कफिकप

छाडिजाने मायालुको याद आउदा
अरू कुन्नी के जाति सोमरस पिउछन्
म भने कालो कफि पिउछु ।

मजाले समय लिन्छु
ता कि पानी बेस्सरी उम्लियोस्
र मरिजाओस्
गुनासोका केही अन्तिम ब्याकटेरिया पनि।

बिस्तारै खन्याउछु कफिका मनग्यै ढिकाहरू
ता कि डुबु यसको नशामा यस्तरी
कि तिम्रो कमी कफिले पुरा गरोस् ।

तिमीले नै किनिदिएको
यो प्यारो कफिकप
सधैजसो हुन्छ अचेल मेरो हातमा
जसलाइ प्रत्यक चुस्कीको बहानामा
चुमिरहन्छु तिमी सम्झेर ।

बिना तिमी
बिना चिनी
नयाँ स्वाद चखाउदैछु
यो अर्कै बनेको आफैलाइ
ता कि अब त परोस्
मेरो आँखामा पनि झरी
र बगीजाओस् तिम्रो तस्विर
यो आँखाको डिलबाट ।

अचेल छिट्टै सकिने गर्छ कफि
मानौ हाम्रो साइनो जतिको पनि
आयु छैन यसको ।

कफि सिद्धिएपछि
फेरि शुरू हुन्छ
अर्को कफिको अत्रिप्त यात्रा
सायद यहि यात्राले नै
जोगाइराखेको छ यतिञ्जेल
ज्युदो हुनुको 'म' तत्वलाइ ।

समयजस्तै गरी
यी हातबाट उम्कीएर
झरेको छ मेरो प्रिय कफिकप
र बद्लिएको छ
असङ्ख्य टुक्राहरूमा यतिखेर
मुटु टुट्दा पनि नरोएको म
यो कप टुट्दा बेस्सरी रोएको छु ।
(25-11-070)

0 comments (Click here to Comment):

Post a Comment