पागल घोडा

Source: http://blogbishad.blogspot.com 
सडकको बिचोबिच दौडिन तम्तयार छ
इतिहासले घोषणा गरेको
एउटा पागल घोडा
जसले भत्काउनेछ
सडकका सबै पुरातन सुत्रहरु ।

जब काट्नेछ घोडाले बाग्मती संघार
गेरुमा सजिएकाहरु
चाट्न थाल्नेछन्
घोडाको अछुत खुर
र टाँग्नेछन् 
'प्रवेश खुला'को साइनबोर्ड ।

जब गर्जिनेछ घोडा
रिङ्गरोडको कफ्र्युग्रस्त सडकमा
दौरासुरुवालमा सजिएकाहरुले निकाल्नेछन्
सुरुवालबाट ईजार 
र आफै झुण्डाउनेछन्
पुरुष सत्ताको आफ्नै नपुंसक गर्धन ।

जब घोडाको टापले टेक्नेछ
दरबारमार्गको सम्भ्रान्त छाती
आराम फर्माइरहेकाहरु
बुझ्न थाल्नेछन्
किन बदलिदैछ
सिँगो कर्णाली  मसानघाटमा 
र सिँगो मसानघाट कर्णालीमा  ?

जब उफ्रिनेछ घोडा
टुँडिखेलको रक्ताम्मे मैदानमा
काठका बर्दिवालहरुले
छातीमा मुड्की बजारेर वाक्नेछन्
विदेशी नुनको वान्ता
र सिलाउनेछन्
राष्ट्रिय झण्डावाल पोसाक ।

जब टुटाउनेछ पागल घोडाले
िसंहदरबारको अग्लो गेट
गल्र्यामगुर्लुम ढल्नेछ
खुनी बडामहाराजको ढल्न बाकि शालीक
र च्यातिनेछ शालीकको नाक र कान
अनि टुक्रिनेछ एकात्मक गिदीको गन्हाउने टाउको ।

त्यो बेला
पागल घोडा सद्दे हुनेछ 
र सद्देहरु पागल हुनेछन् ।
(१६-०६-०६७)

दुई देश

Source: http://blogbishad.blogspot.com 

यो दुनियामा मात्र दुईवटा देश छन्
एउटा काजी देश
अर्को पाजी देश ।

काजी देशः

ड्याम्म पड्काउछ कार्बनको धुँवा
पगाल्छ  'सगरमाथा' हिउगिदी
डुबाउछ 'माल्दिभ्स' कलेजो
बटुल्छ डलर
र दगुर्छ
सबैभन्दा सुरक्षित (?)
ह्वाइटहाउस खप्परभित्र ।

पाजी देशः
मजाले निल्छ कार्बनको धुँवा
र खोकिरहन्छ नमरुन्जेल
ऊ पगाँल्छ आशु
र सोच्छ
बाढी आउनुमा
पहिरो आउनुमा
उसको आशुको दोष छ ।

पाजी देश
लगभग डुबिसक्यो
अन्टार्टिका पाइतलासँगै
ग्रीनल्याण्ड खुट्टासँगै
माल्दिभ्स पेटसँगै
र सगरमाथा शीरसँगै


उता काजी देशमा
अब केहिबेरमै
'ग्लोबल वार्मिङ्ग' बारे
भव्य मिटिङ्ग चल्दैछ ।
(२७-०६-०६७)

(नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयद्धारा प्रकाशित 'मिर्मिरे', साहित्यिक अंक, २०७७ बाट साभार)



मेरी दिदी

Source: http://blogbishad.blogspot.com 
मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो

नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।

उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लािग
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन ।
(२५-०३-०६७)

कालिजबस्ती

Source: http://blogbishad.blogspot.com
थोरै आशु नजरबन्द गरेर
बदामका सोलीहरुमा यात्रा कैद गर्दै
ब्रम्हनलका ऐनाहरुमा दुई झापड हिर्काएर
सिँगो कालिजबस्ती
उही धरापी बस्तीमा लौरो टेक्दै फर्कन्छ
र पृथ्वीनारायणलाई धुप छर्दै
किर्तीपुरतीर फर्केर जोडले थुक्छ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

कहिले राष्ट्रियताको दाते ओखरमा
आयातीत नुन छर्केर
आफ्नै बुद्धिबङ्गारा सिध्याउछ
कहिले मानदेवको अभिलेखतीर धाएर
केही चामलका सिताहरु पोको पार्छ
र पशुपतीका परेवालाई छर्केर
बरु दुईरात भोकै बस्छ
कालिजबस्ती आफ्नै छाला काढेर पनि नाङ्गीन्छ
अनी
मानवता र मानववादको चिउडो समात्दै
सबैभन्दा निकटको आत्मालाई एक जुनीभर रुवाउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

कालिजबस्ती बरु दिनभर
सूर्यको आँखामा आँखा जुधाउन सक्छ
तर ऐनाभीत्र
अह !
कहिल्यै हेर्ने आँट गर्दैन
पगडिमा बोझको भारी भिरेर
सगरमाथाको आधि सपना देख्छ
र विजयलाई दुई सेन्टमा साट्दै
पाँच बल्र्याङ्ग खसेर
अन्तिमपटक मुस्कुराउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

तर सुनिन्छ
अचेल कालिजबस्तीले नयाँ छोरो जन्माएको छ रे ।

म कस्तो मान्छे

Source: http://blogbishad.blogspot.com
म मान्छे भित्रको हराएको मान्छे
म मान्छेहरु बीचको एक्लो मान्छे
म छायाँ बिनाको मान्छे
म रगत बिनाको मान्छे
बोली त छ तर म शब्द बिनाको मान्छे
जीवन त छ तर म मरेको मान्छे
कहिलेकािहं ऐनाहरुमा परेड खेल्दा
केवल दुई पटक हाँसेको मान्छे
म मेरै वस्तीको पाहुना मान्छे
साँच्चै म लाटो मान्छे

बिफरका दागहरुमा घोत्लिएर
कुटोकोदालो चलाएर
मकै उमारेको मैले नै हो
बिना वर्षामा पिन
कहिले आँशु
कहिले पसिना
र कहिले रगत सिाचएर
जग बसाएको पनि मैले नै हो
तर म आफ्नै खेतका डिलहरुमा
लडाइएको मान्छे
म मिहेनती मान्छे
तर म नै विवश मान्छे
साँच्चै म मान्छे भित्रको कस्तो मान्छे

हुरीका हुरी वर्षिएर मलाई रुवाएको त
धेरै भएको छैन
पल्ला घरका काकाले 'लडेर बाँच' सिकाएको
पनि त धेरै भएको छैन
तर म आफ्नै छतका ढुङ्गाहरुम्ाा
सयौं पटक बजि्रने गरेको मान्छे
म पौरखी वीर र साहसी मान्छे
तर म आफ्नै नजरमा गिरेको मान्छे

आकाशको रेतीमा रेटेर जाबो बादल
यसपाली पनि त झारिएन
कतै आफ्नै आँगनको डिलमा फेरी एकपटक
आफ्नै आत्मा त मारिएन
म ऐना भित्रको विम्वहरुमा पिन
आफैलाई नचिन्ने मान्छे
साँच्चै म कस्तो मान्छे
साँच्चै म कस्तो मान्छे
०६-०४-०६४

दर्दनाक जोक

मैले भख्खर खबर पाए
एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।

तिम्लाइ हाँसो लाग्यो होला सायद
कसैलाई हाँसो लाग्ने
कसैलाई पीडा हुने
यो कस्तो जोक हो यार ?

एउटा ‘क’ पात्रले यसलाई सुनाएथ्यो
‘हात्तीको दात बाहिर निस्किएकोले उसको बिहे भएन’
बाकि सब मरिमरि हाँसे
ऊ भने हाँस्न सकेन
सायद उसलाई लाग्यो
हात्तीको देखाउने दात र ऊ एउटै हो ।

जोक सुनेपछि उसलाई बेस्मारी ज्वरो आयो
रिङटा लाग्यो
कामेको हातले मानौ अन्तिम पेग जिन्दगी उठायो
कल्ले धेरै पीउने बहानामा सकिनसकि पियो
र फाइनान्समा भख्खर लिएको चमकदार बाइक चढेर
ऊ डेराको कालकोठरीतिर निस्क्यो ।

अ... उसको बारेमा भन्नुपर्दा
ऊ सानैदेखि डराउथ्यो आफ्नो दुब्लोपनदेखि
ऐनाको आफ्नो प्रतिविम्बदेखि
‘थुक्क जोक पनि नबुझ्ने मु**, पाँखे’
कसैले यस्तै केही भनिदेला भनेर
उसले अरुको कुरा सकिनु अघि नै थपडी बजाउनुपर्छ भन्ने सिक्यो
कसैले ‘पाँखे’ भनिदेला भन्ने डरले
उसले पहिल्यै अरुलाई ‘पाँखे’ भन्न थाल्यो
अब ऊ नाँच्दै थियो
सापटी सपनाको झिलीमिली डिस्कोमा ।

आखीर हो त ऊ उहि गाउले ‘पाँखे’
लक्की ड्र मार्फत बाँडिएको
कुँहिएको चामल खाएर भिरपाँखामा हुर्किएको
यो शहरी शुद्ध नग्नता उसलाई पचेन
अपच सपनाको फुडपोइजनिङ भएर
पहिल्यैदेखि बिरामी त थियो नै
अझ त्यो माथी यो हदसम्मको दर्दनाक जोक ।

भाँडाको चारपाटे कोठामा गएर उसले बेस्मारी छाद्न थाल्यो
उसले ओकल्यो
–    फेयर एण्ड हेन्समको सिद्धिएको कालो ट्युब
–    सिसा फुटीसकेको फेसनदार चश्मा
–    बाइकको तिर्न बाकि क्षतविक्षत रसिदहरु
–    कुनै केटीको नग्न फोटो
–    फेल भएको सर्टिफिकेट
–    गाजा बनाउन ठिक्क पारिराखेको चम्कीलो कागज
र अन्तिममा
–    भख्खर बितेकी बुढी आमाको अन्तिम पत्र ।

मैले ढाँटेको होइन
नपत्याए उसको पोस्टमार्टम रिपोर्ट पल्टाएर हेर्नुस्
‘एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।’
04 OCT 2012

(Feedback for 3 days 'TRAINING CUM WORKSHOP' organized by APEX CAREER SERVICE)

बिहानैदेखिको भोक अनि ‘प्रीजेन्टेसन’को चाँपका बिच यो ठिटो त्यो दिन साथीहरुलाइ भन्दै थियो – ‘ट्रेनिङमा चाहि जसरी पनि बस्नुपर्छ है ।’ तर म आफै मनमनै सोच्दै थिए ‘सब प्रवचन नै त होला, म नै सबैभन्दा पहिला भाग्नेछु ।’ एपेक्स कलेजले बीबीए बी.आइ. र बी.सि.आइ.एस. जस्तै हामी बीबीए अन्तिम सेमेस्टरका विद्यार्थीका लागि भनेर गत सेप्टेम्बर २५, २६ र २७ मा ‘ट्रेनिङ कम् वर्कसप’ आयोजना ग¥यो । बिहान ६:३० देखि ११ बजे सम्मको लगातारको क्लास र त्यसपछि १२ देखि साँझ ६:३० सम्मको यो ‘ट्रेनिङ’, समग्रमा १२ घण्टाको यो कलेजको ‘वनवास’, कतै हाम्रो लागि एउटा ‘वोरिङ’ अनुभव मात्र त बन्नेछैन भनेर सुरुमा हामी नहिच्किएका होइनौँ । तर जब हामी ‘सिक्स सिग्मा हल’ मा छिर्यौँ, कुल सरको ‘कूल’ आवाजमा हामीले एउटा अजीव प्रतिबद्धता भेट्यौँ । हामीले महसुस गर्यौँ– ‘यो फ्रेन्च कटले केही न केही त पक्कै दिनेवाला छ ।’

शुरुमै विनय सरले कलेजपछि हामीले ‘जोरी खोज्नुपर्ने’ केही तथ्यहरुसँग हामीलाइ अवगत गराउनुभयो । उहाँले ‘ग्रेड डज नट म्याटर’ भन्दा नब्बे प्रतिशत भन्दा बढीले जोड जोडले ताली बजाए । ‘ग्रेडवाला’ भएपनि त्यो तालीमा मेरो ताली सबैभन्दा चर्को थियो । त्यसपछि भरत सरले नेपाल र अन्तर्राष्ट्रिय एम.बी.ए. को तथ्यगत चित्रण राखिदिदा हामीले आफै संश्लेसन गर्यौँ ‘नेपालको एम.बी.ए. पनि कम रैनछ ।’ त्यसपछि नेपाल राष्ट्र बैंकका डेप्युटी डाइरेक्टर डिल्लीराम पोखरेल सरले नेपालको वित्तिय क्षेत्रको वस्तुस्थिती छर्लङ्ग पार्नुभएको थियो ।

साँझ थकीत मुद्रामा गइसकेका हामी विद्यार्थीहरुलाइ भानु सरको ‘इमोसनल इन्टेलिजेन्स’ले राम्ररी तङ्ग्रायो । उहाँको कुराले हामी भावुक पनि बन्यौँ । समग्रमा मजस्तो ‘कन्फ्युज्ड’ पात्र समेत सकारात्मकताको गतिलो बाटोमा प्रवेश ग¥यो ।

अर्को दिन ‘जब् डाइनामिक्स’का राजीव सरलगायतले ‘रेज्युमी’, ‘कभर लेटर’, ‘इन्टरभ्यू’, ‘नेटवर्किङ’ लगायत विषयमा दिएको प्रशिक्षण देखिने हिसाबले नै निकै फलदायी सावित भयो । ‘इन्टरप्रिनियरसिप’ को वजनदार परिभाषा दिएर म्रिनल, किरण र श्रीतीले आकर्षक ‘भेष्ट’ जित्दा आफूले नै जितेजस्तो लाग्यो । त्यस्तै ‘लण्डन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ का नेपालका जनरल मेनेजर रोसन राथी सरले कसरी सिप (SKILL) विकास गर्ने भन्ने बारेमा गरेका गहन कुरा हाम्रा लागी निकै महत्वपूर्ण रहे ।

यतिञ्जेलसम्म हामीले सुरुमा छिर्दा महसुस गरेका ‘वोरिङनेस’ र छटपटी हराइसकेको थियो । हामी अझ सिक्न आतुर थियौँ ।

कुनै समय ‘आँखा लोभी मन पापी’का निर्माता रहेका डा. मदन विष्टले लिएको अन्तिम दिनको पहिलो सेसन सबैभन्दा रमाइलो र अविष्मरणीय रह्यो । उहाँले भावसम्प्रेषण (COMMUNICATION), नेतृत्व (LEADERSHIP), व्यक्तित्व (PERSONALITY) लगायतका विषय निकै सरल र बुझिने तरिकाले राख्नुभयो । बेलाबेलामा हामीलाई विभिन्न ‘व्यायाम’ झै लाग्ने व्यावहारिक सिपविकासका नमुनाहरु गराउदा हल नै हाँसोले गुञ्जीन्थ्यो । त्यसपछि एन.वाइ.इ.एफ. का उपाध्यक्ष समिर थापा र सूर्य नेपालका मानव संसाधक प्रमूख (HUMAN RESOURCE MANAGER) दिपेशमान श्रेष्ठको अनुभवसँगै हाम्रो तीनदिने ट्रेनिङ सकियो ।

हामीले उत्तिखेरै भन्यौँ ‘यो तीनदिन चारवर्षभन्दा बढि फलदायी भयो ।’ यो सत्य हो तर यो ट्रेनिङ केही न केही कमजोरीबाट पूर्णमूक्त चाहि थिएन । एउटा पनि महिला ट्रेनरलाइ ल्याउन नसक्नु समग्रमा आफ्ना ठाउमा उचाइ छोइरहेका महिला नेतृत्वहरुको अवमूल्यन थियो । साथै कुनै सेसनहरु पहिल्यै क्लासमा पढीसकेका टपिकहरुका पुनरावृति जस्ता पनि थिए । ‘नेगोसियसन’ सम्बन्धि विषय ‘सेड्युल’मा रहे पनि कार्यक्रममा यसको चर्चासमेत भएन । ‘इन्टरप्रिनियरसिप’ र ‘सिप (SKILL)’ सम्बन्धि धेरै कुरा धेरै चोटी दोहोरिदा केही सेसनहरु पट्यारिला पनि लागे ।

जे होस हामी केही ‘कन्फ्युज्ड’, केही ‘आवारा’ भएर ‘सिक्स सिग्मा हल’मा छिरेकाहरु निस्कदा सकारात्मकता र गहनताका साथ निस्किएका छौँ । कतिले त उतिखेरै घोषणा गरे ‘म अब केही वर्ष अनुभव सँगालेर मात्र एम.बी.ए. पढ्नेछु ।’ यो तीन दिनले विद्यार्थीहरुलाइ आफू को हुँ भनेर चिन्न मद्दत गर्यो, यो सबैभन्दा ठूलो उपलब्धि हो यो कार्यक्रमको । यसमानेमा कुल सर र उहाँको टिम आफ्नो प्रतिबद्धतामा खरो उत्रिएको छ । एपेक्स कलेजद्धारा प्रथम पल्ट आयोजित यो अनुभव हाम्रा लागी निकै महत्वपूर्ण र अविष्मरणीय रह्यो । यसमा विशेष विशेष भूमिका खेल्ने ‘एपेक्स करियर सर्भिस’ का कुल प्रसाइ सर र उहाँको जुझारु टिमलाइ हामी बीबीए अन्तिम सेमेस्टरका ‘भिजन एण्ड मिसन’का सम्पूर्ण विद्यार्थीका तर्फबाट लाखौलाख धन्यवाद !

हेरु कतै मैले छोएर
मैलिन्छ कि रातारात यो देशको संविधान
त्यसोभए त म जरुर छुन्छु
ल्याउ, तुरुन्त ल्याउ
ममा छ असीम शक्ति
मैले बाल्नुपर्दैन आँगो
चलाउन आवश्यक छैन तोप
बस् छोएर तिम्रो संविधान
छोएर तिम्रो विरासत
हराउन सक्छु म तिमीलाई ।

यो छुत समाजको म अछुत मानव
या भनौ यो अछुत समाजको म छुत मानव ।

खुम्चीदा खुम्चीदै यो छाती
परिवर्तन भइसकेछ एउटा ठूलो भ्वाङमा
जहाँबाट छिरेर यो समाज
पुगिसक्यो कोसौ पर ।

यतिखेर चस्स दुखिरहेछ आरनको मेरो छाती
मैले नै बनाएको कुनै स्थेटस्कोपले यो छाती छुन मान्दैन
मानौ म कुनै केमेस्ट्री ल्याबबाट चोरिएको
कन्सन्ट्रेटेड एसिड हु
र मलाइ छुदैमा जल्न सक्छ जो कोही ।

म काटिएको नाक-सुवर्णखाको
रिसाएको छु यतिखेर
र छुन सक्छु म तिम्रो केश
मुडुल्याउन सक्छु तिम्रो कालो इतिहास
उप्काउन सक्छु एक-एक छल ।

यो सन्की समयमा
पिउदैछु म धैर्यताको कडा मदिरा
मलाई नरोक
पिउन देउ यो मन्द विष
यो बिना न म रहनेछु
न तिमी
त्यसैले मलाइ नरोक
नरोक्ने प्रणमा
ल्याप्चे हान यो छातीमा
तर तिमी त यति पनि छुन चाहदैनौ ।

कहिलेकाहि त लाग्छ
जानाजान छोइदिउ तिम्रो मठ
र हेरु
कतै यो भष्म हुन्छ  कि
छोइदिउ तिम्रो राजतिलक
र हेरु
कतै यो मेटिहाल्छ  कि
म एक्सपेरिमेण्ट गर्न चाहन्छु
कतै मैले फुकेपछि तातो सास
अम्लीय बन्छ कि यो झरी ।

अब छोएर एउटा पवित्र सेतो कात्रो
डढाउनुछ मैले मेरो अछुततालाई
बनाउनुछ एउटा छुट्टै मसानघाट
जहाँ मैले नै दिनुपर्नेछ
यो समाजलाइ दागबत्ती ।
२७-०५-०६९

उमेर सकिएपछि

एक उमेर सकिएपछि
थुप्रै दशकको हिडडुलपछि
मान्छे टाउकोबाट शुरु भएर केवल टाउकोमै सकिदो रै'छ
मानौ बाकि रहेका हात खुट्टा र जम्मै शरीर
केवल गहुँगो झोला हो
जो बोझ बनेर यो टाउकोमा टँगिन्छ ।

यो उमेरमा काम भन्नु नै कुर्नु हो
र म कुरिरहेछु
त्यो अनन्त आकाशमा पुर्याउने एउटा यात्रुबस
तर सायद बाटोको शरीरमा पनि
मेरो शरीरमाझैँ पहिरो गएको छ
वा कोही उफ्रि-उफ्रि आन्दोलन गर्दैछ
बाटोको बुढो छातीमाथी
मेरो कालको बिरुद्ध ।

मेरो सानो पनाती
मेरो काननिर आफ्नो ओठ जोडेर
जोड-जोडले सोध्छ-
"बज्यै
यी सेतै फुलेका कपाल झरेर
अब नयाँ काला रौहरु उम्रिन्छन् हो ?
यी थोते गीजाभरी
अब फेरि लहरै दात बस्छन् हो ?"
बाबै !
कति मिठो छ मेरो पनातीको तोतेबोली ।
(२१ जुलाइ २०१२)

अन्तिम कविता

म किन लेख्न छाड्दैछु आज ?
वा किन थालेको थिए त्यतिबेला ?
मलाइ ठ्याक्क थाहा छैन
त्यतिखेर धेरै पीडा हुदा लेखाइले पीडा मार्थ्यो
सायद त्यसैले थाले
अहिले लेखाइले पीडा थपेको छ
सायद त्यसैले छाड्दैछु ।

त्यो बेला वर्षिएको ढुँगाको झरीले
मेरो सिँगै गाउका सपनाहरु रक्ताम्मे पारेको थियो
त्यहि सपनाको चिहानमाथी उभिएर
त्यहि आलो रगत चोपेर
थरथर काम्दै पहिलो कविता कोरेको थिए मैले
अबोध ठिटोको कविता सुनेर
गाउ नै रोएको थियो त्यतिबेला
त्यसपछि मैले बुझे
कविता एउटा रुवाइ हो
जुन पढेर
मान्छे आफ्नो पातालको जीवन बुझ्न सक्छन् ।

गाउबाट शहर छिरेदेखि नै
कविता लेख्न निकै जटिल भएको थियो
ढुँगा यहा पनि नवर्षिने होइन
झन ठूला-ठूला ढुँगा वर्षिन्छन् यहा
तर यहाका मान्छे
ढुँगा चपाउन खप्पीस भइसकेका रहेछन्
या भनौ मान्छे मान्छे होइनन् यहा
कि मान्छेभन्दा थोरै माथी
कि थोरै तल
अह ! मान्छे चाहि होइनन् ।

यहाँ सबेरै उठ्दाको चार पर्खालको भाडादेखि
साँझको चिमको बिलसम्म तिर्न
कविताले आत्मसमर्पण गर्नुपर्दो रैछ
मेरी आमा पल्लो कोठामा बेस्मारी झगडा गर्छिन् मेरा बासँग
मेरा बा दुनियासँग झगडा गर्छन्
तर मलाइ थाहा छ
यी वास्तविक झगडा होइनन्
आफ्नो गरिबीसँग
गरिबीका कारकसँग
लड्न नसकेको हिनताबोधमा
मेरो हरपुस्ता केवल आफैसँग लडेर
आफैलाइ चिथोरिरहेछ
म यसको नया प्रोडक्ट
झुठा झगडा सुन्दै, डराउदै, लुक्दै
अध्यारोमा फेरि थरथर काम्दै
कविता कोर्दैछु ।

तपाइ जे भन्नुस्
यो मेरो अन्तिम कविता हो
यसपछि म सपनाको कविता पनि कोर्नेछैन
आसुको कविता पनि कोर्नेछैन
तैपनि म यो दाबी गर्न सक्दैन
कि म थरथर काम्न बन्द गर्नेछु ।
१६-०३-०६९