मेरी दिदी - २

मेरी दिदी मैनबत्तीको मधुरो उज्यालोमा खोज्दैछिन्
आफ्नो श्रीमानको अन्तिम तस्विर
जुन भेटिनेबित्तिकै
उनी निदाएको छोरालाई पनि जबर्जस्ती उठाउनेछिन्
र चिच्याउदै बताउनेछिन्
'यि तिम्रो बुवा
हराउनुभा'थ्यो
आज भेटिनुभो ।'

कहिले मैनबत्ती हेर्दै
त कहिले मैनबत्तीले देखाएको साँघुरो भविष्य हेर्दै
उनले समय बिताउन जानेको पनि वर्षौ भइसकेछ
यसबिच उनको आँगनमा नफुलेका हैनन्
आश्वासनका रङ्गी-बिरङ्गी फूलहरु-
     १. छोरालाई पढ्न संविधानको चिल्लो गाता
     २. गाउनलाई सात सरगम मिलेको राष्ट्रिय गान
     ३. ओढ्नलाई चन्द्र-सूर्यवाल राष्ट्रिय ध्वजा
         आदि-आदि
तर उनको आकाशबाट त उहिल्यै विलाइसकेको छ
उनको प्यारो चन्द्र-सूर्य
अब बाकि छ त
मात्र एउटा च्यातिएको रातो पछ्यौरी
जुन ओढेर काट्नुछ उनले
यो चीसो जीवन ।

न त उनले कहिल्यै भेटीन्
आफ्नो श्रीमानको त्यो अन्तिम तस्विर
न त कहिल्यै निभ्न नै दिइन्
उनको पर्खाइको लामो मैनबत्ती
मैनबत्ती किन्न नसकेको बेला पनि
बालिदिन्छिन् अचेल उनी आफ्नो आँखा
जुन चुहिरहन्छ लगातार
मैनबत्तीझैँ ।
(०६-बैशाख-०६९)

1 comments (Click here to Comment):

AnkPnk Rawal said...

gud one broda

Post a Comment

तपाईको प्रतिक्रिया यहाँ टाइप गरी post गर्नुहोस |