नजरबन्द

दिनभर घाममा हिडेपछि यि बाटोहरू 
आफ्नै घर फर्किनुपर्छ कि फर्किनु पर्दैन होला
महिनौसम्म ठिङ्ग उभिएपछि यि रूखहरू
छुट्टी लिएर कसैलाई भेट्न पुग्छन् कि पुग्दैनन् होला
यि चराहरू
यि पुतलीहरू
कहाँका नागरिक होलान्
कसको लागी काम गर्छन् होला ।

नदी बग्ने कार्यालय समय के होला
बतास बहन मासिक तलब कति लिन्छ होला
झरी झार्ने पासवर्ड कोसँग छ होला
ताराहरू कसको रिमोर्ट कन्ट्रोलबाट चल्छन् होला।

यसो बुझिल्याउदा !
स्वतन्त्रताको खुशीमा फनफनी नाच्दै 
पृथ्वी कतै निरन्तर बगीरहेछ 
आखिर मान्छे मात्र त रहेछ
आफ्नै नजरबन्दमा ।

साभार: नेपाल राष्ट्र बैंक समाचार (भाद्र, २०७८)

मुक्तक-३९

ओठलाई झरीमा रूझाएपछि
एकफेर खुलेर मुस्कुराएपछि
बल्ल उज्यालो भो जिन्दगी 
मनभित्र पनि घाम उदाएपछि

होला नलेखिएको कथा होला
तर छोडिदेउ 
शान्त पानीमुनीको रातो कपटको कथा नलेख,
यो दहमा सद्भाव खल्बलिन सक्छ
भैगो, स्वाभिमान रेटिएको कथा नलेख ।

लेख्नुछ भने, मात्र तीन शब्द लेख
सुन्दर शान्त नेपालदह !
........................................

शताब्दीओैदेखि चुपचाप फुलिरहेछ 
गुलाबको बोटमा विभेदको अफिम
आउ, एक सर्को तानेर यो शान्तिको मजा लिउ ।

शताब्दीओैदेखि चुपचाप हुर्किरहेछ
पानीभित्र एकात्मक गोही 
गोहीले निल्नुअघि 
आउ अन्तिम सेल्फी लिएर रमाओैं ।

शताब्दीओैदेखि चुपचाप पुजिरहेकै त छौं
त्यहि गोहीको शालिक, श्रीपेज र जुत्ताहरू
आउ त्यहि जुत्तामुनीको धुलो बनेर फेरि निदाउ ।

शताब्दीओैदेखि चुपचाप, चुपचाप रहने आदेश छ
यो खलबल भए सामाजिक सद्भाव भत्किन सक्छ ।

यो महान, सुन्दर, शान्त नेपालदहमा
नहान ढुँगा
नउठाउ तरङ्ग
मुर्दा शान्ति खल्बलिने डर जो छ ।

(असार १६, २०७८ को 'शिलापत्र' बाट साभारः  https://shilapatra.com/detail/61534)


यो मेचबाट हेर्दा-
नागरिकहरू छोटा-छोटा देखिन्छन्
उनीहरूको बुद्धि सानो देखिन्छ
हात पाखुरा मसिनो देखिन्छ
मान्छे-कमिला उस्तै देखिन्छन् ।

अग्लो मान्छेले देख्छ
आफूलाई मात्र जताततै
आकाशमा - दरबारमा
हावामा, पानीमा, हिमालमा
गाउँ-गाउँमा, टोल-टोलमा
बिजुलीका तारमा, पोलमा ।

अग्लिदै गएपछि दुख्नेछ उसको अग्लो ढाड
थामी नसक्नु हुनेछ लामो न लामो गर्धन
फोहोरी देखिनेछ कालो- नयाँ जुँगा
अनि फोहोर भित्ता भन्ठानेर 
उसको जीउभरी परेड खेल्नेछन्
कमिला बनेका नागरिकहरू 
जताततै टोक्नेछन्, जथाभावी चिल्नेछन्
अनि मेचबाट ढल्नेछ अग्लो मान्छे
र झर्नेछ धुलाम्मे धरातलमा ।

घुम्ने मेचमाथिको अग्लो मान्छेले
संविधान पन्छाएर पढेकै हो 
ठेलीका ठेली उखानशास्त्र
कहीँ न कहीँ त लेखिएकै होला-
'सबैभन्दा अग्लो बाँस, सबैभन्दा पहिला काटिन्छ ।'

साभार: शिलापत्र, २०७७ चैत्र ९ (https://shilapatra.com/detail/53903)

पुरी समन्दर की थी लम्बी सफर, मगर कुछ बाकि रेह गया
केहना था जो किसीसे, वहि सबकुछ बाकि रेह गया

हम मिले, हँसे, गुन्गुनाए पल, होकर बेपरवाह–बेपरवाह
दिन तो ए भी वहि जेसा, लेकिन आज कुछ बाकि रेह गया

तुम्हे छुकर मेहसुस किया कर्तेथे कि मे भी जिन्दा हु कहि
आज हम न जिन्दा, न मृत, लग्ता हे सास कुछ बाकि रेह गया

मिलुँगा एकदिन ओ चाँद से भि, या खो जाउँगा यहि अन्धेरेमे
जिन्दगी ठेहरा–ठेरहा सा, अभि भि तलास कुछ बाहि रेह गया

ह्यप्पी न्यु इयर !

मन, महिनाजस्तो 
छाती, वर्षजस्तो  ।

मनले छातीलाई भन्यो
किरायामा बस्दिन अब ।

महिनाले वर्षलाई भन्यो
तिमिलाई भेट्दिन अब ।

हर नया वर्षमा
न मन खुशी छ
न छातीलाई आराम छ ।

यो वार्षिक बिछोडमा
कसरी सेलिब्रेट गरू म नयाँ वर्ष ?
कसरी भनु - ह्यप्पी न्यु इयर ?

(साभार २०७७, पुष: https://www.sahityapost.com/?p=25064)

मुक्तक-३८

'कसैले के भन्ला' भनी किन काँपेर बाँच्नु
अरू हिड्ने बाटो-गल्ली, किन नापेर बाँच्नु 
धन्न जल्नेहरू छन् वरिपरी, खुशी मनाओैँ
कठ्याङ्ग्रिदो जाडाेमा नत्र के तापेर बाँच्नु  

माटोको जादुगर

निर्जीव मरुभूमिमा
आफ्नो प्राण भरेर
आफ्नो नलिहाड रोपेर
माटोको जादुगरले फलायो
बाँसुरीझैँ सुरिलो–गुलियो उखु।

नैतिकताका ताराहरू
एक–एक गरी ढलमा झरेपछि
एकरात मान्छेहरू गिद्ध बने
र ती गिद्धहरूको झुन्ड
चुपचाप छि¥यो उखुबारीमा
अनि माटोको आत्मामा जथाभावी कोतर्दै
चुस्न थाले त्यो जादुगरको नलिहाड।
 
आँखाको डिलबाट चुहिँदा–चुहिँदै
उसको आँसु खोला बन्यो
र मन पतझर।
 
त्यही खोलाको बाढीमा बग्दै–बग्दै
त्यही मनको हुरीमा पछारिँदा–पछारिँदै
आखिर आइपुग्यो ऊ राजधानी
फगत पोख्नलाई मनभरिको बह।
 
बरा !
कसले सुन्ला यो सहरमा बाँसुरीको रोदन ?
 
‘हाकु काले’ले त्यसै भनेको रहेनछ–
‘यो गिद्धै–गिद्धको सहर हो।’

(२०७७/०९/१८ को नागरिक दैनिकबाट साभार: https://nagariknews.nagariknetwork.com/arts/423741-1609574557.html?click_from=category)

ओ क्रिसमस !

यो रातो रङको सान्टा टोपी
मानौँ मेरी आमाको रातो पछ्यौरी हो।
 
खाली झोलाभरि मनलाग्दी उपहारहरू
मानौँ मेरी आमाले गाँस कटाएर मलाई किनिदिएका
थरीथरीका खेलौना हुन्।
 
कुनै काल्पनिक सान्टालाई रमाइलो लाग्ने
यो चिसो साँझ
बिझिरहन्छ उनलाई
झन्झन् दुख्छ उनको गोडा
चिसो हुन्छ जिउ
उनको जिन्दगीजस्तै।
 
यो अस्पतालको शड्ढयामा
थला परेर पल्टेकी उनी
र उनको फुलबुट्टे ब्ल्याङकेट
मानौँ मलमा सजिएको क्रिसमस ट्री हो।
(२०७७/०९/१८ को नागरिक दैनिकबाट साभार: https://nagariknews.nagariknetwork.com/arts/423741-1609574557.html?click_from=category)

घनश्यामको छोरो

जबर्जस्ती नंग्याएपछि निर्दोष बालाई
बीच सडकमा अनायास
फुकाल्न लाएपछि उनको कमिज
आफ्नै आँखाअघि
घनश्यामको छोरोले देख्यो
बाको आँखाबाट बगेको
यो देशको आँसु
र चाल पायो
यो राज्यले पहिल्यै फुकालिसकेछ
‘लोकतन्त्र’को पोसाक।

शड्ढयामा छटपटिरहेकी छिन् आमा
मानौँ छटपटिइरहेको छ देश
उनलाई बचाउन खोज्दै हिँड्दा
एक पोका रगत
घनश्यामको छोरोले
बल्ल थाहा पायो
आफ्नै सरकारले निचोर्दो रैछ
यस्तरी निर्दोष नागरिकको रगत
र त अभाव हुँदो रैछ
अस्पतालहरूमा।

पूरा गर्न त्यही अभाव
भौँतारिरहेका छन् बाउछोरा
चिसो समाजको
यो चिसो सडकमा
बल्लबल्ल हात परेको
आइस बक्सजस्तै
चिसो यो समयमा पनि
खाको छैन हरेस घनश्यामले
जसरी पनि बचाउनु छ उसलाई
देशजस्तै प्यारो आफ्नो परिवार।

यतिबेला
घनश्यामको कलिलो छोराले
चिन्दैछ देश
चिन्दैछ सरकार।


(२०७७/०९/१८ को नागरिक दैनिकबाट साभार: https://nagariknews.nagariknetwork.com/arts/423741-1609574557.html?click_from=category)