हत्केलामा खसेका थोपाहरू
आसु हुन् या यादहरू 
पर्खाइमा निभेका ताराहरू
नक्षत्र हुन् या यादहरू 

आँखाबाहिर जहा तही शुन्यता छ
आँखाभित्र नलेखिएको अध्याय छ
परेलीमा अल्झिएका कथाहरू
कल्पना हुन् या यादहरू 
हत्केलामा खसेका थोपाहरू
आसु हुन् या यादहरू 

भूल भो, मनलाई ढाँटिएन
भूल भो, मनबाट आँटिएन
आफैलाई पिरोल्ने गल्तीहरू
दाग हुन् या यादहरू
हत्केलामा खसेका थोपाहरू
आसु हुन् या यादहरू 

आँखिझ्याल

फेसबुककाे खाेपीबाट
एकनास चियाउदा-चियाउदै
यि आँखा आँखिझ्याल बनिसकेछन् ।

यहाँबाट केवल देखिन्छन्-
रङ्गहरू, मुस्कानहरू
गोरेटोहरू, यात्राहरू
बादलहरू, उडानहरू ।

अरूका रङ्गीन भित्ताहरूले
थिच्दा रै'छन् 
आफ्ना कलिला सपनाहरू,
अरूका उज्याला तस्बिरहरूबिच
अपरिचित लाग्दो रै'छ 
आफ्नै अनुहार पनि।

यो 'अ'सामाजिक सञ्जालको जुगमा
सजिव आँखाभन्दा सुन्दर मानिन्छन्
निर्जीव आँखिझ्यालहरू ।

जिउनुमा लगाव हाेइन तर जिन्दगीकाे माया लाग्छ
भाग्नुछ खै को-को बाट ? अन्त्य खै कसलाई थाहा छ

हर चिजको मोल-मोलाई छ
हर खबर तलाई छ, मलाई छ
परालले बनेको छ दुनिया 
र हर एक हातमा सलाई छ

मुस्कुराउन नसकेनि, बेवशीको माया लाग्छ
जिउनुमा लगाव हाेइन तर जिन्दगीकाे माया लाग्छ

आँखा बन्द छैन, सब देख्छु
जोर कानले म सबथोक सुन्छु
सालिकझै शालिन बन्नुछ
जुगौदेखि नै म चुप छु

समयलाई किन्न नसकेनि, हर घडीको माया लाग्छ
जिउनुमा लगाव हाेइन तर जिन्दगीकाे माया लाग्छ

निभाउनुछ छातीको आगो
टुटाउनुछ आदर्शको धागो
झुठलाई सलाम गर्नुछ
सत्यलाई गाड्नुछ नाँगो

नैतिकतालाई जलाएनी, सम्झी सम्झी माया लाग्छ
जिउनुमा लगाव हाेइन तर जिन्दगीकाे माया लाग्छ

मौन अवधि

मनभित्र चर्को कोलाहल छ
मगजभित्र उग्र अन्तरद्वन्द छ ।

नदेखिने आगो छ
नसुनिने चित्कार छ ।

यो मौन अवधिमा
मौनता बाहेक सबथोक छ ।

आरामले भएन, भएन मलहमले
सम्हाल्छ मन, थप जलनले

न यो आगो, न कुनै राँको
डढायो सब, एक नजरले

जोगाएर सास, बचाउनुछ आश
धड्कीरहन्छ, यत्ति कारणले

अँधेरीले फुक्छ उजेलीको शंख
यहि सिकाइरन्छ, चन्द्र ग्रहणले

एक गल्ती, हजार सजाय

आँखा खुलेपछि चाल पाए
एक गल्ती, हजार सजाय  

सानै पत्थरको चोट थ्यो काफि
पत्थरको पहाडमा निधार जुधाए

चुपचाप निदाउथ्यो अध्यारो शहर
उफ ! उजेलीको गीत गुन्गुनाए

मुश्किलले भएथे स्वतन्त्र हिजो
किन कैदमा आज फर्कि आए ?

साभार: https://sahityapost.com/kabyapost/kabya-post-ghazal/72432/ (२०७९-०२-०५)

पिर

टाउकोलाई आफ्नै 'पिर' छ
खुट्टाको मतलब छैन उसलाई ।

यि खुट्टाहरू हुन्
जो आफै-आफै लडिबस्छन् ।

युगौ भयो
मूर्ख खुट्टाहरूले 
अझै टाउको बोक्न छाडेका छैनन् ।