बेकारमा फुरुङ्ग छन् नानीहरु
उनीहरुलाइ के थाहा ?
दसै कहिल्यै एक्लै आउदैन
दसैसँग आउछन् केही नमीठा धुनहरु
र दात नमिलेको अनुहारमा
फेरि टुक्रुक्क बस्छ उदासी ।
दसैमा सरकार चङ्गा उडाउछ
सिंहदरबारको छतमा उक्लेर
र लट्टाइ बनाउछ
गरीबको घाटी
दसैमा बडाहरु सुटकेसमा जमरा रोप्छन्
र दिनदिनै सिञ्चन्छन् सानाहरुको आसुले
दसैमा मुछिन्छ अक्षता र दही
अनी हासेकाहरुको निधार अझ चम्काइन्छ
रोएकाहरुको मुख अझ टालिन्छ ।
बेकारमा फुरुङ्ग छन् नानीहरु
उनीहरुलाइ के थाहा ?
दसै कहिल्यै एक्लै आउदैन
दसैसँगै आउछन् केही बुढा उखानहरु
र बढ्छ दशाको क्षेत्रफल पनि ।
ठूला घरहरुका लागी
दसैबारे फेरि लेखिन्छ गर्वित निबन्ध
फेरि कोरिन्छ नया कविता
फेरि छापिन्छ प्रमूख समाचार
कवि हुन् या पत्रकार
या बडे चिन्तकहरु
गाउछन् दसैको गीत
भट्याउछन् दसैको जिङ्गल ।
उता कुनातिर, झुपडितिर
दसै आउछ (?) र नमीठो मजाक गर्छ
साथमा केही उपहार पनि बाड्छ
– नया कलम, मसी रित्तिएको
– नया कापी, पाना सिद्धिएको
– नया औषधी, मिति गुज्रिएको ।
बेकारमा फुरुङ्ग छन् नानीहरु
उनीहरुलाइ के थाहा ?
दसै कहिल्यै एक्लै आउदैन
दसैसँग आउछन् केही गोप्य भाकलहरु
र चढाइन्छ बली
कलीला सपनाहरुको ।
तर पनि दसै आफैमा महान नै छ
दसै नै उत्कृष्ट मानक हो यो देशको
किनकी दसैमा ठ्याक्कै छुटिन्छन्
ठूलाहरु र सानाहरु
बली चढाउनेहरु र बली चढ्नेहरु ।
(असोज ८, २०७१)
Subscribe to:
Post Comments (Atom)
0 comments (Click here to Comment):
Post a Comment