खालीपन

भित्तामा मजस्तै देखिने ऐना छ

मनजस्तै जलिबस्ने बल्ब छ
सपनाजस्तै झुण्डीरहेका 
केही पेन्टिङहरू छन्
र छ एउटा एक्लो खाली फ्रेम ।

त्यो फ्रेममा नटाँगिएको
तिम्रो फोटोले बोलाइरहेछ ।

+
टेबलमा बाँसी किताबहरू छन्
नक्कली फूल राख्ने फूलदानी छ
पानीको तीर्खा कुरिरहेको
नया बोतल छ
र छ लेखिन बाकी 
केही खाली पाना ।

ती पानामा नलेखिएको
कुनै कथाले झस्काइरहेछ ।

+
ओछ्यानमा अनिदो सिरानी छ
निर्जिव मोबाइल छ
यादहरूको धुँवाले बनेको
गर्हुँगो ब्ल्याङ्केट छ
र छ एउटा खाली-खाली मन।

यो मनभित्र बनिरहेको
खालीपनले सताइरहेछ ।

नपर्दा सम्म मायामा

म ज्युनुको बहाना
म चल्नुको सहारा
मेरो आकाशको तारा
मेरो नदीको किनारा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म मायामा ।
……………………………

जे पर्छ जिवनमा
मात्र तिमि यो मनमा
आदि-अन्त्य तिमि नै
तिमि मेरो हरपलमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म प्रेममा ।
……………………………

देख्छु सपनि जति म
निदाउछु तिम्रो छातीमा
दिन, रात, साँझमा
जिन्दगी बितोस् साथमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म पिरतीमा ।

Source: Alag Studio

मनको आकाशगंगा

समय शरणार्थी हुदैन कसैको
जाबो पृथ्वी, आकाशै खसे पो
म हराइरहन्छु
यो मनको आकाशगंगामा ।

ब्रम्हाण्ड मानौ टुक्रा मुटुको
भारी हो यो मेरै पिठ्युँको
म अडिरहन्छु
यो मनको अन्तरिक्षमा ।

इच्छा-आकांक्षा पोख्न सके पो
आसुको रहमा डुब्न सके पो
म तैरिरहन्छु
यो मनको समुंद्रमा ।

झरी

यादको झरीमा भिझेपछि थाहा भो
मायाको छाता त
बिनासित्ति लुकाएर राखेछु
दिलको बन्द अलमारीमा ।