घाउ बनी बल्झिएर
आगो जस्तै सल्किएर
यादहरू एक्लै बस्छन्
जिन्दगीभर अल्झिएर

यादहरू धन रै'छ
जीवन बरू ऋण रै'छ
दिनभर तर्किएर
रातभर फर्किएर
यादहरू एक्लै बस्छन्
छातिभित्र अड्किएर

सुख बरू जहर भो
याद मानौ खहरे भो
आसुसँग निस्किएर
समयसँग जिस्किएर
यादहरू एक्लै बस्छन्

आँखाभरी छछल्किएर

नाजवाफ यो मुटुमा गढेझै लाग्छ
हर प्रश्नले मजाक गरेझै लाग्छ

उजेलीको भरपाई कहिल्यै पाएन
अँधेरी पल-पल बढेझै लाग्छ

हाँसेर बिदाई दियौ यसरी
अचेल मुस्कुराउन छाडेझै लाग्छ

नबोलेरै वर्षदिन बिति गएछन्
बोल्नुपर्दा बाढी तरेझै लाग्छ

न निद आफ्नो, न होश भो आफ्नो
बेचैनीमा तारा झरेझै लाग्छ

यादको झरी रोकियो नसोधेरै

कसरी भिझु अब

निदरीको गल्लीमा हराए धेरै 

कसरी ब्युझु अब


नटुङ्गिने बाटोमा पाइला बढेछ

यादको जङ्गलमा वर्षौ वितेछ

एकदिन आँखा खुलेछ सबेरै

कसरी भुलु अब

निदरीको गल्लीमा हराए धेरै 

कसरी ब्युझु अब


सासभन्दा याद पो मिठो रै'

याद लामोजिवन पो छोटो रै' 

उडी गयो यादसास लिएरै

कसरी बाँचु अब

निदरीको गल्लीमा हराए धेरै 

कसरी ब्युझु अब

मभित्र आक्रोशको राँको लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो

थाहा थिएन-
यो देशले चिहानको पनि व्यापार गर्दो रै’छ
जसले जलायो
त्यही निर्मम सलाईको पनि आँशु झर्दो रै’छ

म कमजोर थिएँ, जेलिएको थिएँ
मभित्र पीडाको धागो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो

दियो निभ्दैमा, आस्था निभ्ने त होइन
शरीर ढल्दैमा, सपना ढल्ने त होइन

आफ्नै नङ्ग्राको कुटो बोकेको थिएँ
आफ्नै सपनाको बारी खनेको थिएँ
मभित्र उर्वर भविष्यको माटो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो ।

(साभारः साहित्यपोस्ट, माघ १९, २०७९: Link: https://sahityapost.com/kabyapost/kabya-poetry/96157/)