जिन्दगी - १

केही छटपटी छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यही छटपटी नै हाे जिन्दगी

म भीडमा मुस्कुराउछु, फिका भीडजस्ताे
जब एक्लै मुस्कुराउछु, लाग्छ जीवनजस्ताे
मनमा जलन छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यहि जलन नै हाे जिन्दगी

म जब निदाउदैन, लाग्छ सपनाजस्ताे
जब निदाउछु म, लाग्छ ननिदाएजस्ताे
पराइजस्ताे सपना छ वर्षाैदेखि
र साथ जिन्दगी छ वर्षाैदेखि
सायद यहि सपना नै हाे जिन्दगी

Stand up comedy by Bishad



Watch Full playlist

ईट्टामानव

SOURCE: http://www.blogbishad.blogspot.com
ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।

मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौ वर्षदेखि
चुपचाप रगत बगाईरहेका
लाखौ ईट्टामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता ईट्टाहरु
तर ऊ ईट्टामानव
आफैले बोक्ने ईट्टाको
रातो रङसँग
बेखबर छ ।

नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाईन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बाँस छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बाँस दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता ईट्टाले बनेका मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता ईट्टाले बनेका मस्जिदहरुमा
तर आफैले बोक्ने ईट्टाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।
(२४-०६-०६६)


(Click here for English translation version by Pratima Pathak)

दसै

बेकारमा फुरुङ्ग छन् नानीहरु  
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही नमीठा धुनहरु 
र दात नमिलेको अनुहारमा 
फेरि टुक्रुक्क बस्छ उदासी । 

दसैमा सरकार चङ्गा उडाउछ 
सिंहदरबारको छतमा उक्लेर 
र लट्टाइ बनाउछ 
गरीबको घाटी 
दसैमा बडाहरु सुटकेसमा जमरा रोप्छन् 
र दिनदिनै सिञ्चन्छन् सानाहरुको आसुले 
दसैमा मुछिन्छ अक्षता र दही 
अनी हासेकाहरुको निधार अझ चम्काइन्छ 
रोएकाहरुको मुख अझ टालिन्छ । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँगै आउछन् केही बुढा उखानहरु 
र बढ्छ दशाको क्षेत्रफल पनि । 

ठूला घरहरुका लागी 
दसैबारे फेरि लेखिन्छ गर्वित निबन्ध 
फेरि कोरिन्छ नया कविता 
फेरि छापिन्छ प्रमूख समाचार 
कवि हुन् या पत्रकार 
या बडे चिन्तकहरु 
गाउछन् दसैको गीत 
भट्याउछन् दसैको जिङ्गल । 

उता कुनातिर, झुपडितिर 
दसै आउछ (?) र नमीठो मजाक गर्छ 
साथमा केही उपहार पनि बाड्छ 
– नया कलम, मसी रित्तिएको 
– नया कापी, पाना सिद्धिएको 
– नया औषधी, मिति गुज्रिएको । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही गोप्य भाकलहरु 
र चढाइन्छ बली कलीला सपनाहरुको । 

तर पनि दसै आफैमा महान नै छ 
दसै नै उत्कृष्ट मानक हो यो देशको 
किनकी दसैमा ठ्याक्कै छुटिन्छन् 
ठूलाहरु र सानाहरु 
बली चढाउनेहरु र बली चढ्नेहरु । 
(असोज ८, २०७१)