अर्धकदको मूर्ती

समयको चुलेसीले ताछ्दा-ताछ्दै

अन्ततः मान्छे 

अर्धकदको मूर्ती बन्ने रै'छ ।


पोखिएर जूनेलीको एक अम्खोरा

पलाउछन् सपनीका अन्गीन्ती पखेटाहरू

र बन्छन्-

उमँगका हात

रहरका खुट्टा

संगीत बुन्ने ओैला

सुन्दरता हेर्ने आँखा... ।


अनि त भेट्छन् मान्छेहरूले-

नयाँ-नयाँ रङहरू

उड्दै गरेका बादलहरू

अग्ला-अग्ला पहाडहरू

र 

टाढा-टाढाका क्षितिजहरू ।


सम्बन्धको साङ्ग्लोमा परेपछि

मान्छे यो यात्रा रोक्न विवश हुन्छ

र जहाँ-जे गर्दैछ

त्यहि टक्क अडिन्छ-

गीत गाउदा-गाउदै स्वर हराउछ

चित्र बनाउदा-बनाउदै रङ हराउछ

हिड्दा-हिड्दै पाइला हराउछ

कविता कोर्दा-कोर्दै अक्षर हराउछ ।


र त मान्छेबाट

हराउन थाल्छन्-

उमँगका हात

रहरका खुट्टा

संगीत बुन्ने ओैला

सुन्दरता हेर्ने आँखा... ।


समयको चुलेसीले ताछ्दा-ताछ्दै

अन्ततः मान्छे 

अर्धकदको मूर्ती बन्ने रै'छ ।

साट्नलाई निदरी...

साट्नलाई निदरी, सिरानी भेटिन

परदेशको घाममा, छहारी भेटिन


अध्यारो रातमा, उजेली खोजेछु

घरभन्दा पर - पर पुगेछु

आफ्नै पानामा, कहानी भेटिन

परदेशको घाममा, छहारी भेटिन


 ओैलाले छुन्छसपनाको दैलो

न आसुमा बग्छ, मुटुको मैलो

मन-मुटु बगाउन, कर्णाली भेटिन

परदेशको घाममा, छहारी भेटिन