राम्रोसँग खोज्ने हो भने
जे पनि भेटीन्छ
मेरा बा'को झोलामा ।
त्यहाँ भेटीन सक्छ-
उनले मानेका देउताका फोटोहरु,
या दाह्रीवाल पुराना नेताका फोटोहरु ।
त्यहाँ भेटीन सक्छ-
उनको जवानीका रहरलाग्दा दिनहरू
जून दिनहरु, तिनै दाह्रीवालका भक्तिमा बिते ।
या भेटीन सक्छ-
झोलाको आदर्श बचाउन गरेका झगडाका अवशेषहरु ।
झोला भिरेरै हिडे मेरा बा जिवनभर,
निस्वार्थै हिडे,
कहिले अध्यारो सुरूङहरूमा
कहिले चुडिएका तुईनहरूमा
कहिले आफ्नै भत्कीएको घरको आँगनमा
कहिले दुत्कारिएका चुनावी सभाहरूमा ।
उनले झोला भिरिरहे
या भनौ
झोलाले उनलाई भिरिरह्यो, बेरिरह्यो ।
मेरा बा'ले शेषपछिका लागि
मेरा खातिर साचेका छन्
त्यहि फाँटेको झोला ।
यो देखेर-
झोलाको कारखानामा बस्नेहरु
थप झोला उत्पादन गर्दै छन्,
थप झोले उत्पादन गदै छन् ।

