दस्तावेज

Source: http://blogbishad.blogspot.com
बाहिर झरी पर्न सुरु गरिसकेको थियो । झ्यालका कुनाकाप्चा ठोक्किदै पानीका केही थोपाहरु विष्णु शर्माका गालाभरि शितलता छर्न आइपुगे । आफ्नो मोटो चश्मा र हातको सानो किताब टेबलमा छोडेर उनी झ्यालनजिक पुगे । "ओहो ! आज कति चाडै अँध्यारो भएछ !"  झरीले गर्दा पाँच बज्दानबज्दै बाहिरी वातावरण अँध्यारो भइसकेको थियो । सडकभरि जाममा रुकेका मोटरका बत्तीहरुको चापमा सिङ्गो सहर कतै हराएझैँ देखिन्थ्यो । सधै उनले हेर्ने गरेको यो सहर आज नौलो-नौलो लाग्दै थियो । पूरा सहर चियाउँदै गरेका उनका आँखा एउटा बन्द भइसकेको स्वदेशी साबुन कम्पनीको भव्य पुरानो भवननिर पुगेर आफै रोकिए । आजसम्म त्यो भवनलाई ध्यान दिएर उनले हेरेका रहेनछन् बल्ल चाल पाए उनले । भवनको टुप्पोमा एउटा बडेमानको होर्डिङबोर्ड निकै उज्यालोको साथ चम्किरहेको थियो । आँखालाई निकै दुःख दिएर उनले हेरे त्यो बोर्ड छिमेकी देशको एउटा चर्चित बहुराष्ट्रिय कम्पनीको थियो । सो कम्पनीले बनाउने जुसमा कीरा भेटिएको भन्दै अघिल्लो महिना देशमा ठूलो बबण्डर मच्चिएको उनले सम्झे । ठूलो माछाले सानो माछालाई निलेझैँ त्यो होर्डिङबोर्डले सो भवनलाई एकै गाँसमा निलिरहेझैँ लाग्यो उनलाई । उनी निकैबेरसम्म त्यही परिदृश्यमा टोलाए र अन्तमा झ्याल ठ्याप्प बन्द गरेर फेरि त्यही सानो किताब पढ्न थाले ।

पूर्वसांसद विष्णुप्रसाद शर्मा अघिल्लो झण्डै एक घण्टादेखी भर्खरै सशस्त्र विद्रोह थामथुम गरेर सहर पसेको पार्टीको गोप्य दस्तावेज पढ्दै थिए । कोठाबाहिर परिरहेको झरीले केही क्षण उनको ध्यान खिँचेको थियो । उनी बाहिर-बाहिर भाषण गर्नुपर्दा त विश्वस्त पाराले अब यो पार्टी सिद्धिन्छ सिद्धिन्छ भनी कुर्लन्थे तर भित्र-भित्र डराउथे पनि । अब फेरि केही नया तरिकाले आफ्नै मुद्दाहरु स्थापित गरिछाड्छ भनेर उनको छातीमा ढ्वाङ्ग्रो बजिरहन्थ्यो । त्यहि भएर विरोधी पार्टीकै सहि हर दस्तावेजहरु मगाएर पढ्ने र त्यसै अनुरुप चलाखीपूर्ण रुपले आफ्नो पार्टीलाई सल्लाह दिने अहिले उनको दिनचर्या थियो ।

"जनतन्त्र र राष्ट्रियता एकअर्कासँग अभिन्न रुपले गाँसिएका हुन्छन् नै । जनतन्त्रको प्रश्न महत्वपूर्ण हुदाहुदै पनि अहिले राष्ट्रियताको प्रश्न प्रधान बन्न गएको छ । देशको सिमानादेखि सत्तासम्म छिमेकी देशको राज्यसत्ताको प्रत्यक्ष हस्तक्षेप छ अहिले । न्युनतम रुपले राष्ट्रिय स्वाधिनताको पक्षमा रहेका जो-कोहीसँग पनि एकता गरेर मात्र अहिले देशको अस्तित्व रक्षा गर्न सकिन्छ । नत्र भविष्यले न त हामीलाई न त अरु कुनै पार्टीलाई नै क्षमा दिनेछ ।" दस्तावेजको यो लाइन फेरि दोहोर्याएर पढे उनले ।

भित्र भान्साबाट माछा भुटेको बासना आइरहेको थियो । श्रीमती थोरै झोँकमा केही बर्बराउँदै पनि थिई । तर विष्णु प्रसादले सुनेनन् । "फेरि माछा पकाएछि शारदाले । कहिलेकाहिँ त गाउँबाट आमाले पठाएको सिन्की पनि यसो बनाइदे हुन्थ्यो नि ।" कुनैबेला गाउँमा आमाले पकाएको गाउँले खाना सम्झिदै उनले मुख मिठ्याए । आफ्नो कोठाबाट छोरा ठूलो-ठूलो स्वरमा हिन्दी गीत गुन्गुनाउँदै थियो । विष्णु प्रसादलाई रिस उठिरहेको थियो । तैपनि उनी उठेर गएर छोरालाई गाली गर्ने मुडमा थिएनन् उनी त व्यस्त थिए गोप्य दस्तावेज पढ्न त्यो पनि प्रधान विरोधी पार्टीको जसको एक साधारण उम्मेदवारले उनीजस्तो केन्द्रीय स्तरको नेतालाई अघिल्लो संविधानसभाको चुनावमा पछारेको थियो ।

"अनी छोरालाई इण्डिया पढाउन पठाउनुपर्यो नि अब । एस. एल. सी. मा तेत्रो नम्बर ल्या'छ उतै राम्रो हुन्छ ।" श्रीमतीको वाणीसँगै झस्किए विष्णु शर्मा ।

"सोचौँला !" वेवास्ताको शैलीमा सिधा उत्तर दिए मतलब उनलाई छोरालाई बाहिर पठाउने मुड थिएन सायद ।

"सोचौँला रे ! हिजोसम्म त हुन्छ भन्दै हुनुहुन्थ्यो त के भो आज । यो देशमा राखेर के गर्नु र उल्लाई केही हुनेवाला छैन यहाँ । तपाईलाई पो देश जति बिग्र् यो त्यति जाति हुन्छ नेतागिरी गर्न हाम्लाई त यो बिग्रया देशमा बस्ने रहर छैन म पनि जान्छु छोरासँगै ।"

श्रीमतीले मानौ घाँटी अठ्याएभैष लाग्यो विष्णु शर्मालाई । "हँ देश जति बिग्र् यो त्यति जाति हुन्छ नेतागिरी गर्न ? " मनमनै प्रतिप्रश्न गरे उनले ।

श्रीमती अनेक कचकच गर्दै भान्सामै फर्किइन् । विष्णु शर्माको कानमा भने तिनै शब्दहरु गुन्जिरहे 'देश जति बिग्र् यो त्यति जाति हुन्छ नेतागिरी गर्न ।'

उनले कुर्सीलाई पछाडिसम्म तन्काए र एकछिनसम्म आखाँ चिम्म गरिरहे । आफ्नो पार्टीको लोगो अङ्कित धातुको ब्याच फुकालेर टेबलमा राखे र एकछिनसम्म ब्याचमा घोरिए । फेरि टेबलमा पल्टिरहेको दस्तावेजका बाँकी लाइनहरुमा उनको आँखा दौडिन थाल्यो ।

वानरप्रदेश

Source: http://blogbishad.blogspot.com
म वानरप्रदेश
चेप्टिता-चेप्टिदै
यति चेप्टिसके कि
अब म सक्छु
सियोको प्वालबाट पनि छिर्न
अनि जन्माउन सक्छु म आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड ।

यहि हलोले खोतल्छु म अब
मेरो भूमीको 'बुरान*' कथा
यहि फरुवा लिई खोज्छु म अब
आलीमा खुम्चिएको मेरो ज्यथा
राप्तिसँगै बगेको समय
समयसँगै बगेको राप्ति
अब मोड्छु म मेरै छातितिर
र पुरै बगाउछु
यो छातिभित्रको दासता ।

अब फुल्छन् आँप-अम्बाहरु
र म उफ्रिन्छु लामो उफ्राइ
हाँगाबाट-हाँगासम्म
अब झुल्छन् धान-मकैहरु
र म दौडिन्छु लामो दौड
खेतदेखि-खेतसम्म
सगर्व घुमाएर मेरो आदिम पुच्छर
म हिड्छु अब
सभ्यताको नयाँ विन्दुबाट ।

के तिमीमा छ यो शिल्प ?

ल सुन
मेरै छाती थिची बसेका
तिमी बिरानो शहर !
मेरै मुटु चिरी बगेका
तिमी बिरानो सडक !
तिमीले ठड्याइदिएको
यो ओढार च्यातेर
अब उदाउछु- म वानरप्रदेश
र जन्माउछु आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड
एउटा स्वायत्त ब्रम्हाण्ड ।

बुरान* : आफ्नो भूमी छलपूर्वक हत्याइएपछि थारुहरुले गरेको बसाइँसराइँ ।
(२५-११-०६७)

भूत

Source: http://blogbishad.blogspot.com
मार्टिनकी आमा नातीलाई सँगै च्यापेर सिकागो शहरको सडकमा ओर्लिइन् । उनीसँगै सडकमा ओर्लेका हजारौ अमेरिकीहरु प्रेसिडेण्ट चुनावको नतिजा सुन्न निकै व्यग्र थिए । सडकको ठूलो टिभीस्क्रिनमा नतिजा देखाइनुअघि सबैको धड्कन एकदमले रोकियो ।

धेरैले सोचेजस्तै मिस्टर ओबामाले बाजी मारे । मार्टिनकी आमा आँखामा रसाएको आशु पुछ्दै नातीसँगै जोडजोडले उफ्रिइन, ताली बजाइन्, लगभग नाँचीन् । त्यो भीडको मन्चमा सुन्दर श्रीमती र छोरीको साथमा अमेरिकाका पहिला काला प्रेसिडेण्ट मिस्टर ओबामा आइपुगे । मान्छेहरुले यो रोमान्चक माहोलको पुरापुर आनन्द लिए । जब ओबामाले इराकबाट एक वर्षमै सेना फिर्ता बोलाइन्छ भनेर भाषण गरे गड्गडाहट तालीले सिँगो आकाश थर्कीयो । त्यो गड्गडाहटमा मार्टिनकी आमाको ताली सबैभन्दा चर्को सुनिन्थ्यो । अब उनलाई पक्का विश्वास भयो उनको सैनिक छोरो जो धेरै डलर बटुल्ने सपना लिएर इराकमा खटिएको थियो अब ठिकठाक घर फर्कनेछ । उनलाई विश्वास यो कारणले पनि थियो किनकी यो पालीको प्रेसिडेण्ट उनकै काला जातिमध्यको एक थियो ।

मार्टिनको बुवा पनि सेनामै थिए । केहि वर्षअघिसम्म उनी अफगानिस्तान युद्धमा खटिएका थिए । एकदिन अचानक जागीर छोडेर उनी घर फर्किए । मार्टिनकी आमाले धेरैपल्ट कारण सोधेपछि उनले भनेथे "यहाँ गोराले हामी कालामाथी हेप्यो भनेर उठ्ने हातले अब साम्राज्य बढाउने नाउमा निर्दोष अफगानीको हत्या गर्न सक्दैन ।" घर फर्किएको भोलीपल्टबाटै धेरै मिडियाले उनलाई गद्दारको उपमा दिन थाले र अन्ततः त्यहि कारणले उनले आफ्नो मानसिक सन्तुलन गुमाए । आफ्नो अन्तिम घडिमा मार्टिनको बुवा "भूत ! भूत !" भन्दै कराउदै मरे । त्यसपछिदेखि नै इराकमा रहेको आफ्नो छोरोको चिन्ताले मार्टिनकी आमालाई पिरोल्न सुरु गर्यो ।

ओबामा प्रेसिडेण्ट चुनिएको एक दुई तीन वर्ष बित्यो । इराकमा हजारौं मान्छे मारिएको समाचारले मार्टिनको घर झन्-झन् त्राशमय हुन थाल्यो । मार्टिनकी आमाले दिनहुँजसो आशा लाग्दो आँखाले प्रेुममा सजिएको ओबामाको तस्विर हेर्न थालिन् ।

सन् २०११ को नोभेम्बरको एउटा चिसो साँझमा टिभीले फुक्यो उनको छोरो पनि अब कहिल्यै फर्कन नसक्ने भएर यो संसारबाट विलाएको खबर । उनी एकदमै ढुँगाजस्तै भइन् विल्कुल गतिविहिन । फेरि अचानक उठिन् उनी र बिस्तारै बढिन् कालो प्रेसिडेण्टको तस्विरतिर । उनले त्यो प्रेुमलाई जोडले भुइँमा पछारिन् । प्रेुमको सिसा ठूलो आवाज आउने यरी फुट्यो । त्यसपछि उनले फुटेको प्रेुमबाट ओबामाको तस्विर निकालिन् । फोटो च्यातचुत पारिन् । नातितिर फर्किएर उनले सानो स्वरमा बोलिन् "बाबु ! त्यो ह्वाइटहाउसमा जो आएपनि अन्त्यमा भूत बन्छ भूत मान्छे मार्ने भूत ! त्यहाँ कहिल्यै नजानु है ।" बुढी फेरि पागलझै हाँस्न थालीन् ।
(पुष, ०६७)

Source: http://blogbishad.blogspot.com 
भोको पेट बोकेर यो पागल घोडा गौशाला हुदै चावहिलतिर बढ्यो । बिहानभर भक्तपुरमा उफ्रेको थकाइ, कुद्नलाई पुग्ला-नपुग्ला निश्चित नभएको रिजर्भ पेट्रोल र बाटोको जामले गर्दा पागल घोडा झन पागल बन्दैथ्यो । मेडिकेयर हस्पिटलको गेटनिर पुग्नेबित्तिकै एक हातले धुवा उडाउदै, अर्को हात उठाएर समय हेर्दै गरेका गोविन्द वर्तमान दाईले हाँसी-हाँसी थर्काइहाले "अब यतिकै ढिलो हुने भएपछि यो सल्केको ठूटो ननिभाएर के जानु ? ” मैले चुपचाप आफ्नो गर्धन हल्लाइदिए ।

बाटोभरी रातोघरमा साथीहरुले कुर्दै बसेका दृश्यहरु मेरो आँखामा घुमिरह्यो । वर्तमान दाईले बेला बेलामा समय बताउदै यो पागल घोडालाई निकैपटक रन्थन्याए । मलाई त लाग्दैथ्यो यहि पागलपनको मौकामा कहि गएर जानी-जानी लडिदिउ तर सोचे "कार्यक्रमका लागी कम्ता मेहनत भा’छैन ।”

रविभवनको रातोघरमा प्रत्येक तेस्रो शनीवार हुने भनिएको 'अक्षरसँग’ कार्यक्रमको पहिलो श्रृङ्खलामा लाग्दै थियौँ हामी । यो पाली समीक्षकको रुपमा वर्तमान दाईलाई डाकिएको थियो । उहाँलाई ल्याउने जिम्मा यो घोडालाई बाहेक कल्लाई जान्थ्यो र ? कार्यक्रम लगभग सवा तीन तिर सुरु भयो । टापलाई आराम दिएर पलेटी कसेको मैले यसो आँखा लगाए अगाडि स्नेह सायमी, लक्ष्मी माली, स्व. स्वप्निल स्मृतिजस्ता हस्तीहरु थिए । तिलक चाम्लिङ आफ्नो रेकर्डर रेडी पार्दै थिए । यो पालीका सहभागी कविहरु नाकिमा, नदीश, मन्जु मार्मिका, अस्मिता माली मानन्धर, दृश्य र म हातमा परेको कविताको पानामा बारम्बार आँखा दौडाउदै थियौँ । सबैले मजाले कविता वाचन गर्यौ । अतिथी कवि बनेका स्व. स्वप्निल स्मृति दाईले कविता बिर्सिए भन्दै गर्दा मैले रिसाएर स्वर्गीयलाई नर्किय लेखु कि सोच्दैथिए तर खै कहाँबाट अन्तिममा कविता निकालिहाले उनले पनि । स्रोताको रुपमा उपस्थित पुग-नपुग नौं/दश जना साथीहरु खुब ध्यान दिएर सुन्दै थिए ।

संचालकले समीक्षाको पालो आयो भन्ने बित्तिकै यतिन्जेल लोसे भएका वर्तमान दाई जीउ तन्काएर तयार भै हाले । स्वीटरभित्र हात घुसारेर बुढाले पट्याएर राखेको कागज फैलाए र सुरु गरे तीरहरु चलाउन ।
सुरुमै पागल घोडाको पूर्ण-मुण्डन गरिहाले बुढाले । भने "यो पागल घॊडा होइन, सद्दे पो हो ।” आफ्नो पागलपनप्रतिको मेरो घमण्ड रातोघरभित्र पोलियो । त्यसपछि डढाए ल्होत्साम्पेली कवि नाकिमाको कविता । झण्डै उठेरै हिर्काए उनले "फुटनोट लेख्ने भए कविता नलेख ।” उनले नदीशको बज्यैलाई छिप्पेकी बज्यै भन्दै प्रणाम गर्न मानेनन् । दृश्यको प्रतिज्ञा सुनेर खितित्त हाँस्दै बर्बराए "सादा पोसाक ला’को आर्मी ।” मार्मिकाको कविता पूर्ण गर्न लाहाछाप लगाइ आदेश दिए । अस्मिताको कवितालाई भने "पूर्णप्रतिकमा अडिएको छ” भन्दै राम्रै स्नेह दिए ।

कार्यक्रमपछि चिया खादै गर्दा स्व. स्वप्निल दाईको सामुन्ने कवि लक्ष्मी मालीको प्रश्न तेर्सियो "तपाई स्वर्गीय मान्छे कसरी ज्यूदो हँ ? ”  दाईले पनि स्वर्गीय मुस्कान थपे चुपचाप । उता वर्तमान दाई कुनामा गएर 'अवैधानिक काम गरु है’ भन्दै धुवा उडाउन लागे । 


त्यसपछि यो पागल घोडाको टाप फेरि दौडियो वर्तमान दाईलाई च्यापेर चावहिलतिर । बाटोमा थो-थोरै कुराकानी पनि भो । मैले तीनचारचोटी धन्यवाद भने, उनले पनि त्यति नै चोटी घडि हेरे । मैले बेला-बेलामा सोचे "यि त गजबका मान्छे रैछन्, अब म पनि सद्दे हुनुपर्छ ।” चोकमा ओर्लेर बुढाले ताजा समाचार सुनाए "अैले त जम्मा २० मिनेटमै आइयो त, कति छिटो ।” उनलाई पत्तै रहेनछ रिसा’को बेला सद्दे भइनसकेको पागल घोडा कस्तरी दौडन्छ भनेर ।
(१६-१०-०६७)

अलि धेरै बाँच्दैछु

Source: http://blogbishad.blogspot.com
अलि धेरै बाँच्दैछु
अलि धेरै हाँस्दैछु
म मरेपछिको लागी
थप जीवन साँच्दैछु

भलै छैन मेरो माटो तर अन्न उमार्नुछ
सुख्खा यी ओठभरी रिमझिम झरी पार्नुछ
यस्तै बेग्लै सपना आँखामा म गाँस्दैछु

बद्लिनेछ मरुभूमी एकदिन त सागरमा
फैलिनेछ नदी पनि पर-पर बगरमा
हिड्छु तातो वालुवामा, काँडामा म नाँच्दैछु
(१८-०९-०६७)

यहि त दासता हो

न फुल्छ गौरव छाती
न उठ्छ शीर माथी
यहि त दासता हो |

बोक्छौ तिमी आकाश
र बोक्छौ नयाँ मालिक
पुज्छौ यो धर्ती
र माटो चोर्ने शालिक
न बाँच्नु न मर्नु
यहि त दासता हो |

खै उठेको मुठ्ठी ?
खै उठेको लाठी ?
देश नै विलाइसक्यो
खै जलेको छाती ?
चुपचाप पर्खिरहन्छौ
यहि त दासता हो |

(मंसीर-067)

लौ आयो रातिपख

Source: http://blogbishad.blogspot.com

सिमापारीबाट छाँया लौ आयो रातिपख
सुस्त-सुस्त सबलाई विष पिलायो रातिपख

देशको सपुत साँच्दै थियो मुक्त भ'को रहर
उजेलीको सपनी त्यो जलायो रातिपख

मुठ्ठीहरू बन्दै थिए रातो सगरमाथा
झस्की यता तीरहरू चलायो रातिपख

आकाश भरी हुरी बनी जब जाँगे मान्छे
दुई पलमै छाँया कतै बिलायो रातिपख
(08-08-067)

जीवन

Source: http://blogbishad.blogspot.com
धेरैको देखे रूने जीवन
केहीको चन्द्र छुने जीवन

आशागीत म गाउ कसरी ?
देख्दैछु बराबर नहुने जीवन

पसिनाले जिन्दगी फलाउछ आखिर
केहीले पसिनाकै थुने जीवन

लाखौ अक्षरले बद्लेन संसार
अनि पो युद्धको चुने जीवन
(06-06-067)

पिडायुक्त मालाहरु

Source: http://blogbishad.blogspot.com/
सियोले घोचेर
जबर्जस्ती नगाँस फूलहरु
र नबनाउ
एउटा भद्दा लहरे माला
मात्र चढाउन
तिम्री गँगाजमुना देवीलाई ।

मान्दिन म
सियोले जबर्जस्ती घोचेर बन्छ
सँयौ थुँगा फूलको माला
मान्दिन म
प्रकृतिको आँचलले छर्छ
यो बगैचामा सुगन्धित सुवास
बरु गन्हाउन थाल्छ
उही एकात्मक विर्यको गन्ध
उही कान्तिपुर खाडलको
मरेको भ्यागुताको दुर्गन्ध
उही धरहराको काँडे हेपाई
उही ढाकाटोपीको बौलठ्ठ रजाइँ ।

बनाउन सक्दिन म
मेरो छाप्रोको रानी
तिम्री गाई देवीलाई
मेरी चौरी आमा रुवाएर ।
चढाउन सक्दिन म
मेरो दिलमन्दिरमा
तिम्रो लालीगुँरास
मेरो पैयुँ-चमेलीलाई चिथोरेर ।

म किरात !
म त बाँच्छु
मेरै बारीहरुमा
म मधेस !
म त बाँच्छु
मेरै फाँटहरुमा
म कर्णाली !
म त बाँच्छु
मेरै हिमालहरुमा
म मगरात !
म त बाँच्छु
मेरै सुसेलीहरुमा |

भो !
गाँस्दिन म पिडायुक्त मालाहरु
बरु
एउटै बनाउछु
एउटा मनमोहक बगैचा
एउटा समान दुनिया
जहाँ सबै हाँस्छन्
र गाँस्छन् प्रेमपूर्वक हातहरु
तर गाँस्दैनन्
पिडायुक्त मालाहरु ।
(०६-०५-०६७)

केहिदिनदेखि मेरो दिमागमा एउटा संग्रहले कब्जा जमाएको छ । कुरा हो सहकर्मी मित्र तथा पूर्वका चर्चित गजलकार सुवास आम्बोटेलीको दोस्रो गजलसंग्रह 'पलहरु’ को । ८२ ओटा गजलहरु समाविष्ट यो संग्रहले कलात्मक र वैचारिक रुपले कमजोर तर संख्यात्मक रुपले निकै फष्टाइरहेको नेपाली गजलसाहित्यमा आफ्नो कलात्मक उपस्थिती दमदार रुपमा जनाएको छ ।

यस संग्रहका गजलहरुको मुख्य विशेषता भनेको गजलले बोकेको मिठासयुक्त सांगीतिक छनक हो । गजलहरु एकफेरा पढेरै मजाले गुन्गुनाउन मन लाग्छ । सधै दोहोरिरहने काफियाको कम प्रयोग गरेर र नयाँ काफियाहरुको प्रवेश गराएर आम्बोटेलीजीले गजलकै सम्मान गर्नुभएको छ । सबैजसो गजलहरु संरचनाको परिक्षामा खरो छन् र तुकयुक्त काफियाहरुको प्रयोगले गर्दा गजलहरुले सजिवता पाएका छन् । धेरैजसो मिसराहरु आफैमा व्याकरणिक रुपले स्वतन्त्र र अर्थगत रुपले अन्तरसम्बन्धित हुदाँ जसलाई गजलको गहना पनि मानिन्छ कलात्मक दृष्टिकोणले करिब-करिब सबैजसो गजलहरु पूर्ण छन् । 

कला संरचना र शैलीगत रुपले निकै राम्रा गजलहरुले बोकेका विचार भने निकै साघँुरा छन् । प्रेमप्रणयलाई केन्द्र बनाएर निकै मिहेनतका साथ लेखिएका गजलहरुमा रहेको कमजोर वैचारिक पक्षले गर्दा अन्ततः गजलहरु परम्परागत मान्यताबाट माथी उठ्न नसकेको भन्ने धेरैलाई लाग्छ नै । देश र दुनियामा चलिरहेको वर्गीय लडाई र सामाजिक÷सांस्कृतिक रुपान्तरका विषयलाई पूरै नजरअन्दाज गरिनु यो संग्रहको कमजोर पक्ष हो । देशभक्ति नारीस्थितिबारे रचिएका केहि छिटपुट गजलहरुमा समेत सबै पक्षलाई तटस्थ आँखाबाट हेरिदा र सबैलाई एउटै खाल्डोमा हालेर हेर्दा देशमा उठीरहेको परिवर्तनकामी आवाजहरुमाथी अन्याय हुन गयो कि आम्बोटेलीजी ?

जेहोस 'पलहरु’लाई कलात्मक रुपले निकै नै सफल र वैचारिक रुपले केहि फिका गजलसंग्रहको रुपमा चित्रण गरिनु अत्युक्ति नहोला । आम्बोटेलीजीको सिर्जनशील यात्राको लागी शुभकामना…।
(साभारः शब्दशिखा)