मेरी दिदी - २

मेरी दिदी मैनबत्तीको मधुरो उज्यालोमा खोज्दैछिन्
आफ्नो श्रीमानको अन्तिम तस्विर
जुन भेटिनेबित्तिकै
उनी निदाएको छोरालाई पनि जबर्जस्ती उठाउनेछिन्
र चिच्याउदै बताउनेछिन्
'यि तिम्रो बुवा
हराउनुभा'थ्यो
आज भेटिनुभो ।'

कहिले मैनबत्ती हेर्दै
त कहिले मैनबत्तीले देखाएको साँघुरो भविष्य हेर्दै
उनले समय बिताउन जानेको पनि वर्षौ भइसकेछ
यसबिच उनको आँगनमा नफुलेका हैनन्
आश्वासनका रङ्गी-बिरङ्गी फूलहरु-
     १. छोरालाई पढ्न संविधानको चिल्लो गाता
     २. गाउनलाई सात सरगम मिलेको राष्ट्रिय गान
     ३. ओढ्नलाई चन्द्र-सूर्यवाल राष्ट्रिय ध्वजा
         आदि-आदि
तर उनको आकाशबाट त उहिल्यै विलाइसकेको छ
उनको प्यारो चन्द्र-सूर्य
अब बाकि छ त
मात्र एउटा च्यातिएको रातो पछ्यौरी
जुन ओढेर काट्नुछ उनले
यो चीसो जीवन ।

न त उनले कहिल्यै भेटीन्
आफ्नो श्रीमानको त्यो अन्तिम तस्विर
न त कहिल्यै निभ्न नै दिइन्
उनको पर्खाइको लामो मैनबत्ती
मैनबत्ती किन्न नसकेको बेला पनि
बालिदिन्छिन् अचेल उनी आफ्नो आँखा
जुन चुहिरहन्छ लगातार
मैनबत्तीझैँ ।
(०६-बैशाख-०६९)

युद्ध

Source: http://blogbishad.blogspot.com
जनवरीका लामा अध्यारा रातहरुमा
शान्त देखिने प्रत्यक परेवाहरु
चुपचाप युद्ध कोरलिरहेछन्

थोरै मकैका दाना खोतल्छन्
धेरै थोरै खान्छन्

अलि धेरै बारुद बनाउछन्
साच्चै !
यी पागल परेवाहरु
किन युद्ध जन्माउछन्

जोताहाहरु जोत्छन्
खोस्रीन्छन्
र खोज्छने जीवनहरु
प्रहरैप्रहरको शताब्दीको असीम यातनापिछ
उकालिन्छन् समरशीखरमा
र ताराहरुलाई साक्षी राखी
सबैभन्दा बढी राता गुराँस रोज्छन्
साच्चै !
यी पागल जोताहाहरु
किन युद्ध रोज्छन्

लुङ्गरीको बगरमा
काला बादलको
मनभरी गाली थापेर
फेरी पनि खुर्मी दिदी
प्रत्यकक कालरात्रीहरुमा
ढुङ्गा ओसार्न बगँर धाउछिन
आज वन गइछिन्
दुईचरओटा सिमल ढालेर
डोकोभरीको अली बलीयो
मुढा ओसारिछिन्
साच्चै !
यी पागल खुर्मी दिदीले
किन युद्ध ओसारिछिन्

अनुहारमै बडेमानको जुम्रा भेटाइदा
चोखो गाउँबाट निकालिएथ्यो जुल्फे
छेउकै बाहुनटोलमा
मनभरीको चिनी बर्षिदिदा
नछोइने पिँजडामा हुलिएथ्यो जुल्फे
घैटोमा बन्देजथ्यो जुल्फेलाई
घाममा बन्देजथ्यो जुल्फेलाई
अचेल साँझपख यो जुल्फे
मसाल बाल्दै आउछ
र सिँगै बस्ती बोक्छु भन्छ
साच्चै !
यो पागल जुल्फे
किन युद्ध बोकु भन्छ

ब्रम्हाण्डका आलीहरुमा
एकमाना लाँभा पोखेर
रमाउथे आगन्तुक सुर्यहरु
अनी आदिवासी ताराका सन्ततीहरु
चुपचाप आफ्ना ग्रहहरुलाई
दलालीको चेतना चुसाउथे
आज कोदालीको भाषा सिकाएछन्
आज हँसिया र बाचरोको भाषा सिकाएछन्
साच्चै !
यी पागल ताराहरुले
किन युद्धको भाषा सिकाएछन्

जनवरीका लामा अध्यारा रातहरुमा
शान्त देखिने प्रत्यक परेवाहरु
चुपचाप युद्ध कोरलिरहेछन् ।

बगर छोडी नदीसँगै बढ्नेगरी आउ
नरूक है अब केही गर्नेगरी आउ
आउ यो माटोको फेरौ कहानी

असीनाको भारी होला
होला, लक्ष्य पारी होला
आफ्नै घरको यो अध्यारो लखेट्ने गरी आउ
नरूक है अब केही गर्नेगरी आउ
आउ यो समयको तोडौ गुलामी

कहाँ मिल्छ खुशी अन्त
आफ्नै फाँटको त्यो सुगन्ध
आफ्नैपनमा, न्यानो मनमा अट्नेगरी आउ
नरूक है अब केही गर्नेगरी आउ
आउ स्वदेशको बदलौ बिहानी

SHORT MOVIE: SHRINGAR

Written/Direction: BISHAD, 2012 

तिमी पो आकाश

तिमी पो आकाश, अनन्त छ्यौ
तिमी पो नदी, बगीरहन्छ्यौ
तिमी पो फूल, फूलिरहन्छ्यौ
म त हु आँधी, के भर मेरो

तिमीसँग दुनिया चलिरहन्छ
तिमीसँग खुशी बढीरहन्छ
तिमीसँग सपना उक्लीरहन्छ
म भिझेको परेली, के भर मेरो

तिम्रो बिहानीमा घाम आउछ
तिम्रो उजेलीले रङ ल्याउछ
तिम्रो सिरानीमा जून चियाउछ
म परे अँधेरी, के भर मेरो
(21-01-071)

आफुलाइ खोज्छु

आफुलाइ खोज्छु, आफैभित्र भेटिदैन
आफ्नै कहानी लेख्छु भन्छु, केही लेखिदैन

न बतासले सुनाउछ म हराएको खबर
न खोज्छ दुनिया, न खोज्छ मेरै नजर
सुसेल्छु आफैलाइ, जवाफ सुनिदैन
आफुलाइ खोज्छु, आफैभित्र भेटिदैन

त्यो नीलो उचाइमा कहिले म पुग्ने होला
बनाउदैछु एक चेहरा, कहिले पुरा हुने होला
यो धर्तीको परिधिमा मेरो खोज थुनिदैन
आफुलाइ खोज्छु, आफैभित्र भेटिदैन

जूनको तस्विर


जूनको तस्विर बनाउन लगायौ, मैले कागजमा बादल बनाए
दुनियाले मलाइ पागल बनायो, मैले दुनियालाइ पागल बनाए

अध्यारोमै बुनिरहे मेरा कथाहरू
पानाहरू फरक, एकनास गाताहरू
बोल्न बन्देज लगायौ, कल्पनाको आकाश बनाए
दुनियाले मलाइ पागल बनायो, मैले दुनियालाइ पागल बनाए

फेरि अर्को वसन्तमा म फूल्छु, फूल्दिन
हिउको यो कठोर झरी, म भुल्छु, भुल्दिन
जहाँ रोकिए अरूहरू, त्यहि आवतजावत बनाए
दुनियाले मलाइ पागल बनायो, मैले दुनियालाइ पागल बनाए

हिडे हुँला कति पाइला, कसैले गनेको छैन
बाकि छ अब कति, कसैलाइ भनेको छैन
पखेटा उने समयको, र नयाँ जहाज बनाए
दुनियाले मलाइ पागल बनायो, मैले दुनियालाइ पागल बनाए

सक्थे त



सक्थे त बागमतीमा म रक्सी बगाउथे
मन्दिरका हर मूर्ती यसैमा नुहाउथे

शताब्दी भयो, बेहोश छन् मान्छे
केही प्याला पिलाउथे, सबैलाइ जगाँउथे

आँखामा छ, छ ध्वजाको पर्दा
ध्वजा च्यात्थे, आँखा नङ्ग्याउथे

ढोगीन्छ ढुँगा, मान्छे ढोगीदैन
ती ढुँगा जोड्थे, घर म बनाउथे

भोकभोकै बस्छ र भजन गाउछ संसार
दियोमा तेल होइन, सोमरस म चढाउथे

म त काटी सलाइको


नसोध न तिमी पनि
यो पिडा जलाइको
म त काटी सलाइको ।

सडकमाथी खुशी हिड्छ
म दबिएको माटो
फूल्छु एकदिन सडक छेडी
अहिले छु म काचो
पानी पारी शितल देला
खै अब मलाइ को ?
म त काटी सलाइको ।

चुल्हो होइन धुरी जलाए
मान्छेले मेरै बदनाम गराए
आगो पनि त जीवन हो आखीर
आगोमै किन जीवन डढाए ?
व्यथा अब सुनाउदिन
जुग कहाँ छ भलाइको ?
म त काटी सलाइका ।

जन्मदिन



मेरो जन्मदिनमा निभाइएका
क्यान्डीलका टुक्राहरूजस्तै गरी
म पनि फ्याकिन सक्छु एकदिन
जीन्दगीका डस्टविनहरूमा ।
चट्याङ झर्नु
पानी पर्नु
र मान्छे जन्मनु
कुनै विशेष रहेन अब
यो जिन्दगीको निरन्तर दौडाइमा ।
बस् यत्ती सपना छ मेरो
कि दौडदा-दौडदै सडकको पेटीबाट
फेर्न सकु लामो सास
बिसाउन सकु केहीबेर
र मेरो जन्मदिनको बहानामा
बनाउन सकु एउटा शीतल छहारी,
एउटा प्रतिक्षालय
जहाँ कुद्दै गरेका मान्छेहरू
आफु मान्छे भएको चाल पाउन
बस्नेछन् केहीबेर ।
त्यो प्रतिक्षालयको कुनामा
बनाउनेछु एउटा सानो मन्दीर
जहाँ सजाउनेछु म मेरै इश्वरलाइ
मलाइ जन्म दिने मेरी आमाको
हँसिलो तस्वीरलाइ ।
(१०-१२-२०७०, जन्मदिनमा)