जबर्जस्ती नंग्याएपछि निर्दोष बालाई
बीच सडकमा अनायास
फुकाल्न लाएपछि उनको कमिज
आफ्नै आँखाअघि
घनश्यामको छोरोले देख्यो
बाको आँखाबाट बगेको
यो देशको आँसु
र चाल पायो
यो राज्यले पहिल्यै फुकालिसकेछ
‘लोकतन्त्र’को पोसाक।
शड्ढयामा छटपटिरहेकी छिन् आमा
मानौँ छटपटिइरहेको छ देश
उनलाई बचाउन खोज्दै हिँड्दा
एक पोका रगत
घनश्यामको छोरोले
बल्ल थाहा पायो
आफ्नै सरकारले निचोर्दो रैछ
यस्तरी निर्दोष नागरिकको रगत
र त अभाव हुँदो रैछ
अस्पतालहरूमा।
पूरा गर्न त्यही अभाव
भौँतारिरहेका छन् बाउछोरा
चिसो समाजको
यो चिसो सडकमा
बल्लबल्ल हात परेको
आइस बक्सजस्तै
चिसो यो समयमा पनि
खाको छैन हरेस घनश्यामले
जसरी पनि बचाउनु छ उसलाई
देशजस्तै प्यारो आफ्नो परिवार।
यतिबेला
घनश्यामको कलिलो छोराले
चिन्दैछ देश
चिन्दैछ सरकार।
(२०७७/०९/१८ को नागरिक दैनिकबाट साभार: https://nagariknews.nagariknetwork.com/arts/423741-1609574557.html?click_from=category)
Subscribe to:
Post Comments (Atom)
0 comments (Click here to Comment):
Post a Comment