकार फुत्किएकोमा दुःख मनाउदै घर फक्र्यो ।

अर्कोदिन विद्यालयमा रामभरोश आधाघण्टा ढिलो आयो । ऊ अरुदिनजस्तो चाचल पनि देखिएन । हिजोराति बहिनीले सुनाएका दृश्यहरुले उसको मस्तिष्कलाई त्यो बेलासम्म पनि आक्रान्त पार्दै थिए । ऊ त्यो दिन कसैसँग बोलेन र अन्तिम कक्षा अगावै त्यहाँबाट निक्लियो । रामभरोशले नजिस्काएको र चाडै निक्लिएकोले धेरैले राहत महसुस गरे त्यो दिन ।

वर्षा आफ्नी साथीसँग कुरा गर्दै घर फिर्दै थिई । दोबाटोपछि ऊ एक्ली भई । रामभरोश पहिलेदेखि बाटोमा वर्षालाई कुरिरहेको थियो । वर्षलाई उसले आफुतिर बोलायो । वर्षा केहि अचम्मित हुँदै केहि भयभीत हुँदै ऊ तिर गई ।

वर्षा रुदै-रुदै घरमा पुगी । बुबाले दशौ पल्ट सोधिसकेपछि वर्षाले रामभरोशले आफुमाथी जबर्जस्ती गर्न खोजेको र आफु भागेर आएको बताई । जनार्दन दात किट्दै रिसले कराउदै अनि मुखबाट गाली निकाल्दै ढोकाबाट निस्किन खोज्यो । अचम्म वर्षा अचानक चुप भई र ढोकामा गएर बाबुलाई रोकि । वास्तवमा वर्षालाई रामभरोशले केहि गरेको थिएन बरु अरुदिनभन्दा नम्र भएर वर्षालाई सौरभले आफ्नी बहिनीमाथी गरेको अनयाय सुनाएको थियो । वर्षाले पनि उसलाई न्याय दिलाउछु भनेर सम्झाएकी थिई । ढोकामा बाबुलाई रोकेर वर्षाले सब साँचो साँचो बताई अनि दाईले फुलमायाप्रति गरेको व्उवहार पनि खुलस्त गरी । वर्षालाई विश्वास थियो आफ्नो छोरीमाथी यस्तो व्यवहार भएको सुन्ने बित्तिकै रिसले आँगो भएको उसको बाबुले रामभरोशको परिवारप्रति भएको अन्याय पनि महसुस गर्नेछ । अचम्म जनार्दनले कुनै प्रतिकि्रया दिएन न त सौरभलाई नै हप्कायो । यत्रो घटनालाई पनि बाबुले सामान्य रुपमा लिएकोमा वर्षाले गम खाई । अझ अपहेलित भाषामा उल्टो फुलमायाको परिवारमाथी जनार्दनले आक्षेप लगाउन सुरु गर्यो । अब भने वर्षालाई एक वर्षदेखिको रामभरोशको त्यो अस्वाभाविक व्यवहार र त्यो भित्र लुकेको उसको पिडा अनि आफुजस्ता कथीत उपरी परिवारबाट उनीहरुले पाएको अन्याय बिस्तारै बुझेझै महसुस भयो ।

पुलिस रिपोर्ट लेखाएको दुईदिनसम्म पनि पुलिसले सौरभलाई छुनसम्म नसकेपछि आक्रोशीत रामभरोशले सहन सकेन । उसले साभषपख एउटा पसल अगाडि सौरभलाई भेट्यो । रामभरोशले सौरभलाई पुलिसमा गएर साँचो-साँचो भन भनेर हप्कायो । तर धनी बाउको छोरोले के सुन्थ्यो । सौरभले उल्टो रामभरोशको गला समातेर हुत्याइदियो । बहिनीमाथीको अन्याय र उल्टो आफुमाथीको त्यो अपमानले रामभरोशको मस्तिष्कमा रिसको लहर बँग्न थाल्यो । उसले नजिकै रहेको एउटा ढुँगा टिप्यो र सौरभको टाउकोमा हिर्कायो । सौरभ रक्ताम्मे भएर ढल्यो अनि रामभरोश तुरुन्तै त्यहाँबाट फक्र्यो ।

त्यसको भोलीपल्ट झिसमिसे बिहानमा युनिफाइड फोस्रको एक जत्था रामभरोशको घरमा पुग्यो । फुलमाया र रामभरोशलाई ुआतंककारीु भन्दै उनीहरुले लतार्दै लगेर दुवैलाई भ्यानमा हाले । यो सबका योजनाकार जनार्दन र उसको घाइते छोरो सौरभ तमासा हेरेर मुस्कुराउदै थिए । आफ्ना छोराछोरीलाई झुठो आरोप नलगाउन र तुरुन्तै छोड्न बुढो धनीरामले आलापविलाप गरिरह्यो तर उसको त्यो विलाप कतै हावामा घुल्न पुगे ।

त्यसपछिका दिनहरु धनीरामका लागी झन-झन कठोर सावित भए । धनीराम दशौपल्टसम्म पनि चौकि र ब्यारेकमा जाँदा उनीहरुलाई ल्याइएको अस्वीकार गर्दैथिए राज्यका कथित संरक्षकहरु । त्यस घटनाको ३ ४ वर्षपछि ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलन भए । आन्दोलनमा दुई पटक धनीरामको टाउको पनि फुट्यो । उसलाई आशा थियो नयाँ सरकारले उसका सन्तानका बारेमा सत्य-तथ्य बोल्नेछ । आज त्यो घटना घटेको ८ वर्ष पुग्न लागिसक्यो तर अभैर उनीहरुको अवस्था कसैलाई थाहा छैन ।

उनीहरुलाई वेपत्ता सुचिमा राखिएको त छ तर परिवर्तित सरकारहरुले पनि अवस्था सार्वजनिक गर्न नसकेपछि धनीराम दिनप्रतिदिन निराश बन्दै गएको छ । उता जनार्दन तराई पार्टिको तर्पुबाट देश बदल्ने संविधानसभाको चुनावमा सभासद बनेको छ र तराई मुक्ति अभियानको नेता बनाईएको छ । सबै यथार्थबाट अनविज्ञ वर्षा पनि बिहे गरेर विदेशिएकि छे । अस्तै भर्खरै एउटा स्थानीय पत्रिकामा सौरभले एउटी अर्कि थारु केटीको बलात्कार गरेको समाचार छापिएको थियो तर सौरभ काठमाडौं फर्केको भोलिपल्टै फेरि अर्को राष्ट्रिय पत्रिकामा सौरभको गुणगाण गाउदै झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको उल्टो आरोप लगाईएको थियो । जे होस सौरभले स्वतन्त्र र आरामदायी जिवन बाँच्दै छ ।

उता निराश बनेको धनीराम कतै आफ्ना छोराछोरी फर्किहाल्छन् कि भनेर साँझपख घण्टौसम्म बाटोतिर हेरिहन्छ ।
(०७-०१-०६७)

म आए


मनका ए रहरहरु ! ननिदाउ म आए
अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए

यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए

कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए

चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि
पर्ख अझै यति छिट्टै नबताउ म आए
(२०-०२-०६७)

बज्यैँ

SOURCE: http://www.blogbishad.blogspot.com

पोल्टोभरी घाम कुरी बसेकीथिन् बज्यैँ
कुर्दाकुर्दै डिलबाटै खसेकिथिन् बज्यैँ

धमिला ती आँखाहरु रहर मिठा पाल्थे
रहरको रहभित्र पसेकीथिन् बज्यैँ

पाँखाबारी उमार्ने नै उनको देउता थियो
कुटोसँगै मुठ्ठी पनि कसेकीथिन् बज्यैँ

उनी सोच्थिन् आकाश खुली खुशी दिई जाला
धर्ती चुस्ने छाँया कति डसेकीथिन् बज्यैँ
( 03-02-067)

सारस र हामी

सारसहरु हवाईजहाज चढेर आउछन्
अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !

सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !

सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !

सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !

यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !
(०१-०२-०६७)

यतिखेरको राजधानि

जब बेस्सरी कम्पन हुन्छ टेबल,
झुठको भारी थाम्न नसकेर
पुरानो पत्रिकाको सम्पादक
झुठ लेख्न डराउँछ |

जब मध्यरातमा
बल्दै-निभ्दै गर्छ
चम्चमाउदो झुमरको मधुरो प्रकाश
राजधानीको रातव्यापारी
टक्क रोकिन्छ फोनमा कुरा गर्दागर्दै
र ट्वाल्ल परेर हेरिरहन्छ
घण्टौसम्म झुमरमा |

जप ब्ल्याकबोर्डको मानचित्र सच्याएर
गर्वका साथ ठडिन्छ फुच्चे विध्यार्थी
राजधानीको तलबी शिक्षक
हात कमाउदै, शीर निहुराउदै
बाहिरिन्छ |

जब धानको तौल जोख्न
राजधानी भित्रिएको गाउले किसान
आफै बोक्दछ सहि-सहि ढकहरु
पसीना पुछ्न थाल्छ
सिँहदरबारको भ्रष्ट कर्मचारी |

जब लामबद्ध पर्खाल बनेर
मुस्कुराउछन राजधानीका लाखौँ नाङ्गा ढाडहरु
बन्दुकधारी तर्सीन्छ
ढाडमा आफ्नै प्रतिविम्व देखेर |

राजधानीमा केवल
प्रदुषण मात्र बढेको छ भन्ने नठान
राजधानीको पैतालादेखी टुप्पीसम्म तापक्रम बढेको छ यतिखेर |
(12-01-067)