नजरबन्द

दिनभर घाममा हिडेपछि यि बाटोहरू 
आफ्नै घर फर्किनुपर्छ कि फर्किनु पर्दैन होला
महिनौसम्म ठिङ्ग उभिएपछि यि रूखहरू
छुट्टी लिएर कसैलाई भेट्न पुग्छन् कि पुग्दैनन् होला
यि चराहरू
यि पुतलीहरू
कहाँका नागरिक होलान्
कसको लागी काम गर्छन् होला ।

नदी बग्ने कार्यालय समय के होला
बतास बहन मासिक तलब कति लिन्छ होला
झरी झार्ने पासवर्ड कोसँग छ होला
ताराहरू कसको रिमोर्ट कन्ट्रोलबाट चल्छन् होला।

यसो बुझिल्याउदा !
स्वतन्त्रताको खुशीमा फनफनी नाच्दै 
पृथ्वी कतै निरन्तर बगीरहेछ 
आखिर मान्छे मात्र त रहेछ
आफ्नै नजरबन्दमा ।

0 comments (Click here to Comment):

Post a Comment