बाँच्नुछ अझै कति, अझै कति रमाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

शितलताको झरी छर्यौ
पत्थर थिए, देउता भए
मुस्कानको बत्ती बाल्यौ
अध्यारोमा झिलमिल बले
जिस्किएरै तिम्रो हात सधैभरी समाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

चरीजस्तै आकाशमुनी
सँगै धर्तीमाथी हामी
सयौ वर्ष, जुनी-जुनी
सधै जीवनसाथी हामी
इन्द्रेणीझै सपना छ, हर रङले सजाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

यो मनको तन्नामा

यो मनको तन्नामा अक्सर निदाउछु
म जे होइन त्यहि बताउछु

न हिजोको सम्झना, न बिहानी याद छ 
बस् छ जिन्दगी, रात-रातभर जाग्छ
कल्पनामा डुब्छु, धुँवामा हराउछु
म जे होइन त्यहि बताउछु

हत्केलामा खुशी अडेझै बस्छ
झन् बढी कस्छु, झन् बढी खस्छ
खै के-के अँगाल्छु, केसँग डराउछु 
म जे होइन त्यहि बताउछु

आफै-आफै

मेरो मान्छे छ आज टाढा कतै
मेरो नि दोष छ आधा जति

पाइलाहरू बढ्छन् आफै-आफै
म यात्रा रोजु-नरोजु
भेट्नेहरू भेट्छन् आफै-आफै
मनबाट खोजु-नखोजु

तिमि मबाट पर जादा उतै
मेरो नि दोष छ आधा जति

दुरी पो बढ्यो कि आफै-आफै
म तिमिलाइ सोधु-नसोधु
विश्वास ढल्यो कि आफै-आफै
म तिमिसँग बोलु-नबोलु

आज बुझे एक्लो हुँदा यतै
मेरो नि दोष छ आधा जति

मनको स्वरूप

न कसैले चित्रमा उतार्न सक्यो
न कसैले शब्दमा सार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

छालजस्तो आउछ, जान्छ, पानी त होइन
जताततै उडिरहन्छ, यो हुरी त होइन
न कसैले रहस्य उघार्न सक्यो
न कसैले मनलाइ मार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

कति चोटहरू दिन्छ, खुकुरी त होइन
कति चोटहरू लिन्छ, अचानो त होइन
न कसैले वशमा पार्न सक्यो
न कसैले नाता टार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

मुक्तक-३६

रात सुन्दर हुन त्यहा तारा जलेकाे हुन्छ
फूल मुस्कुराउछ जब हुरी चलेकाे हुन्छ
ढुँगादिलकाे भएपनि, मान्छे न हु म पनि
सुन्दर ताजमहल पनि पत्थरले बनेकाे हुन्छ

केहि आज, केहि भोली

पाउनुछ, गुमाउनुछ, केहि आज, केहि भोली
सबको मुल्य चुकाउनुछ, केहि आज, केहि भोली

दागहरू बाडिसक्यो समयले सबको भागमा
अलि-अलि लुकाउनुछ, केहि आज, केहि भोली

चोट पर्दा, याद बढ्दा, जे गर्दा, मन दुख्छ
मनलाइ अझै सताउनुछ, केहि आज, केहि भोली

आकाशमाथी, आकाशमुनि, म नै त हुँ, जता पनि
यहि झुट बताउनुछ, केहि आज, केहि भोली

जताततै भौतारेर आखीर मैले 'म' भेट्टाए
अब संसार भेट्टाउनुछ, केहि आज, केहि भोली

बगिरहन, चलिरहन ...

नदिजस्तै जिन्दगीको दुई किनारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

यादहरू, छालहरू, आइदिन्छ, गइदिन्छ
गहिराइमा मनलाइ डुबाई, बेहोशीमा लइदिन्छ
उत्रिनलाई, तैरिनलाई, कोहि सहारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

आँखाहरू, साँझहरू, ढलिदिन्छ, निदाईदिन्छ
डुबाएर सपनीमा, अँधेरीमा तड्पाइदिन्छ
निदबाट ब्युझिनुछ, मेरो बिहान भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए