मबाट मलाई बचाउ

म जीवन
म अस्तित्व 
मै पृथ्वी।

फेरि,
म विनास
म ध्वंस 
म विध्वंश ।

म मान्छे !
म मान्छे ?
मबाट मलाई बचाउ ।

कहिले नाममा ...

कहिले नाममा त कहिले दाममा मन अल्झिन्छ
अजिव छ शहर, छलछाममा मन अल्झिन्छ

आधा उमेर मनलाग्दि पाप बटुल्छ मान्छे
बाकि मन्दिरमा, चार धाममा मन अल्झिन्छ

हिजोका साथहरू धुवाँ बनी विलाए
आफ्नै छाया साथी, घाममा मन अल्झिन्छ

चिठीको जवाफ कुरेको एक जूनी भएछ
पठाउनै बाकि थुप्रै, खाममा मन अल्झिन्छ

तिम्रो मन मलाई, खै फूलझै छ लाग्दथ्यो
चुम्बक रै'छ खासमा, फलाममा मन अल्झिन्छ

जिन्दगीभर रावण बनी जुँगा मुसारिरहे 
अचेल खै कुन मुखले, 'राम' मा मन अल्झिन्छ