बज्यैँ

SOURCE: http://www.blogbishad.blogspot.com

पोल्टोभरी घाम कुरी बसेकीथिन् बज्यैँ
कुर्दाकुर्दै डिलबाटै खसेकिथिन् बज्यैँ

धमिला ती आँखाहरु रहर मिठा पाल्थे
रहरको रहभित्र पसेकीथिन् बज्यैँ

पाँखाबारी उमार्ने नै उनको देउता थियो
कुटोसँगै मुठ्ठी पनि कसेकीथिन् बज्यैँ

उनी सोच्थिन् आकाश खुली खुशी दिई जाला
धर्ती चुस्ने छाँया कति डसेकीथिन् बज्यैँ
( 03-02-067)

सारस र हामी

सारसहरु हवाईजहाज चढेर आउछन्
अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !

सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !

सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !

सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !

यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !
(०१-०२-०६७)