तिमीले दिएको यो नीलो बलपेन
जो सधै मेरो देब्रे छातीमा टाँसिइरहेछ
मेरो लागी यो तिमी नै हौ
त्यसैले त मुटुको यति नजिक राखेको छु ।
कसैले माग्दा
मैले चुपचाप नकारे
मानौ मबाट तिमी मागिएकी हौ ।
कुनै परीक्षाको कागजमा समेत लेखेन मैले
यो मूल्यवान मसीले
मानौ कसैले जाँच्न लग्नेछ मेरो माया
जुन कुनै प्रेमको किताबमा भेटिने छैन ।
धड्कन पिन बिस्तारै धड्कीन्छ मेरो
मानौ तिमी निदाएकी छ्यौ
यो बलपेन बनेर छातीमा
र ब्युझन सक्छ्यौ यो धड्कनको कोलाहलले ।
तिमीले दिएको यो नीलो बलपेनले
कोरे त केवल
मखमली सपनाको एउटा 'रफ स्केच'
मुलायम मायाको केही शब्दचित्र
र तिमीलाइ पुर्याउन नसकेको
एकथान प्रेमपत्र ।
आज तिम्रो विवाहको कार्डमाथी
कोर्दाकोर्दै यो कविता
टुटेको छ बलपेन
बाङ्गीएको छ यसको रिफिल
र चुहिएको छ केही थोपा नीलो मसी
मेरो आसु जस्तै गरी ।
टुटेपनि
म टाँसि नै रहनेछु
तिमीले दिएको यो नीलो बलपेन
यो सेतो सर्टको देब्रे गोजीमा
तिमी जता गएपनि
सधैभरी रहनेछ्यौ मसँगै
छातीमा नीलो दाग बनेर ।
साभार: नागरिक, शुक्रबार (२०७०, चैत्र)
Subscribe to:
Post Comments (Atom)
0 comments (Click here to Comment):
Post a Comment