होला नलेखिएको कथा होला
तर छोडिदेउ 
शान्त पानीमुनीको रातो कपटको कथा नलेख,
यो दहमा सद्भाव खल्बलिन सक्छ
भैगो, स्वाभिमान रेटिएको कथा नलेख ।

लेख्नुछ भने, मात्र तीन शब्द लेख
सुन्दर शान्त नेपालदह !
........................................

शताब्दीओैदेखि चुपचाप फुलिरहेछ 
गुलाबको बोटमा विभेदको अफिम
आउ, एक सर्को तानेर यो शान्तिको मजा लिउ ।

शताब्दीओैदेखि चुपचाप हुर्किरहेछ
पानीभित्र एकात्मक गोही 
गोहीले निल्नुअघि 
आउ अन्तिम सेल्फी लिएर रमाओैं ।

शताब्दीओैदेखि चुपचाप पुजिरहेकै त छौं
त्यहि गोहीको शालिक, श्रीपेज र जुत्ताहरू
आउ त्यहि जुत्तामुनीको धुलो बनेर फेरि निदाउ ।

शताब्दीओैदेखि चुपचाप, चुपचाप रहने आदेश छ
यो खलबल भए सामाजिक सद्भाव भत्किन सक्छ ।

यो महान, सुन्दर, शान्त नेपालदहमा
नहान ढुँगा
नउठाउ तरङ्ग
मुर्दा शान्ति खल्बलिने डर जो छ ।

(असार १६, २०७८ को 'शिलापत्र' बाट साभारः  https://shilapatra.com/detail/61534)