युद्ध

Source: http://blogbishad.blogspot.com
जनवरीका लामा अध्यारा रातहरुमा
शान्त देखिने प्रत्यक परेवाहरु
चुपचाप युद्ध कोरलिरहेछन्

थोरै मकैका दाना खोतल्छन्
धेरै थोरै खान्छन्

अलि धेरै बारुद बनाउछन्
साच्चै !
यी पागल परेवाहरु
किन युद्ध जन्माउछन्

जोताहाहरु जोत्छन्
खोस्रीन्छन्
र खोज्छने जीवनहरु
प्रहरैप्रहरको शताब्दीको असीम यातनापिछ
उकालिन्छन् समरशीखरमा
र ताराहरुलाई साक्षी राखी
सबैभन्दा बढी राता गुराँस रोज्छन्
साच्चै !
यी पागल जोताहाहरु
किन युद्ध रोज्छन्

लुङ्गरीको बगरमा
काला बादलको
मनभरी गाली थापेर
फेरी पनि खुर्मी दिदी
प्रत्यकक कालरात्रीहरुमा
ढुङ्गा ओसार्न बगँर धाउछिन
आज वन गइछिन्
दुईचरओटा सिमल ढालेर
डोकोभरीको अली बलीयो
मुढा ओसारिछिन्
साच्चै !
यी पागल खुर्मी दिदीले
किन युद्ध ओसारिछिन्

अनुहारमै बडेमानको जुम्रा भेटाइदा
चोखो गाउँबाट निकालिएथ्यो जुल्फे
छेउकै बाहुनटोलमा
मनभरीको चिनी बर्षिदिदा
नछोइने पिँजडामा हुलिएथ्यो जुल्फे
घैटोमा बन्देजथ्यो जुल्फेलाई
घाममा बन्देजथ्यो जुल्फेलाई
अचेल साँझपख यो जुल्फे
मसाल बाल्दै आउछ
र सिँगै बस्ती बोक्छु भन्छ
साच्चै !
यो पागल जुल्फे
किन युद्ध बोकु भन्छ

ब्रम्हाण्डका आलीहरुमा
एकमाना लाँभा पोखेर
रमाउथे आगन्तुक सुर्यहरु
अनी आदिवासी ताराका सन्ततीहरु
चुपचाप आफ्ना ग्रहहरुलाई
दलालीको चेतना चुसाउथे
आज कोदालीको भाषा सिकाएछन्
आज हँसिया र बाचरोको भाषा सिकाएछन्
साच्चै !
यी पागल ताराहरुले
किन युद्धको भाषा सिकाएछन्

जनवरीका लामा अध्यारा रातहरुमा
शान्त देखिने प्रत्यक परेवाहरु
चुपचाप युद्ध कोरलिरहेछन् ।

0 comments (Click here to Comment):

Post a Comment