माटोको जादुगर

निर्जीव मरुभूमिमा
आफ्नो प्राण भरेर
आफ्नो नलिहाड रोपेर
माटोको जादुगरले फलायो
बाँसुरीझैँ सुरिलो–गुलियो उखु।

नैतिकताका ताराहरू
एक–एक गरी ढलमा झरेपछि
एकरात मान्छेहरू गिद्ध बने
र ती गिद्धहरूको झुन्ड
चुपचाप छि¥यो उखुबारीमा
अनि माटोको आत्मामा जथाभावी कोतर्दै
चुस्न थाले त्यो जादुगरको नलिहाड।
 
आँखाको डिलबाट चुहिँदा–चुहिँदै
उसको आँसु खोला बन्यो
र मन पतझर।
 
त्यही खोलाको बाढीमा बग्दै–बग्दै
त्यही मनको हुरीमा पछारिँदा–पछारिँदै
आखिर आइपुग्यो ऊ राजधानी
फगत पोख्नलाई मनभरिको बह।
 
बरा !
कसले सुन्ला यो सहरमा बाँसुरीको रोदन ?
 
‘हाकु काले’ले त्यसै भनेको रहेनछ–
‘यो गिद्धै–गिद्धको सहर हो।’

(२०७७/०९/१८ को नागरिक दैनिकबाट साभार: https://nagariknews.nagariknetwork.com/arts/423741-1609574557.html?click_from=category)

0 comments (Click here to Comment):

Post a Comment