म किन यतिबिघ्न डराएको हँ ?
कुनै युद्धमा त जादै छैन
जाबो परीक्षा न हो ।

मानौ मेरो निधारमा टाँसेर
लामो आयुका अक्षताहरु
मेरी आमाले पठाएकी छिन्
कुनै जोखिम सुनखानीमा
र सोच्दै छिन्
'छोरा फर्कला
र यो घरको धुरी जोगाउला ।'

मानौ मेरो पिठ थप्थपाएर
मेरो बुवाले जुँगा मुसारेका छन्
र छिमेकी काकालाई सुनाउदै छन्
'मेरो छोरो पो छोरो
तेरो के छोरो ?'

कुनै युद्धभित्रको सुक्ष्म युद्ध
चलिरहेछ मेरो मस्तिष्कमा यतिखेर
र मेरा पाइला डराउदै नापिरहेछन्
एउटा अँध्यारो सुरुङको लम्बाइ ।

साँझ फर्कदा
मैले मेरी आमाको गरिबी हटाउनुछ
मेरो बुवाको इज्जत बढाउनुछ
बस्
यति न हो
यो परीक्षाको जीवन-चक्र ।(२०७०, पुस २५ मा नागरिक 'शुक्रबार' मा प्रकाशित)

0 comments (Click here to Comment):

Post a Comment